Sunday 26th April 2026

सविता के.सी. का १० पञ्चाङ्गहरू ( २ पाञ्चायन)


“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”

पाञ्चायन २ (दुई)

पञ्चाङ्ग १० (दस)


हृदयमा आँधी चल्यो झरी बनियो
खुसीहरू सल्बलाए चरी बनियो
नारी हो अनेक रूप धारण गर्ने
ढुङ्गा जस्तो हुँदाखेरि खरी बनियो
सुकोमल सुन्दरमा परी बनियो ।


एकादशीको व्रतमा भोक हराउँछ
औषधि प्रयोग गर्दा रोग हराउँछ
तुलसी प्रयोग महत्व एकादशीको
सात्विक भोजन गर्दा झोक हराउँछ
शुद्ध रहँदा विकारथोक हराउँछ ।


मनले भिखारी भई भिख माग्दैन मेरो
इमानदारिता छाडेर मन भाग्दैन मेरो
मनले गर्ने हो मनसित सम्झौता भन्ने
नकारात्मक सोचमा मन जाग्दैन मेरो
काबुमा राख सकेमा, कतै लाग्दैन मेरो ।


जिन्दगीमा अचकल्टो जिलो नहुने
उठ्न बस्न नै कठिन पिलो नहुने
सङ्घर्षले घिचिँन्न रहेछ जीवन
खिया लागि भाँच्चिजाने किलो नहुने
जता टेक्यो उतै धाप गिलो नहुने ॥


कृषि गरेँ लहलह मुनैपिच्छे बतिलो भयो
किरा लाग्यो आक्रमणले फल जहरिलो भयो
मिहिनेत र परिश्रमले मात्र नहुने हेर
समयमा विषादि आयो बचायो सजिलो भयो
फूल फुल्यो, नयाँ फल लाग्यो अब कसिलो भयो ॥


माइती घर बाइबाई डोलीले गरायो
चित्तमा घाउ आफन्तको बोलीले गरायो
सबैको साथविना चल्दैन जीवन हेर
अन्तिम यात्रामा साथ त खोलीले गरायो
जीवन रक्षा आफ्नो जिउ चोलीले गरायो ।


मण्डपमा सिन्दुरको लर्को चिसो भयो
माघको चिसो महिना बर्को चिसो भयो
आवश्यकता कहाँ कति हुन्छ मान्छेको
हुइँकिएका पिङको सर्को चिसो भयो
बगेको लाली रङ्ग नै धर्को चिसो भयो ।


आइन् उनी केश फिँजाई लर्काएर गइन्
मनभित्र हुरीबतास तर्काएर गइन्
मायाजालमा पार्छे भन्ने आश मात्र भयो
बज्न खोज्छ मेरो हृदयमा थर्काएर गइन्
प्रेमको बाँध थियो उता फर्काएर गइन् ।

जिन्दगी जन्म र मृत्युको खेल भयो
उमेर नपुगी ठगिने झेल भयो
मिलन र बिछोडको परिस्थिति
अपरिचित मायासित मेल भयो
जीवन एकोहोरो यात्रा रेल भयो ।

१०
माया गर्थिन् कहिले उज्यालो दिन आफैँ बल्थिन् उनी
कसले मन दुखाउँथ्यो भित्रभित्र नै जल्थिन् उनी
प्रकृतिले दिन्छ उपभोग मात्र गर्न जान्नुपर्ने
दुखेको बेला शब्दका रचना मलम दल्थिन् उनी
खुसीमा गुराँस, चम्पा, चमेली फूल फुल्थिन् उनी ।

 

-सविता के.सी. ❤
काठमाडौ

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...