Wednesday 26th August 2026

लघुकविताः बिरानो पो भइसकेछ -शान्ता शाक्य


ओहो ! नि मेरो गाउॅ मेरो ठाउॅ
बिरानो देश र दन्यकथाको देशमा
सुटुक्क साटिन पो पुगेछ !
थुक्क मेरो बुद्धि
सोंचेको थिएँ के हुनुपर्ने हो
के भइगएछ !
आफ्नो जिन्दगी त
अर्काको मूल्यसॅग
थपक्क साटिन पो पुगेछ !
समय परिस्थितिले
कोल्टे त मजाले फेरिसकेछ !
गाउॅको रूपरङ्गले
नाङ्गो डाॅडा र पाखासॅग
मितेरी गाॅसिसकेछ !
चराचुरूङ्गीको कलरवले
मौनव्रत लिइसकेछ !
धन र बिल्लाले
छाती फुलाउन हिंडेकाहरू
गुन्द्रुक र ढिडोको
स्वादलाई बिर्सेर
आफ्नै पेवाको
गोरेटोलाई पनि भुलेर
कहिल्यै नफर्किने गरी
सहरिया माखो पो
बन्न पुगिसकेछन् !
गाउॅको सुन्दरता त
खण्डहरमा रूपान्तरण भइसकेछ !
तीजको रमझम
उन्मुक्त नचाइ
देउसी भैली
हाटे मेला
रोटेपिङको मजा
सबैसबै तालु खुइलिसकेका
डाॅडामाथि बसेर
विगतका स्मृतिलाई
झलझली सम्झेर
पुनर्जीवितको आशामा
टपटप ॲासु खसालेर
रोइरहेछन् रोइरहेछन् !
हरे ! जिन्दगी त
धरमरिएछ नि
अल्मलिएछ नि
ढल्पलिएछ नि
सुनौला सपना त
रङ्गहीन हुन पुगेछ नि
जिन्दगी त कहिले
कता पोखिएछ
कहिले कता
अत्तोपत्तो समेत हराइसकेछ !
जताततै काॅडैकाॅडाले
जरा गाडिसकेछ !
फेरि दैवी प्रकोपले पनि
गाउॅलाई नै मजाले सम्झेछ !
कठै ! गाॅसमाथि गाॅस हालेछ
यस्तै – यस्तै कथा र व्यथाले
वास गरिसकेछ !
आफ्नालाई आफ्नै गाउॅ पनि
बिरानो पो भइसकेछ
आफ्नालाई आफ्नै गाउॅ पनि
बिरानो पो भइसकेछ ! !

शान्ता शाक्य
धापाखेल ललितपुर


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...