सीता बिष्ट कार्की (सीबिका) – षडऋतु लघुत्तम कविता कविता विधाको उपविधा अन्तर्गत लघु विधा हो । षडऋतु दुई शब्द षट् र ॠतु मिलेर बनेको छ । पूर्वीय दर्शन र वाङ्मयमा षट् वा छ सङ्ख्याको सारै ठुलो महत्त्व रहेको पाइन्छ । त्यसै अनुसार शब्दकोशले कतिपय क्षेत्रका अर्थ दिएको छ ।
(क) षट्पद : छवटा खुट्टा भएको, भ्रमर (ख) षट्पदी : छवटा चरण वा पाउ हुने छ्न्द (ग) षट्कोण : छवटा कुना परेको (घ) षड्दर्शन : साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांस र वेदान्त यी छ वटा हिन्दुहरुको दार्शनिक सिद्धान्त (ङ) षडरस : गुलियो, अमिलो, नुनिलो, तीतो, पिरो र टर्रो यी छवटा प्रमुख रस, स्वाद वा शरीरका पोषक तत्त्व (च) षडरिपु : काम, क्रोध, लोभ, मोह, मद र मत्सर यी मानिसमा हुने विकार वा छ प्रकारका शत्रु (छ) षट्कर्म : स्नान, सन्ध्या, पूजा, तर्पण, जप र होम यी छवटा मानिसहरुले गर्नुपर्ने अनिवार्य कर्म (ज) षट्कर्ण : छ्वटा कानले सुनेको; भन्ने र सुन्नेबाहेक तेस्रो मानिसले पनि सुनेको कुरो । (झ) षड्मुख : भगवान् कार्तिकेय (ञ) षट्कृत्तिका : आकाशमा रहेका छवटा ताराको समूह, किर्किटी तारा । यसरी नेपाली शब्दकोश षट् वा छ सङ्ख्याको अर्थलाई विभिन्न रुपमा व्याख्या गरिएको छ ।
ऋतुको शब्दकोशीय अर्थ हेर्दा : वैदिक कर्म गर्नका लागि उपयुक्त शुभ समय भन्ने एउटा अर्थ छ । उसरी नै अर्को अर्थ : प्राकृतिक रुपले वर्षभरिमा दुई दुई महिनाको विभाग भनिएको छ । ती ऋतुका नाम (१) वसन्त, (२) ग्रीष्म, (३) वर्षा, (४) शरद्, (५) हेमन्त र (६) शिशिर हुन् । त्यसै गरी ऋतुले अर्को अर्थ बोटबिरुवाको फलफूल लाग्ने समय पनि जनाउँछ । त्यसैले समय अनुसारका फलहरुलाई ऋतुफल भनिन्छ । अर्को अर्थमा स्त्रीले गर्भधारण गर्ने समय वा महिनावारीको समयलाई पनि बुझाँउछ । समग्रमा विचार गर्दा ऋतु शब्द सम्भावना र उत्पादनशीलता बुझाउने हो भन्न सकिन्छ ।
षड् अथवा छ को र ऋतुको सामान्य विवेचनापछि षड्ऋतु नै नामका लागि छानिनुको अर्थ पनि प्रायः प्रस्ट नै भयो । यसमा समय, सृष्टि, संसार, स्रष्टा, सत्य, सेवा र साधन समेत सबै समेटिएको अनुभूत हुन्छ । दर्शनले दर्साउने र द्रष्टाका अन्तर्मनले देख्ने पनि तिनै कुरा हुन् । अन्तर्मनले देखेको कुरा कलात्मक रुपले स्रष्टाले समेट्छ । त्यसरी नै समेट्ने क्रममा षट्पदीय काव्य षड्ऋतुको अवतरण हुन्छ । यो षड्ऋतु षट्पदीय लघु काव्य हो । यसका प्रतिपङ्क्तिमा छ अक्षरका दरले राखिन्छन् । त्यसैले यो छ्त्तीस अक्षरीय लघु र काव्यात्मक रचना बन्छ । आजको व्यस्त मानिस र मानिसको अभिव्यक्तिमा सुन्दरता खोज्ने चाहलाई यसबाट सहयोग पुग्ला भन्ने लाग्छ । यसमा अनेकता र विविधता तत्वहरुको सम्मिश्रण हो भन्न हिचकिचाउनु पर्दैन । त्यस कुरालाई माथि षड्ऋतुको चर्चा गर्दा उल्लेख गरियो । सानो कुरा नै ठुलो कुराको स्रोत हो । किनभने थोपाबाट महासागर बनेको छ । यस षड्ऋतुमा सुन्दर फूलहरु छ्न्, शृङ्गारिक रसहरु छ्न्, सुन्दर प्राकृतिक छ्टाहरु छन् । त्यतिमात्र होइन मानिसका शत्रुहरु पनि छ्न् । षड् र ऋतु मिलेर बनेको यो लघुकाव्य उपविधा विविध काव्यिक रस्वादान गर्ने पूर्णिमाको जून हो । यसले भाषा साहित्यको श्रीवृद्धिका लागि एउटा सानो इँटा भए पनि थप्ने काम गर्नेछ । वास्तवमा हजारौँ साना साना पानीको विन्दुहरुबाट विशाल समुद्र बन्दछ ।
परिभाषा : षडऋतु लघुकाव्यलाई परिभाषा गर्दा काव्य विधाभित्र छ गुण “छ पङ्क्ति र छत्तीस अक्षरको षट्पदीय स्वरुपमा संरचित लघुतम उपविधा नै षडऋतु हो” वा “षट्पदीय काव्यिक छत्तीस अक्षरीय लघु काव्य नै षडऋतु हो ।” यस प्रकार षड्भित्र हरेक प्रकारका छ तत्वहरु लुकेका छ्न् । यिनै विविध छ प्रकारका तत्वहरु मिलेर षड्ऋतु लघुकाव्यको संरचना भएको पुष्टि गरिन्छ । षडॠतुको सिद्धान्त तथा सूत्रहरुलाई लेखनका हिसाबले मुख्य गरी तीन भागमा विभाजन गरिएको छ ।
(१) संस्कृतका शास्त्रीय छ्न्द । षडॠतु लघुत्तम काव्यमा संस्कृतका शास्त्रीय छ्न्दहरु यसमा निश्चित गण र सूत्रहरु हुन्छन् निम्न छन (क) शशिवदना छ्न्द (नय गण) (ख) सोमराजी छ्न्द (यय गण) (ग) विध्युल्लेखा वा शेषा छ्न्द (मम) (घ) तनुमध्या छ्न्द (तय) (ङ) तिलका छ्न्द (सस) (च) विमोह छ्न्द (रर) (छ) मन्थान छ्न्द (तत) (ज) वसुमती छ्न्द (तस) (झ) रघु छ्न्द (जय गण) (ञ) रत्नराज छ्न्द (रय) (ट) युवती छ्न्द (जस) यस लेखनमा स्वरान्त अक्षर पूरा उच्चारण हुन्छ र उसै अनुसार गणना गरिन्छ ।
(२) लोकछ्न्द : नेपाली लोकजीवनमा प्रचलित लोकगीतको लयमा गाउन पनि सकिन्छ यसमा उच्चारणगत एकरुपता वा सामाक्षरिक गति यतिको आधारमा निर्माण गरिन्छ । लोकजीवनले उच्चारण गरेका आधारमा अक्षरको गणना गरिन्छ । त्यसो हुँदा कतिपय ठाउँमा अकारान्त अक्षर पनि हलन्त उच्चारण भएर गन्तीमा नआउन सक्छ ।
(३) मुक्त छ्न्द षडॠतुलाई मुक्त छ्न्दमा पनि लेख्न सकिन्छ । मुक्त छ्न्द हरेक प्रकारको कविताको स्वतन्त्र लय हो तर पनि आन्तरिक लयको सुमधुर झङ्कार लुकेको हुन्छ । मुक्त छ्न्द वा स्वतन्त्र छ्न्दमा गद्य कविताकै लेखन जस्तै गरी लेख्न सकिन्छ । प्रत्येक हरफहरुमा सकेसम्म अक्षर सङ्ख्या समान राख्न सकेमा अझ सुन्दर हुन्छ । यसमा पनि अक्षरको गणना लोकछन्दमा भएकै नियम अनुसार हुन्छ ।
सूत्र : दुई माथिका हरफ र तलका हरफका बिचमा एक स्वतन्त्र वाक्य भएको षडऋतु लघुकाव्यका केही उदाहरणहरु यसरी देखाइएको छ ।
(१) शशिवदन छ्न्द (।।। ऽऽऽ)
नयन झुकेको
मनुज लुकेको
अमृत सुकेको
चकित छ है त्यो
नियम चुकेको
श्वास नै रुकेको
(२) सोमराजी छ्न्द (।ऽऽ ।ऽऽ)
भिजेको सिरानी
उजेलो बिहानी
झुकेको जवानी
छु रोज्दै खोज्दै
छ नौलो कहानी
बनेरै अज्ञानी
(३) विधुल्लेखा (शेषा) छ्न्द (ऽऽऽ ऽऽऽ)
आनीबानी खोली
बोकेको रे झोली
हाँसी, खेली बोली
मेची कोसी गर्दै
मोर्चा युद्धैमा गोली
ऐना हेर्दै रोली ।
(४) तनुमध्या छ्न्द (ऽऽ। ।ऽऽ)
जन्मे अनि आँए
हाँसेर मनाएँ
व्यर्थै दुख पाँए
यो देह छ प्यारो
वर्षात नि खाँए
साँच्चै नै रमाँए ।
(५)तिलका छ्न्द (।।ऽ ।।ऽ)
कहिले वनमा
कहिले मनमा
ममता धनमा
भँडुवा गफले
दगुरे रनमा
अब ता जनमा
(६) विमोहा छ्न्द (ऽ।ऽ ऽ।ऽ)
प्रीतिको चाहना
प्रीतको भावना
दीप झैँ कामना
सुस्तरी बस्दछ
जिन्दगी सामना
बाँसुरी गानमा
७) मन्थान छ्न्द (ऽऽ। ऽऽ।)
यो देश छोडेर
लोभिन्छ भाँडेर
व्यर्थै नि फोडेर
ती उच्च पर्खाल
आफै नि मोडेर
माया नि तोडेर ।
(८) वसुमती छ्न्द (ऽऽ। ।।ऽ)
संसार रचना
नौलो छ सपना
गर्दै छु जपना
आकाश धुमिलो
त्याग्दै छु थपना
सम्झेर विपना
(९) रत्न राज छ्न्द (ऽ।ऽ ।ऽऽ)
शीतमा फलायौ
प्रीतमा जलायौ
व्यर्थमा छ्लायौ
वाटिका सबैका
साधना ढलायौ
प्यारमा गलायौ ।
(१०) युवती छ्न्द (।ऽ। ।।ऽ)
म लेख्छु कविता
गरेर रमिता
लुकेर वविता
म पुग्छु तटमा
छ साथ सविता
अपार सरिता ।
मुक्त छ्न्दका उदाहरण र नियमहरु
मुक्त छ्न्दका उदाहरण
नियम १)पहिलो दोश्रो तेस्रो अनुच्छेदको एउटै अनुप्रास मिलेको
चौथो पाँचौ छैठौं एउटै अनुप्रास
उदाहरणहरु
भन्छन् ऋतुराज
रमाइलो साँझ
गीत गाछु आज
हिमचुली माथि
म हुँ तिम्रो साथी
आमा नै हो जाती।
अनुच्छेद पहिलो दोस्रो एउटै अनुप्रास तेस्रो चौथो एउटै ( पहिलो दोश्रो भन्दा फरक) पाँचौ छैठौं एउटै अनुप्रास ( पहिलो दोस्रो तेस्रो चौथो भन्दा फरक)मिलेको षडऋतुहरु
हे ऋतु वसन्त
तिमी छौ अनन्त
नचिसो नगर्मी
नबनौ अधर्मी
नौलो छ काँचुली
रमाइ नाचौली
परीकल्पनाकार :सीता बिष्ट कार्की ( सीबिका)
२०७८/४/९