Wednesday 26th August 2026

लघुकथाः सजाय


शान्ता शाक्य, धापाखेल ललितपुर । बाटामा त्यस्तै १०-१२ वर्षको केटालाई कठालो समातेर एकजना मान्छेले रिसाउॅदै र फतफताउॅदै लगिरहेको हुन्छ । म उनीहरूको पछिपछि लागेर हेरिरहेको हुन्छु ।
“ अंकल छोडिदिनुस् न “ केटो रूॅदै भनिरहेको हुन्छ ।
“तॅ चोर बजियालाई थानामा लगेर छोड्ने हो , यहाॅ छोड्ने हो र !”उक्त मान्छे बंकिंदै तान्दै लगिरहेको हुन्छ । विभिन्न पसल अगाडि थुप्रै मान्छेहरूले के भयो , के ग-यो , किन तानेर लगिराखेको भन्दै प्रश्न गरिरहेका हुन्छन्।
“यो केटालाई सबैले चिनिराख्नोस् है , यो चोर हो चोर । यो मात्र होइन ,अन्य तीनजना पनि छन् । मेरो साइकल चोर्दै गर्दा यसलाई समातें अरू भागे ।”
मन्दिर अगाडि पुजारीले भनिरहेको हुन्छ “ यस्तै चारजना केटाहरूले राति दानबाकस फोरेर सबै पैसा लगेको पछि मात्र थाहा पाइयो, केही गर्न सकिएन । थानामा लगेर सिस्नो पानी लगाउनुपर्छ यस्तालाई ।”
पुजारीको कुरा सुनेर केटो डाॅको छोड्छ ।
“छिटो हिड्, थाना आइपुग्न लाग्यो, अझ रून्छस् ! पढेर ज्ञानी बन्नु छैन , चोरेर हिंड्छस् ,बजिया ।”
“अंकल … अंकल नचोरेर के गर्ने नि , बाआमा दिनभर ज्यामीकाममा जानुहुन्छ । म एक्लै डेराको कोठामा बस्नुपर्छ । चोरेर ल्याउॅदा मात्र मीठो खान पाइन्छ, त्यो पनि लुकीलुकी ।सबै साथीहरू मोबाइलबाट अनलाइनमा पढ्छन् । मसॅग मोबाइल पनि छैन, कसरी पढ्ने नि , भन्नुस् त !”
“फटाहा कुरा गर्छस् ।”
“सत्तेसत्ते धरोधर्म झुठो बोलेको होइन नि ।”
अप्ठेरो मानी मानी फेरि बिस्तारै भन्छ – “ अंकल….अंकल तपाईॅसॅग एउटा पुरानो मोबाइल छ भने मलाई दिनुस् न , म ज्ञानी भएर पढ्छु ,चोर्ने काम त म गर्दै गर्दिन नि । दिनुस् है ।”
उसको कुरा सुनेर एक्कासि उक्त मान्छे टक्क अडिन्छ । एकछिन घोरिरहन्छ । बिस्तारै उसले केटाको कठालो छोडिदिन्छ र
सजल ॲाखाले उसलाई एकटकले हेरिरहन्छ …हेरिरहन्छ ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...