Friday 3rd July 2026

र्‍यापिड पिसिआर गरेका १६७ नेपाली युएई उडे


तितोपाटी- सोमबारदेखि युएईबाट काठमाडौंसम्म उडान भरिरहेको एअर अरेबियाले बिहीबारबाट दुवैतर्फ यात्रु बोक्न थालेको छ। नेपालको विमानस्थलमा र्‍यापिड पिसिआर परीक्षणको सुविधा नहुँदा एअर अरेबियाले सोमबारदेखि युएईबाट नेपाल आउने यात्रु मात्रै ओसारिरहेको थियो।

युएईको वायुसेवा कम्पनी एअर अरेबियाले आफ्नै पहलमा अल्फा डाइग्नोस्टिक प्रालिसँग मिलेर त्रिभुवन विमानस्थलनजिकै कोरोनाको र्‍यापिड पिसिआर परीक्षणको व्यवस्था मिलाएर बिहीबारदेखि यात्रु लैजान थालेको हो। उक्त कम्पनीको उडान नम्बर जी९५३८ को जहाज बिहीबार राति ८ बजे एक सय ६७ नेपाली बोकेर सारजहाँ गएको छ। स्वास्थ्य मन्त्रालयबाट स्वीकृत अल्फा डाइग्नोस्टिकले विमानस्थलनजिकै ल्याब सञ्चालन गरी र्‍यापिड परीक्षण रिपोर्ट दिन थालेको छ। यसअघि एअर ट्रान्सपोर्ट अपरेसन दुबई सिभिल एभिएसन अथोरिटीलेले विमानस्थल परिसरमै गरिएको र्‍यापिड टेस्टलाई मात्र मान्यता दिने भन्दै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको परीक्षण रिपोर्टलाई मान्यता दिएको थिएन । विमानस्थल स्रोतका अनुसार गौशालास्थित पशुपति भिजन टावरमा ल्याब सञ्चालनमा ल्याएको अल्फाले २१ सय रूपैयाँ लिएर परीक्षण गरिरहेको छ। सारजहामा एअर अरेबियाको बेस भएकाले युएईले एअर अरेबियालाई विशेष उडान अनुमति दिएको विमानस्थल कार्यालयले जनाएको छ। तर नेपाल वायुसेवा निगम, हिमालय एअरलाइन्स र फ्लाई दुबईले भने अझै यात्रु बोक्न पाएका छैनन्। एअर अरेबियाले नेपालबाट सारजहा र अबुधाबी उडान भर्दै आएको छ।

स्रोतका अनुसार नेपाली विमान कम्पनीलाई उडान अनुमति दिए अन्य देशले समेत अनुमति माग्ने भएकाले हिमालय र निगमले अनुमति नपाएका हुन्। युएईको सिभिल एभिएसन अथोरिटीले परीक्षणको विधि परिवर्तन गरेको चार दिन बितिसक्दा समेत सम्बन्धित निकाय के गर्ने र के नगर्ने भन्ने अलमलमै रहेको बुझिएको छ।

एअर अरेबियालाई निजी ल्याबसँगको सहकार्यमा उडान अनुमति दिए पनि नेपाली विमान कम्पनीलाई सरकारी अस्पतालको परीक्षण रिपोर्टका आधारमा समेत यात्रु बोक्न नदिनुमा अन्य कारण हुन सक्ने स्रोतको दाबी छ। अन्यत्र सरकारी अस्पतालको रिपोर्टलाई बढी विश्वासिलो मान्ने गरिए पनि युएईको सिभिल एभिएसन अथोरिटीले नेपालका सरकारी अस्पताललाई विश्वास गर्न नसकेको देखिएको विमानस्थलका एकजना अधिकारीले बताए।

सोमबार सोही रिपोर्ट नहुँदा युएई उड्न विमानस्थल पुगेका डेढ सय नेपाली मध्यरातमा घर फर्कन बाध्य भएका थिए। विमानस्थलबाट फर्किनेमा अधिकांश दुबईबाट बिदामा आएका कामदार थिए।

विदेशी वायुसेवाले उडान युएई उडान सुरु गरे पनि निगम र हिमालय एअरलाइन्स भने युएई सरकारले कहिले साबिककै नियम लागू गर्ला र उडान सञ्चालन गरौंला भनेर पर्खिरहेका छन्। नाम गोप्य राख्ने सर्तमा विमानस्थल स्रोतले दिएको सूचना अनुसार \ र्‍यापिड पिसिआर टेस्ट मेसिन किन्न करोडभन्दा माथि खर्च हुने र केही समयपछि नै यो प्रावधान हटेको खण्डमा खर्च मात्रै हुने भन्दै विमान कम्पनीहरू पर्ख र हेरको स्थितिमा छन्। स्वदेशी विमान कम्पनीले भने स्वास्थ्य मन्त्रालयको समन्वयमा छलफल भइरहेको र चाँडै भारतबाट उक्त मेसिन ल्याउने प्रक्रिया सुरु हुने बताइरहेका छन्।

१० मिनेटमा एकजनाको रिपोर्ट स्क्यान क्षमता रहेको उक्त उपकरण हाल भारतमा प्रयोगमा छ। उक्त उपकरणको नेपाली मूल्य चारदेखि पाँच लाख रूपैयाँ पर्छ। परीक्षणका लागि एउटै विमान कम्पनीले २० वटा जति मेसिन जडान गर्नुपर्छ। युएईले सोमबारदेखि लागू हुने गरी आफ्नो मुलुक प्रवेश गर्ने नेपालीले ४८ घन्टाभित्र गरेको कोरोना भाइरसको पिसिआर नेगेटिभ र विमान चढ्नुअघिको चार घन्टाभित्र विमानस्थलमै गरेको र्‍यापिड पिसिआर टेस्टको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने नियम लागू गरेपछि हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सका जहाज उताका यात्रु लिन रित्तै युएई गइरहेका छन्।

साभार नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...