डा. अम्बरिश पोख्रेल- महालेखा परीक्षणको यो वर्षको प्रतिवेदन सार्वजनिक भएको भनिएको छ । अझ राष्ट्रपतिलाई बुझाइयो रे प्रतिवेदन ! महालेखा परीक्षणकाे प्रतिवेदन भनेको, नेपालको संविधानमा ब्यबस्था गरिएको एउटा सरकारी निकायको रिपोर्ट नै हो ।
(क) ६ लाख रुपैयाँ होइन।
(ख) ६ सय लाख रुपैयाँ होइन ।
(ग) ६ सय करोड रुपैयाँ पनि होइन ।
(घ) ६ सय अर्ब रुपैयाँ अर्थात् ६ खर्ब रुपैयाँ बेरुजु !
एकछिनको लागि मानिलिनुहोस्, त्यसको आधा हिस्सा (धेरै हिसाब लाउँदा पनि ५० प्रतिशत) तिर्नु नपर्ने बेरुजु हिसाब गर्दा पनि ३ खर्ब (३ सय अर्ब !) रुपैयाँ त सिधै राष्ट्रको ढुकुटीबाट नेपालका ठूला वडाले घोटाला गरेको रकम हो यो रिपोर्ट अनुसार पनि । खासमा पच्चीस प्रतिशत (२५%) जति तिर्नु नपर्ने, तर काम अनुसारको हिसाब मिलान गर्नु पर्ने भनेर रिपोर्ट हुन्छ । ५०% त धेरै राखेको हो मैले ।
यो रकम को कसले खान्छ त ? यो प्रकारको बेरुजु रकम (कम्तीमा पनि ३ सय अर्ब रुपैयाँ) तल्लो देखि माथिल्लो तहसम्मका सरकारी अधिकारीहरू, पदाधिकारीहरु मात्र होइन, एनजियो (NGOs) सञ्चालकहरु समेतले दामासाहीले बाँडेर खाएका हुन्छन् ।
उनीहरूले हामीलाई के दिन्छन् ? यही वर्गका मानिसहरूले नैं, हामी नागरिकहरुलाई फुलबुटा भरेर अर्ति उपदेश दिने गरेका हुन्छन् । हामी होला त नी भनेर, उनीहरूको चिल्ला, मिठा_ मिठा कुरामा भुलिरहेका हुन्छौं । विश्वास गरिरहेका हुन्छौं । ठूलो पदमा आसिन मान्छेले भनेको हो, त्यही भएर उसको कुरा सही हुनु पर्छ भन्ने विश्वास गर्दछौ । उसको कुरामा भर पर्दछौं । खासमा उनीहरूले यो प्रकारको लुट तन्त्रलाई, हरेक पल, क्षेत्र, तथा हर प्रकारका लेख रचना, भाषण, अनेक प्रकारका मिडियाहरु, सामाजिक सञ्जाल देखि प्रत्यक्ष सरकारी आदेश तथा उर्दी जारी गरिरहेका हुन्छन् ।
तर यति धेरै रकम दामासाहीले बाँडेर खाँदा पनि, असुल उपर गर्ने कुनै निकाय छैन नेपालमा । भएता पनि असुल उपर गरिँदैन । गरिएको छैन । कारण स्पष्ट छ, दामासाहीले बाँडेर खाएको रकम, कसले, कोबाट र कहाँबाट असुल उपर गर्नु ? सक्किगो नी ।
पशुपति शर्माको गीत नेपालमा आउँदो दशकौ दशक वर्ष सम्म कालजयी हुने छ । “लुट कान्छा लुट, नेपालमै हो छुट”। सक्नेले लुट्ने त होनि । रिस, डाह र ईर्ष्या गर्ने कुरा भएन हामी सामान्य जनले । बरु उनीहरू बीचमै रिस, डाह र ईर्ष्या गरेको देखिन्छ र सुनिन्छ ।
अस्तु ।
अम्बरिश पोख्रेल