Friday 23rd January 2026

“पर्यटन” शीर्षकमा सिर्जना गरिएका केही टुक्का कविताहरू


नियमित अभ्यास अन्तर्गत २०७८ असाेज ११ गते “विश्व पर्यटन दिवस” काे अवसरमा सिर्जना गरिएका केही टुक्का कविताहरू यहाँ प्रस्तुत गरिएको छ । पाठकवर्गले पढिसकेपछि प्रतिकृया पनि दिनुहोला ।

१.
पर्यटकहरू भित्र्याई देखाऊँ सेरोफेरो,
स्वर्ग जस्तो रमणीय छ देश नेपाल मेरो।
२.
पर्यटन कै सम्भावना छ हुँदैन चुप बसी,
देश विकास गर्ने भए लागौं कम्मर कसी।
✍️पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

१.
भनिन्छ पर्यटन ठुलो उद्योग हो देश विकासको आधार,
विश्वसामु चिनाउँछ हाम्रा धरोहर रीतिरिवाज संस्कार ।
२.
प्राकृतिक सम्पदा एवं संस्कृतिको धनी हाम्रो देश नेपाल,
पर्यटन प्रवर्द्धनद्वारा नै फड्को मारी देखाउँछ कमाल ।
३.
विस्तार गरौँ वाह्य अनि आन्तरिक पर्यटन सजग बनी,
आनीबानी पारौँ अतिथिमैत्री चिनाऔँ नेपाली असल भनी।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४ दाङ

१.
भनिन्छ नि “अतिथिदेवो भव”,
राष्ट्रको एक राम्रो अवयव।
२.
स्वदेशी होस् विदेशी रमाउँछन्
प्रकृतिप्रेमी अवश्य धाउँछन्।
३.
सानो देश सुन्दरताको खानी,
विश्वसामु हामी छौँ भाग्यमानी।
✍️ म्यामराज राई,भोजपुर,हाल:-प्रवासी

१.
हिम्मत गरि कुनै काम सकिएन गर्न
कहिले त मन लाग्छ स्वर्ग बसाइँ सर्न ।
२.
न आउँछ हातमा काम न आउँछ जोस
मर्न पाए एकथोक हुन्थ्यो जे सुकै होस ।
✍️ललिता अभागी, सिन्धुली

१.
देश विकासमा पर्यटनले पुर्याउँछ नै टेवा,
पाउनु पर्छ पर्यटकले पनि समुचित सेवा।
२‍.
घर-गाउँको वातावरण व्यवहार शुद्ध पार्नु,
देशको गौरव र सान-मान बोकेर अघि सार्नु।
३.
पर्यटक हुन् हाम्रा पाहुना मुद्रा बोकेर आउने,
ऐतिहासिक कला र संस्कृति हेर्न भनी धाउने।
✍️ अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग।

१.
लालीगुराँस डाँफेमुनाल देश भन्छन् मेरै,
नेपालमा पर्याटनको संभावना छ धेरै।
२.
धर्म कला र संस्कृति धेरै जैविक सकौँ चिन्न,
पर्यटकलाई आनन्द हाम्रो देशमा विभिन्न।
३.
प्रकृतिको धनी देश पर्यटक बोलाउने,
भ्रमण वर्ष नचलेकाले त्यसै टोलाउने।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी

१.
लेकमा फुल्छ गुराँस चिमाल बन चर्छ चौरी गाई,
पर्यटन राम्रो श्रोत हो देशको मुहार फेर्नलाई।
२.
नगरौँ ढीला स्वागत गर्न आगन्तुक पाहुनालाई,
संस्कृति देखाऊँ सत्कार गरौँ दिदीबैनी दाजुभाइ।
३.
पाहाड हिमाल नदी र तालको सौन्दर्य हेर्नलाई,
आउने पाहुना खुशी हुने सधैँ नेपाली माया पाई।
४.
संस्कृति संस्कार सौन्दर्य कला देखाऊँ हाम्रो देश,
पर्यटकलाई चिनाऊ हाम्रो सम्पदा भाषा भेष।
५.
पर्यटकहरू रमाउँदै घुम्छन् नेपाल आएर,
स्वागत र सत्कार नेपालीमनको माया यो पाएर।
✍️नवशिला
बेलबारी -२ , लालभित्ती, मोरङ
हाल: गोदावरी, ललितपुर

१.
यी अग्ला हिमशिखर हेरेर जो कोही टोलाउँछन्
डाँफे मुनाल चरीले पर्यटकलाई बोलाउँछन् ।
२.
पर्यटकको आगमनले आम्दानीको बाटो बन्नेछ
साथीभाइहरू घुम्न जाऊँ सुन्दर नेपाल भन्नेछ ।
३.
पर्यटकको जीउ धनको सुरक्षा गर
मिठो बोल पाहुनाको प्रेमले मन भर ।
✍️रिजाल विनोद, मोरङ

१.
हाम्रो हिमाल हाम्रो पहाड सम्ममैदान भीर ,
दुनियाँलाई लाेभ्याउँने सगरमाथा शिर ।
२.
लेक र बेसी तराई पहाड बनावटमा छ भिन्नै ,
मुस्किल पर्ने पर्यटकलाई अाकार प्रकार चिन्नै ।
३.
धराेहर प्रकृतिको मनाेरम छ वातावरण ,
अलाैकिक ठानेर गर्दछन् हिमालकाे अाराेहण।
✍️रामकृष्ण दुवाडी, पाेखरा ।

१.
प्रकृतिले हराभरा सुन्दर हिमाल
स्वर्ग जस्तै रमणीय छ हाम्राे नेपाल ।
२.
मनै हर्ने प्रकृतिकाे उपहार कति राम्राे,
पर्यटनले अार्थिक वृद्धि गराउछ हाम्राे।
३.
पर्यटक ती पाहुना हाम्रा अादर सम्मान गराैं,
बहादुर छाैं इमान्दारीताकाे अब सन्देश छराैं।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेशी

१.
लोभि नजर लगाउछन् संसारले लाख,
पर्यटक बनेर पस्छन् बुझ्न न्यानो काख।
२.
हाम्रो प्राकृतिक सम्पदाको संरक्षण गरौँ,
पर्यटक सम्मानमा पनि बुझ्दै अघि सरौँ।
३.
हिमालका चुचुराले बोलाए झैँ लाग्छ,
टल्किएको शैल छुन लेकबेसी भाग्छ।
✍️ पौडेल विमुन्स, पाेखरा

१.
हाम्रो गौरव मान सबै देखेर लोभि बनी,
आए हेर्न सबै सम्पदा बन्दैछौँ हामी धनी ।
२.
राम्रो आय गर्न पर्यटनको विस्तार गरौँ,
सत्कार गर्ने गरौँ पर्यकट को भर परौँ।
३.
धर्ती स्वर्ग सरि नेपाल राम्रो भनेर विश्वभरि,
राम्रो काम गर्ने अवसर जुट्छ अाशा मन भरी।
✍️ सूर्य मणि रेग्मी, चितवन

कामकै खोजीमा लाखौं युवा पसेका छन् प्रदेशमा,
पर्यटन विकास गरेर युवा रोकौँ स्वदेशमा ।
✍️ इन्दिरा देवकोटा
कपिलवस्तु न .पा .३

::::: जय टुक्का! जय साहित्य!! :::::


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...