Friday 19th April 2024

दशैँमा देश छोड्नेहरुको पिडा


तितोपाटी- महोत्तरी रामगोपालपुरका २० वर्षीय सञ्जय दासलाई दसैँतिहारअघि कतार जान मनै थिएन । तर, भिसा लागिहाल्यो । कम्पनीले टिकट काटेर तुरुन्तै आइहाल्न भन्यो । १७ असोज आइतबार साँझ ६ बजे उनी हतारिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे ।
उनीजस्तै विदेश जान लागेका अरू थुप्रैका घाँटीमा खादा, माला अनि निधारमा रातो टीका देखिन्थ्यो । उनीहरूलाई छोड्न आफन्तहरू पनि सँगै त्रिभुवन विमानस्थलमा आएका थिए ।
तर, सञ्जयको निधारमा कुनै टीका थिएन । घाँटीमा खादा वा माला पनि थिएन । उनलाई बिदाइ गर्नचाहिँ गाउँका दाइ सन्तोष आएका थिए । पीसीआर रिपोर्टमा छाप लगाउन लाइन बसेका सञ्जयले भने, ‘हामी दसैँभन्दा पनि तिहारमा खुब रमाइलो गर्थ्यौं । परिवारका सबै एक ठाउँ भइन्थ्यो । साथीभाइहरूसँग फिल्म हेर्न गइन्थ्यो ।’ सञ्जयले अबका केही तिहार विगतको सम्झनामै गुजार्नेछन् ।
सञ्जय दास (बायाँ) ।
यसरी चाडबाडको मुखैमा विदेशिनु उनको रहर पक्कै होइन । दाइ, दुई बहिनी, आमा र बुबा गरी ६ जनाको परिवार छ उनकाे । बुबाआमा दुवै दमका रोगी छन् । उनीहरूका हातगोडा कमजोर भएका छन् । आँखा धमिलिएका छन् । कान पनि कम सुन्छन् ।
दाजु काठमाडौंमा ज्यालादारी गर्छन् । तर, उनको कमाइले मात्र घर चलाउन मुस्किल छ । सञ्जय भन्छन्, ‘लाउन, खान त बनिबुतो गरेर भए पनि टारिएला । तर, दुई छोरीको बिहे गर्न सकिँदैन कि भन्ने चिन्ता आमाबुबालाई छ । म पनि मेरा बहिनीहरूले दुःख पाएको देख्न सक्दिनँ । त्यसैले ११ को पढाइ छोडेँ अनि यी… कतार हिँडे ।’
सुरुकै प्रयासमा भिसा लाग्दा मिलेको खुसी उनले मनाउन पाएनन्, जब दसैँअघि नै देश छोड्नुपर्ने सन्देश म्यानपावर कम्पनीले पठायो । भन्छन्, ‘भिसा नलागेको भए म गाउँमै हुन्थेँ, दसैँतिहार मनाउन पाउँथेँ । तर, मसँग दुःख पनि हुन्थ्यो, मेरा आमाबुबाको थाप्लोमा ऋण बढेको बढ्यै हुन्थ्यो । बहिनीहरूको बिजोग हुन्थ्यो’, सञ्जय भन्छन् ।

कतारमा गर्नुपर्ने कामलाई लिएर भने उनी प्रस्ट छैनन् । पासपोर्टमा लेबर भिसा लागेको तर दोहा पुगेपछि जेसीबी अपरेटरको काम मिलाइदिने आश्वासन म्यानपावरले दिएको उनले सुनाए । ‘अब जे पर्छ, हेरौँला’, उनले दृढता व्यक्त गरे ।
पीसीआर रिपोर्टमा छाप हानेपछि उनी टिकट जाँचतिर लम्किए । पछिपछि सन्तोष पनि गए । त्यहाँ लाइन थियो । दाजुभाइले एक सेल्फी लिए, हात मिलाए अनि अंकमाल गरेर छुट्टिए ।
केही अघिसम्म हाँसीखुसी बोलिरहेका सञ्जय एकाएक भावुक बने । आँखाभरि आँसु पार्दै दाइ फर्केको हेरिरहे । ‘भाइ छिटो गर, कहाँ बीचमा उभेको ?’, टिकट जाँचमा रहेका सुरक्षाकर्मीलाई सुनेपछि हतारहतार सञ्जयले हातको मास्कले आँसु पुछे । फेरि त्यो मास्क मुखमा लगाए अनि लगेज तान्दै भित्र छिरे ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४, नवलपुरका आरुज तामाङ दसैँकाे मुखमा खिन्न मन लिएर दुबई उड्दै थिए । आबुधाबी कम्पनीमा क्यान्टिन हेल्पर बनेर काम गर्न हिँडेको बताउने उनलाई छोड्न आमा, बहिनी र साथीहरू एयरपोर्टसम्म पुगेका थिए । ‘दसैँको बेला परिवार छोडेर जान मन त कहाँ थियो र ? तर, यहाँ बसेर पनि त काम पाइएन । महिनाकाे १६ सय दिराम (नेपालको करिब ५० हजार रुपैयाँ) कमाउन विदेशिँदै छु’, उनले भने । काठमाडौंमा स्नातक अध्ययनरत आफ्ना केही साथी पनि दुबई जान भिसा पर्खिरहेको उनले बताए ।
विदेश जानेहरूको भिडभाडमा धक्का खाँदै उनी टिकट जाँचतिर अघि बढे । यता, आमा, बहिनी र साथीहरूले भावकु बनेर बिदाइको हात हल्लाए ।
पुर्पुरोमा हात राखेर अन्दाजी ३५ वर्षीय पुरुष लगेजमाथि टुसुक्क बसेका थिए । विमानस्थल प्रस्थान ब्लकको पिलरमा ढेसिएका उनको दाहिने खुट्टामा समातेर उभिएकी ५ वर्षीया छोरी बुबाको अनुहारमा ट्वाल्ल परेर हेरिरहेकी थिइन् । रातो कुर्ता सलवार लगाएर छेउमै बसेकी उनकी श्रीमती आँखाभरि आँसु पारेर एकोहोरिएकी थिइन् । यी पतिपत्नीबीच एउटा अनौठो शून्यता थियो । उनीहरू आपसमा कुरा गर्न सकिरहेका थिएनन् । लामो मौनतापछि ती पुरुषले छोरीलाई उठाउँछन्, गालामा माया गर्छन् र काँधमा राख्छन् । अनि श्रीमतीलाई सोध्छन्, ‘पानी खान्छ्यौ ?’ श्रीमतीले मुख छोपिने गरी ओढेको सल हल्का उठाएर आँसु पुस्छिन् र जवाफ फर्काउँछिन्, ‘भैगो ।’ उनी आफ्नो सानो ब्यागबाट दुइटा ट्याब्लेट निकालेर दिँदै भन्छिन्, ‘बसमा आउँदा त उल्टी गर्नु’भो, पिलेनमा पनि त्यस्तै होला, चढ्नेबित्तिकै यो खानू ।’ उनले एन्टिमेटिक ट्याब्लेट श्रीममान्‌काे हातमा थमाइदिइन् ।
‘तपाईं कुन देश जान लाग्नुभएको ?’
प्रश्न सुनेपछि उनी सम्हालिए, ‘कतार ।’
संवाददाताको घाँटीमा मिडिया परिचयपत्र देखेपछि उनले आफ्नो नाम नखुलाइदिन र फोटो नखिच्न आग्रह गरे । भने, ‘अरूलाई दुःख देखाएर के हुन्छ ? तपाईंहरूले लेखेर के हुन्छ ? सरकारले सुनेर के हुन्छ ?’
कञ्चनपुर भीमदत्तनगरका उनी टिकट जाँचतिर अघि बढ्छन् । त्यो देखेर श्रीमती रुन थाल्छिन् अनि आमालाई देखेर छोरी रुन थाल्छिन् ।
दसैँमा टीका लाउने दिन आउनुभन्दा साता दिनअघि नै निधारमा रातो अक्षता अनि घाँटीमा माला लगाएकाहरू थुप्रै देखिन्थे त्यहाँ ।

सर्लाही बरहथवा नगरपालिका– ५ का श्यामबाबु दासले पोहोर साल दसैँ मान्न कुवेतस्थित कम्पनीबाट बिदा लिए । कोरोना महामारीले देश लपेटिएकाले उनले सोचेजस्तो भएन । उनी दसैँतिहार सकिएपछि मात्र नेपाल आइपुगे । कोरोनाको दोस्रो लहर सुरु भएकाले कम्पनीले उनलाई बोलाएन ।

अब दसैँतिहार मनाइसकेपछि पनि कम्पनीले नबोलाए अर्को कम्पनीमा प्रयास गर्ने योजना उनले बनाएका थिए । तर, ठ्याक्कै दसैँभन्दा १० दिनअगाडि कम्पनीले तुरुन्तै आउन खबर पठायो । ‘अभागी रहेछु, पोहोर पनि परिवारसँग बसेर दसैँ मान्न पाइएन । यसपालि जब काठमाडौं बस्ने साथीहरू गाउँ फर्किन थाले, गाउँमा रमाइलो हुन थाल्यो, तब कम्पनीले बोलाइदियो’, उनले दुःख पोखे ।

नुवाकोट मदनफेदीका रोमराज पाण्डे आफ्ना छोराछोरीले पनि चाडबाडको मुखमा यसरी विदेशिनु नपरोस् भनेर आफूले देश छोडेको बताउँछन् । घरमा उनका श्रीमती, छोराछोरी छन् । रोमराज विदेश बसेर काम गर्न थालेको १४ वर्ष भयो । ‘हप्ता दिनअघि रेडियोमा दसैँको धुन सुनेपछि छोरा भन्दै थियो, ‘बाबा, यसपालि तपाईंले मलाई टीका लगाएर पैसा दिनुहुन्छ होइन ? सुस्मे (बहिनी) र मलाई पिङ खेल्न लैजानुहुन्छ होइन ?’, उनी भक्कानिए । मेरो छोराले भविष्यमा उसको छोराको इच्छामा मजस्तो निरीह हुन नपरोस् । मेरी कलिली छोरीले उसकी आमाको जस्तो नियति भोग्नु नपरोस् भनेर म यो दुःखलाई साथीजस्तै ठानेर हिँडेको छु ।’

‘आमा त मिल्छ भने नजा भन्नुहुँदै थियो’, कुवेत जाने प्लेन चढ्न हिँडेका शेषकुमार श्रेष्ठले भने, ‘कम्पनीले यही बेला बोलाइदियो । नगएर पनि घर कसरी चलाउनू ? मनले नमान्दा नमान्दै लागियो अब ।’ उनको समूहमा कुवेत नै हिँडेका अरू तीन जना पनि थिए । ती सबै भन्दै थिए, ‘नेताहरू इमानदार भइदिएको भए, कर्मचारीले सबै ठीकठाक गरिदिएको भए, सरकारले राम्रो काम गरिदिएको भए, यहीँ काम गर्न पाइन्थ्यो । दसैँमा हामीले आफ्नो देश छोड्नै पर्दैनथ्यो ।’

कतिपय युवाचाहिँ शनिबार फ्लाइट छ भन्दै अगाडि नै विमानस्थलमा केके प्रक्रिया पूरा गर्नुपर्छ भनेर बुझ्न आएका थिए ।

गाउँलाई दसैँले छोपेको छ । कोदो फुल्दै छ । धान झुल्दै छ । पारिलो घाम र घरीघरी आउने चिसो सिरेटोले दसैँकाे माहाैललाई झन् रमाइलो बनाइरहेको छ । पढ्ने, काम गर्ने सिलसिलामा विदेशिएका, शहर पसेका युवायुवती गाउँ फर्किन थालेका छन् । तर, पर्वत फलेवास थापाठाना-३ की पुनम क्षत्रीको मनमा पोहोरजस्तो उल्लास छैन । दसैँको छेकोमै भाइ सागरको भिसा झर्‍याे । अघिल्लो साता उनका भाइ सागर कतार उडेका छन् । ‘दसैँचाहिँ मनाएर जाने कुरा थियो । भिसा आइहाल्यो’, पुनमले सुनाइन्, ‘भाइ नहुँदा हाम्राे घरमा दसैँ र तिहार नै खल्लो हुने भयाे ।’ उनका अनुसार सागर नेपालमै सेना वा प्रहरीकाे जागिर खान चाहन्थे । ‘तर, यसमा पनि साेर्सफाेर्स चाहिन्छ । यता समय बर्बाद गर्नुभन्दा विदेश गइयाे भने अलिअलि कमाइ हुन्छ भनेर हिँड्याे’, उनले भनिन्, ‘चाडकाे बेला परिवारमा सन्नाटा छायाे ।’
उनीहरू त प्रतिनिधि पात्र मात्र हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दसैँको मुखमा देश छोड्नेहरूको लस्कर सानोतिनो छैन ।
असोज लागेयता कामका लागि विदेशिनेको संख्या चार हजार नाघिसकेकाे वैदेशिक राेजगार बाेर्ड सचिवालयकाे तथ्याङ्कले देखाउँछ । यसरी विदेशिनेमा पुरुष ३ हजारभन्दा बढी छन् भने झण्डै एक हजार महिला छन् । १६ सय बढी नेपाली कतार गएका छन् । दुबई, साउदी, ओमान, बहराइन, जापान, साइप्रस, कुवेत, मलेसिया, रोमानिया, माल्दिभ्स, क्रोएसियालगायतका देश जाने नेपालीकाे घुइँचाे विमानस्थलमा देख्न सकिन्छ । अघिल्लाे वर्ष काेराेनाका कारण यस्ताे संख्या कम थियाे । त्यसअघिका वर्षहरूमा त दैनिक हजारभन्दा बढी युवा दसैँकाे मुखमा विदेशिने गरेका वैदेशिक राेजगार विभागका अधिकारी बताउँछन् ।

समाजशास्त्री दीपेश घिमिरेका अनुसार हाम्रो अस्थायी बसाइँसराइँकाे इतिहास हेर्दा पनि कुनै नौजवान कामका लागि देशभित्रै र बाहिर जाने तर दसैँको अवसरमा केही लुगाफाटो, खानेकुरा अनि पैसा बोकेर आफ्नै घर फर्किने गरेको देखिन्छ । दसैँ र तिहार बहुसंख्यक नेपालीहरूको महान् चाड हो । आफन्तहरू जमघट हुनु, ठूलाले सानालाई टीका लगाएर आशीर्वाद दिनु, मीठोमसिनो खाँदै रमाइलो गर्नु यो पर्वको खास विशेषता हो । यसपछि आउने तिहार गाउँटोलमा देउसीभैलो खेल्ने, नाचगान गर्ने, दाजुभाइले दिदीबहिनीको हातबाट सप्रेम टीका लगाउने अर्को उल्लासको पर्व हो । तर, यिनै महत्त्वपूर्ण पर्वको मुखैमा दैनिक सयौँ युवा कामको खोजीमा विदेशिइरहेका छन् ।
पेसा, व्यवसाय गर्दै काठमाडाैंसहितका विभिन्न शहरमा बस्नेहरू दसैँका लागि गाउँ फर्किन थालेका छन् । विदेशमा हुनेहरू पनि छुट्टी मिलाएर दसैँ मनाउन काठमाडाैं ओर्लिइरहेका छन् । तर, चाडबाडको मुखमा भर्खरै विवाह गरेका युवकदेखि मसिना केटाकेटीका बुबाआमासम्म विदेशिइरहेकाे टिठलाग्दाे दृश्य विमानस्थलमा देख्न सकिन्छ । विदेशिनेकाे लर्काेमाझ विमानस्थलमा कतिपयका आफन्तबीच रुवाबासी नै हुने गरेको छ । सीमातिर दसैँ भुलेर भारत छिर्नेहरू पनि थुप्रै हुन्छन् ।

समाजशास्त्री घिमिरे यसलाई दुई तरिकाले अर्थ्याउँछन् । पहिलाे, यसले नेपाली समाजमा आएको सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरणको संकेत गर्छ । नागरिकको अवस्था, चेतना तथा बुझाइमा आएको परिवर्तनलाई देखाउँछ । यो एउटा सामाजिक परिवर्तनको द्योतक हो । ‘अब समाजमा रहेका सम्बन्धहरूमा परिवर्तन आएको छ । यस्तो परिवर्तनबाट के बुझ्न सकिन्छ भने, आशीर्वादले आफ्नो समृद्धि सम्भव छ वा भाग्य निर्माण गर्छ भन्नेमा युवापुस्ता विश्वस्त छैन । बरू केही अवसर पाइहाल्यो भने त्यो अवसर छोप्न चाहन्छ’, उनी भन्छन् ।
दाेस्राे, यसले देशमा राेजगारीका अवसरहरू अत्यन्तै कम भएकाे र सरकारले ल्याएका राेजगारीका कार्यक्रमहरूप्रति युवाकाे विकर्षण बुझाउँछ । देशभित्र रहेर आफ्नो आर्थिक उपार्जन गर्न नसक्ने ठानेर ठूलो संख्यामा युवाहरू कामकाे खाेजीमा देश छाेडिरहेका छन् । चाडबाड मात्र नभएर अरू बेला पनि, हरेक दिन सयाैँकाे संख्यामा युवाहरू बाहिरिनुले आन्तरिक रोजगारीको कुरुप चित्रलाई उजागर गरेकाे समाजशास्त्री घिमिरेकाे तर्क छ । देशमा कलकारखाना उद्योग, धन्दा खुल्नुकाे साटाे बन्द भएका छन् । आर्थिक उपार्जनका लागि केही अवसर नदेखेपछि युवाहरू आफ्ना मनका रहर र चाहनालाई गाँठो पारेर विदेशिरहेका छन् ।

हुन त, वैदेशिक राेजगारीले आर्थिक अवसर, गरिबी निवारण, विप्रेषण र राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पुर्‍याएको छ । तर, यो नेपाली युवाकाे बाध्यता र कष्टपछि मिलेकाे उपलब्धि भएकाे राेजगारविज्ञहरू बताउँछन् ।
राेजगारविज्ञ डा. गणेश गुरुङ भन्छन्, ‘दसैँ आउनुअघि बिरानो देश जाने रहर कसलाई हुन्छ होला र ? तर, अब बाध्यताका बीच पनि नेपालीहरू रमाउन थालेका छन् भनेर बुझ्नुपर्छ ।’
समाजशास्त्रीसमेत रहेका उनी दसैँ मान्ने ताैरतरिकामा थुप्रै परिवर्तहरू देखा परेको बताउँछन् । ‘पहिला भेटघाट गरेर दसैँ मान्नुपर्छ भन्ने थियो । अहिले प्रविधिको युगले सँगै नभएर पनि दसैँ मनाउने सुविधा दिएको छ । प्रविधिको प्रयोग गरेर पनि दसैँ मनाउन थालिएको छ । यद्यपि, यो बाध्यता नै हो, जुन राज्यको कमजोरिका कारण सिर्जित हो,’ उनी भन्छन् ।

यो समचार शिलापत्रमा- नवराज कुँवर र कौशलकाफ्लेले लेखेकाछन।


सम्बन्धित शीर्षकहरु

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।…

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

प्रतिकृयाहरू
...