Sunday 12th April 2026

कविताः परदेशी पतिको पत्र – शार्दूलविक्रीडित छन्द -मुक्ति पोखरेल


प्यारी सञ्च विसञ्च केछ घरमा राम्रो नराम्रो छ के ?
झट्टै नैं इतिवृत्त पाउन सकूँ चल्दै गरेको छ जे
आमा बाबु कसो गरेर घरमा बाटो नियाली कन
गर्दाहुन् कति सम्झना दिनदिनै आफै बुझाई मन ।

तिम्रै तस्बिर माथि लोचन दुबै सामीप्य भेटाउछन्
प्यासी चातकको समान जहिल्यै त्यो प्यास मेटाउछन्
छोरो गर्भमहाँ छदै विवश भै आएँ विदेशी हुन
देखेको अझ छैन रूप त्यसको कस्तोछ त्यो बालक ।

धर्सो सिंदुरको दलेर शिरमा स्वूँदो भरेको थिएँ
साथै बस्न दिएन कर्म गतिले अन्यत्र गै भासिएँ
हाम्रो प्रेम हराभरा छ जहिल्यै टाढा भएता पनि
फक्रन्छन् नव पालुवा ऋतुसँगै फिर्नेछ हाम्रो जुनी ।

मेरो तस्बिर साथ राख त्यसमै हेरी बुझाएस् मन
फर्कौँला म छिटै अवश्य घरमा साँचेर केही धन
सम्झेकोछु अदेखमा पति हुँदा पिडा भयो जे जति
पत्नीका सँगमा वियोग पतिको त्यस्तै हुने दुर्गती ।

छौ आफैं नव यौवना कुशुम झैं बास्ना भएकी कलि
तिम्रो श्वास प्रश्वासका निकटमा हावा सबै नक्कली
न्यानो स्पर्श गरेर साथ रहने इच्छा भएता पनि
छोडी चट्ट विदेशका मुलकमा बस्दैछु बन्दी बनी ।

बस्ना खातिर शान्ति साथ घरमा केही कमाउँ भनी
आएको मरु भूमिको कहरमा बित्ने भय‍ो जीवनी
मेरो लास विदेशबाट घरमा आयो भने आखिर
छ‍ोराक‍ा सँग बस्नु पालन गरी मान्दै नमानी पिर ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...