Thursday 22nd January 2026

लघुकथा: ‘रगतकाे मूल्य’को समीक्षा -बन्दना घिमिरे


देशकै महत्त्वपूर्ण ओैद्याेगिक क्षेत्रकाे रुपमा रहेकाे प्रदेश नम्बर २काे बारा जिल्ला, निजगढ स्थायी ठेगाना भई हाल ललितपुर, नख्खुमा बसाेबास गर्नुहुने आदरणीय साहित्यकार समीर पाख्रिनले हाम्राे लघुकथा पाठशालामा आज मिति २०७८/५/३१ गते प्रेषित गर्नुभएको लघुकथा “रगतकाे मुल्य” पढेपछि मेराे मनमा आएका भावनाहरुलाई यहाँ पाेख्ने काेशिस गरेकी छु ।

साहित्यकार समीर पाख्रिनकाे एकाङ्की संग्रह “अनुगमन” २०७५ प्रकाशित भईसकेकाे छ भने पुर्णाङ्की नाटक “परिणति”प्रकाशाेन्मुख रहेकाे छ ।
विभिन्न पत्रपत्रिकामा कथा, कविता, मुक्तक, गजल,लेख,समिक्षा, एकाङ्की र पुर्णाङ्की नाटकहरु फुटकर रुपमा प्रकाशित भईरहेकाे मैले पाएकी छु ।बिरगंजबाट प्रकाशित हुने ” प्रतीक” दैनिकमा ” लभ इन बिरगंज ” नाटक साप्ताहिक रुपमा मैले पढदै आएकी छु भने हाम्राे लघुकथा पाठशालामा पनि मे २८,२०२०देखि जोडिनुभई नियमित लघुकथा प्रेषित गरिरहनु भएको छ । उहाँका कथाहरु यथार्थपरक र मौलिक हुन्छन् ।

उहाँले आज प्रेषित गर्नु भएको लघुकथा “रगतको मूल्य” आन्दोलनको बिषयमा लेखिएको कथा हाे । यस कथामा पात्रकोरुपमा हरिशरण लगायत आन्दोलनकारीहरु, बिशेष व्यक्ति, एक बिवाहित महिला र चिकित्सक रहेका छन् भने स्थान काठमाडौंका आन्दोलन गरिने स्थल र वीर अस्पताल रहेको छ ।
उग्रभिँड नियन्त्रण गर्न बिशेष व्यक्तिको लाठी चार्जकाे आदेश पछि धेरैको टाउकोमा प्रहरीको लाठो बर्सियाे र हरिशरणकाे टाउकोमा पनि नराम्ररी दुईपटक । सडकभरि रगतको आहाल भयाे । आन्दोलनकारी युवाहरूले उनलाई वीर अस्पताल पुर्‍याए । बेहाेस अबस्थाका उनलाई आकस्मिक कक्षमा अक्सिजन दिएर राखियो । रगतको आवश्यकता परेकाले चिकित्सकले आफन्त खाेजे । युवाहरूले हेराहेर गरे । आफन्त त के काेहि परिचित समेत थिएनन् । उनीहरू नुवाकोटबाट आन्दोलनमा भाग लिन आएका थिए ।उनका दौतरीहरु लाठीचार्ज र अश्रुग्यासले गर्दा तितरवितर भएर कता पुगे ।
साँझ परिसकेको थियाे । रगतदिन चारै युवाहरु तयार थिएँ । रगत दिइयाे । टाउकाको शल्यक्रिया गर्नुपर्ने भएकोले अस्पताल प्रशासनले आफन्त खाेज्याे । त्यहीं समयमा हरिशरणकाे माेवाईलमा घण्टी बज्याे ।
नजिकै उभिएका डाक्टरले फाेन उठाए र हालखबर सुनाए । केही क्षणमा साईरन बजाउदै प्रहरीको भ्यान आएर अस्पतालकाे गेटमा राेकियाे । एक बिवाहित महिला र विशेष व्यक्ति आकस्मिक कक्षमा प्रवेश गरे। डाक्टरबाट सबै घटना विवरण सुनेपछि ज्वाँईसाबलाई रगत दिएर ज्यान बचाउने व्यक्तिको खाेजी गरे ।डाक्टरले रक्तदातातिर इंगित गरे । महिलाले युवकतिर हात जाेडेर, रगत दिएर श्रीमान् काे ज्यान बचाईदिनु भएकोमा आभार प्रकट गरिन । बिशेष व्यक्तिले युवकहरुतिर नियाल्दै भने “रगतको मूल्य सडकमा हाेईन, अस्पतालमा थाह हुने रहेछ । थ्याङ्क यु भेरी मच ” यसरी कथाकाे अन्त्य भएको छ ।

प्रस्तुत कथामा कथाकारले हाम्राे देशमा आफ्ना मागहरु पूरा गर्न आन्दोलननै गर्नुपर्ने बाध्यता र शान्तिपूर्ण आन्दोलनमा पनि ठुला मान्छेहरुकाे आदेशमा प्रहरीको दमनहुने गरेकाे यथार्थलाई प्रस्ट पार्नुभएकाे छ । आन्दोलनमा जिल्ला जिल्लाबाट मानिसहरुलाई ओसार्ने, लाठीचार्ज र अश्रुग्यास प्रहारबाट घाइते हुँदा आफ्नासाथीहरू छुटेपनि अरुले भएपनि अस्पताल पुर्‍याउने गरेकाे घटनालाई मार्मिक ढंगबाट प्रस्तुत गर्दै नेपालीको मानवीय स्वभावकाे चित्रण गर्नुभएको छ । अर्कोतर्फ बिशेष व्यक्तिको ज्वाँईसाहेब भएकोले खबर पुग्नासाथ घाइतेको श्रीमती र बिशेष व्यक्ति उनै प्रहरीको गाडीमा चढेर अस्पताल पुगेका छन् जसबाट आफ्नोमान्छे ठुलाे ओहाेदामा हुँदा जतासुकै सुबिधा पाईने र सर्वसाधारणको लागि केही नपाईने तर्फ कथाले इंगित गरेकाे छ । कथाकारले आन्दोलनको यथार्थपरक विश्लेषण गर्दै सडकमा भन्दा अस्पतालमा रगतको मूल्य थाह हुने सत्यलाई मार्मिक ढंगले प्रस्तुत गर्नु भएको छ ।
बिशेष व्यक्तिले आफ्नै निर्देशनमा गरिएको लाठीचार्ज र अश्रुग्यास प्रयाेगमा घाइते भएका आफ्नु ज्वाँईलाई बचाउने आन्दोलनकारीहरुलाई “थ्याङ्क यु भेरी मच ” भनेका छन् । मानौं उनी नेपाली नभएर बिदेशी हुन् ।यसबाट हाम्राे देशमा टाउकेहरु पदमा पुगेपछि नेपाली हुँ भन्ने पनि बिर्सन्छन् भन्ने व्यंग्य गर्न सफल हुनुभएको छ कथाकार ।

कथा सरल, सुबाेध्य र मार्मिक छ । नेपालीको नियति प्रस्ट पारेकाे छ । बिषयभाव राम्रो र समापन कारुणिक छ ।

३४५ शब्दमा लेखिएको कथा पढदै जाँदा अत्यन्तै अनावश्यक रुपमा तन्किएकाे महसुस हुन्छ । अनावश्यक रहेका वाक्य र शब्दहरुलाई छाेट्याउदा कथा अति राम्रो हुनेछ भन्ने मलाई लाग्छ ।

अन्त्यमा, साहित्यकार समीर पाख्रिनकाे साहित्यिक यात्रा अनवरत चलिरहाेस् । विभिन्न बिधाका पुस्तकहरु प्रकाशित भईरहुँन । सधैंभरि लेखरचनाहरु पढन पाइयाेस भन्दै उहाँको सुस्वास्थ, दिर्घायु तथा अटल श्रीबृध्दिकाे शुभकामना व्यक्त गर्दछु ।
-बन्दना घिमिरे

लघुकथा : रगतको मूल्य
समीर पाख्रीन

उग्र भीड नियन्त्रण गर्न विशेष व्यक्तिको लाठी चार्जको आदेशपछि धेरैको टाउकोमा लाठी बर्सियो । हरिशरणको टाउकोमा पनि नराम्ररी दुई डण्डा बज्रियो । टाउको फुटेर रगत सडकमा ह्वालह्वाल्ती बग्यो । नजिकैका आन्दोलनकारी युवाहरूले उसलाई हतार हतार बाइकमा बसाएर अस्पताल पुर्याए । रगत निकै गएकोले हरिशरण वेहोश अवस्थामा थियो । आकस्मिक कक्षमा हरिशरणलाई अक्सिजन दिएर राख्ने काम भयो । उपचारको क्रममा चिकित्सकले भने ” रगत दिनु पर्ने भो । बिरामीको आफन्त को हुनुहुन्छ ? ”
युवाहरू परस्पर हेराहेर गरे । उनीहरू हरिशरणका परिचित थिएनन् । उनीहरू नुवाकोटबाट आन्दोलनमा भाग लिन आएका थिए । हरिशरणका दौँतरीहरू लाठी चार्ज र अश्रुग्यासको पिरो धुँवामा तितरवितर भएकाले उनीहरूले थाहा पाएनन् सायद ।
०००
साँझ झमक्क परिसकेको थियो ।
रगत दिन चारै जना युवाहरू तयार भए । भाग्यवश, एक जनाको त ब्लडग्रुप मिल्यो पनि । रगत दिने काम भयो ।
टाउकोको सामान्य शैल्यक्रिया गर्न पर्ने भएकोले अस्पताल प्रशासनले आफन्त खोजीरहेको थियो ।
यत्ति नै बेला हरिशरणको खल्तीको मोबाइलमा घण्टी बज्यो । नजिकै उभिएका डाक्टरले हरिशरणको खल्तीबाट फोन झिक्यो र उठायो ” हेलो ! ”
” हरि तिमी यतिञ्जेलसम्म घर किन नआएको भन त ? ” उताबाट महिलाको सुरिलो स्वर सुनियो । सायद हरिशरणकी पत्नी हुनुपर्छ ।
” क्षमा गर्नु होला, मोबाइल हरिशरणजी कै भए पनि म हरिशरण परिनँ । कुरा के भने ……..” डाक्टरले संक्षेपमा सबै घटना विवरण सुनाए पछि फोन काटियो ।
केहीक्षण मै सायरन बजाउँदै एउटा प्रहरी भ्यान अस्पतालको गेट अगाडि आएर घ्याच्च रोकियो । एकजना विवाहित महिला उहीँ विशेष व्यक्तिसित भ्यानबाट ओर्लि अनि आकस्मिक कक्षमा प्रवेश गरी । ड्युटीमा खटिएका डाक्टर नर्सहरू उनीहरूलाई देख्न साथै सतर्क भए । डाक्टरबाट घटना विवरण सुनेपछि त्यस विशेष व्यक्तिले ज्वाइँसापलाई रगत दिएर ज्यान बचाउने को रहेछ भनी यताउता खोज्दा डाक्टरले रक्तदातातिर इंगित गर्दै भने ” उहाँ, भाइ हुनुहुन्छ रक्तदाता । ”
युवाहरू सबैले टाउकोमा कालो रूमाल बाँधेका थिए । महिलाले युवकतिर हात जोडिन् अनि भनीन् ” रगत दिएर मेरो श्रीमानको ज्यान बचाईदिनु भयो । यो गुण हामी कहिल्यै विर्सने छैनौ । ” विशेष व्यक्तिले युवकहरूतिर राम्ररी नियाले अनि थपे ” रगतको मूल्य सडकमा होइन अस्पतालमा थाहा हुने रहेछ । थैक्यू वेरी मच् । ”
०००


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...