Thursday 25th April 2024

तोयानाथ सुवेदीका हरि परिवर्तनी एकादशी विशेष काव्य


हरिपरिवर्तनी एकादशी
###############
केही सोध्छु गएर कृष्ण सँगमा,एकादशी खासमा।
के हो नाम भनी युधिष्ठिर गए,श्री कृष्णका पासमा।
भाद्रै शुक्ल छ पक्ष यो समयमा,एकादशी के भनी।
जानौँ हे प्रभु कृष्ण आज म यहाँ,दोधार पर्दैछु नि।
(१)
यस्तो प्रश्न सुनेर कृष्ण भगवान्,अत्यन्त खुसी भए।
हे राजा सुन यो बताउछु भनी,श्री कृष्ण भन्दै गए।
शैयामा पहिले सुतेर रहदाँ,श्री विष्णु नारायण।
सारै थाक्नु भएर कोल्टनु भयो,गर्दै त पारायण।
(२)
कोल्टे श्री हरि फर्कँदा तब यहाँ,एकादशी नाम यो।
राखे रे परिवर्तनी त हरिको,यै नाम नै जोडियो।
कोही वामन जन्मदै भुवनमा,आए जयन्ती भयो।
भन्छन् वामन जन्मको गणितले,एकादशी यै भयो।
(३)
शुक्लै पक्ष असारमा प्रभु सुती,ऐले त कोल्टे भए।
राखे नाम दुवै युधिष्ठिर भनी,श्रीकृष्ण भन्दै गए।
ठूला यज्ञ गरेर दान बलिले,गर्दै गएथे अरे।
तीनै लोक र चौधनै भुवनमा,कब्जा जमाए अरे।
(४)
वर्षौँ वर्ष यसै गरेर बलिले,एक्लै गर्‍यो शासन।
सारै दुःख दिएर देव गणमा,गर्थ्यो सदा कासन।
दुःखी भै कन देवता सब लिई,श्री विष्णुका पासमा।
पुग्छन् इन्द्र र भन्दछन् सब कुरा,श्री विष्णुका साथमा।
(५)
मैले विन्ति यही गरेँ प्रभु यहाँ,स्वर्गादिको लोकमा।
भोग्दै हैकम चल्छ दैत्य गणकै,द्यौता भयौँ शोकमा।
झट्टै त्यो बलिबाट राज्य प्रभुले,फिर्ता गरी बक्सियोस्।
हामी माथि दया गरेर प्रभुले,चाँजो मिलाई दिनोस्।
(६)
यस्तो विन्ति सुनी सकेर प्रभुले,भन्दा भएथे जसै।
धन्दा कत्ति नमान इन्द्र अब ता,गर्नेछु फिर्ता कसै।
जान्छौँ लौ त भनेर इन्द्र जब ता,फर्के विदा भै उतै।
झट्टै श्री हरिले त भेष बदली,बन्दा भए वामन।
(७)
धेरै दान म गर्न सक्दछु भनी,भन्थ्यो अरे त्यो बलि।
मैले लिन्छु सबै हरेर अब ता,आँखा सबैका छली।
भन्दै श्री हरि चट्ट वामन भई,पाल्नू भयो यज्ञमा।
देख्यो वामन रूप सुन्दर अहो!भन्दै खुसी भो त्यहाँ।
(८)
माग्छौ के भन आज यज्ञ थलमा,जे जे भए ता पनि।
पक्का दिन्छु अवश्य आज अहिल्यै,धन्दा नलेऊ तिमी।
यस्तो बात सुनेर ब्राह्मण त्यहाँ,भन्दै गएथे जसै।
हे राजा अब माग्छु क्यै जमिन त्यो,दिन्छौ कि पक्का सबै।
(९)
मैले टेक्दछु पाउ तीन जहिले,फड्को लगाई कन।
ढाक्ला जे जति त्यै म माग्दछु यहाँ,सन्तोष पार्दै मन।
यस्ता वामनको कुरा जब सुनी,हाँस्दा भए ती बलि।
राजा सामु छ तुच्छ माग सब यो,गर्दै बस्यौ छौ भुलि।
(१०)
क्यै चाहिन्न अरू मलाइ अहिले,त्यै देउ हे राजन।
बाचा सत्य छ छैन राजन अझै,गर्छौ कि क्यै गन्थन।
शुक्राचार्य भने नदेउन कसै,बाचा तिमीले गरी।
आए ईश्वर आज वामन भई,श्री विष्णु हुन् ती हरि।
(११)
नाप्ने छन् उनले ब्रह्माण्ड सब यो,क्यै हुन्न तिम्रो यहाँ।
लैजान्छन् सब नै हरेर हरिले,भागेर जान्छौ कहाँ।
आज्ञा जो गुरुको न लाग्छ बलिमा,सुन्दै उडाई दिए।
बाचा हार्दिन क्यै गरेर म यहाँ,भन्दै सबैमा कहे।
(१२)
भिक्षा दान तयार भो जब त्यहाँ,आचार्य आई कन।
थाले ब्राह्मणले त वेद रचना,सङ्कल्पले वाचन।
पानी जौ तिल हातमा कुश लिई बस्दा भएथे बलि।
ढाके ईश्वरले विशाल हुन गै,आँखा सबैका छलि।
(१३)
नापे लोक सबै यहाँ जति थिए,मात्रै दुई पाउले।
टेक्ने ठाउँ रहेन खै जमिन नै,भेट्दैन यो पाउले।
आज्ञा यो हरिको सुनेर बलिले,सुम्पन्छु मैले शिर।
धन्दा कत्ति नमान्नु मर्नु छ यसै,लैजान्छु के आखिर।
(१४)
टेक्दै भन्नु भयो छिटो अब तिमी,पातालमा नै खस।
तिम्रो ठाउँ त्यहीँ हुने छ अब ता,ढुक्कै भई त्यैं बस।
यस्तो बात सुनेर भन्छ बलिले,यौटा कुरा माग्दछु।
आशीर्वाद सदा म पाउँ प्रभुको,यै पाउदा लाग्दछु।
(१५)
एक्लै बस्न कदापि दिन्न मयले,राजा उही ठान्दछ।
पाएँ साथ भने सदा हजुरको,यो बात त्यो मान्दछ।
आशीर्वाद लिएर जान्छ बलि त्यो,पातालको लोकमा।
भोग्दै इन्द्र बसे नि स्वर्ग तिर गै ,छैनन् कुनै शोकमा।
(१६)
बाचा गर्छ भने अवश्य सबले,पूरा गरौँ लौ सदा।
बोल्दा सोच विचार गर्नु पहिल्यै,भन्दैछ लौ यो कथा।
बाचा गर्न गएर पूणर् नगरे,त्यो जालसाजी भयो।
यस्तो दुष्ट चरित्र गर्छ जसले,त्यो दुष्ट नै भै गयो।
(१७)
जस्ले चिन्तन गर्छ शुद्ध मनले,एकादशी वामन।
द्यौता पुज्दछ सम्झदै व्रत लिदै,भित्री लगाई मन।
राजा त्यो बलिको सबै धन लिँदा,दुःखी न भो त्यो रति।
आफ्नै ज्यान समेत सुम्पन गयो,धन्दा नमानी रति।
(१८)
त्यस्तो दैत्य भएर त्यो समयमा,बाचा गरेका सबै।
सुम्प्पेथ्यो सबथोक नै त बलिले,चुक्दै चुकेनन् कतै।
सत्ता हात लिएर मानव यहाँ,गिर्दै गयो लौ सदा।
बक्थे भाषणमा कुरा कति यहाँ,पूरा नगर्छन् कदा।
(१९)
मान्छे भैकन आज दुष्ट किन भो,बाचा सदा गर्दछ।
आफ्नो धेर गुमाउँदा पछि हटी,दुःखी हुँदै डर्दछ।
राजा दैत्य हुदा हुँदै पनि यहाँ,बन्दो भयो मानव।
गिर्दै मानव आज लौ न किन हो,बन्दै गयो दानव।
(२०)
तोयानाथ सुवेदी
२०७८/०५/३१


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...