Sunday 28th December 2025

उपेन्द्र यादव समूह संसदमा सत्तापक्षको कुर्सीमा बस्ने, आफ्नो पक्षमा बहुमत पुगेको दावी


तीतोपाटी डटकम-जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षका केही सांसदले कित्ता परिवर्तन गरेका छन् । यससँगै पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षको संसदीय दलमा बहुमत पुगेको दावी गरिएको छ ।

यसअघि उपेन्द्र यादव कार्यकारिणी समिति र राष्ट्रियसभामा बहुमतमा भएपनि संसदीय संसदीय दलमा ठाकुरको पक्षमा बहुमत देखिएको थियो । ओली सरकार ढल्नु अघिसम्म ३२ जना सांसदमध्ये महन्थ ठाकुरको पक्षमा २० जना सांसद थिए भने उपेन्द्र यादवको पक्षमा १२ जना मात्र थिए । अहिले उनको पक्षमा १९ जना सांसद पुगेको दावी गरिएको छ।

सो पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले महन्थ ठाकुरको पक्षमा रहेका प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाललगायतका सांसदहरु उपेन्द्र यादवको पक्षमा आएको बताए । उनले अझै केही सांसदहरु उपत्यका बाहिर रहेको कारण बैठकमा आउन नसकेको र चारजना सांसद अझै सम्पर्कमा रहेको दावी गरे ।

अरु चारजना सांसद को को हुन् भन्नेबारे उनले बताउन चाहेनन् । यसअघि उपेन्द्र यादवको साथ छाडेर विमल श्रीवास्तव, उमाशंकर अरगरिया, रेणुका गुरुङ, राम दुलारी खत्वे महन्थ ठाकुरको पक्षमा लागेका थिए । त्यसले गर्दा महन्थ ठाकुरले बहुमत प्राप्त गरेका थिए ।

उपेन्द्र यादव पक्षको आज बसेको संसदीय दलको बैठकले भोलिदेखि सुरु हुने संसदको बैठकमा सत्तापक्षमा बस्ने निर्णय गरेको छ । यसअघि जसपा विपक्षीको बेन्चमा बस्दै आएको थियो । यद्यपी महन्थ ठाकुर पक्षका सांसदहरु विपक्षमा बस्ने निर्णय हिजै गरेको थियो ।

एमालेका साथमा विपक्षमा बस्ने निर्णय गरेसँगै संसदमा कसरी प्रस्तुत हुने विषयमा आजै महन्थ ठाकुर समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवासमा छलफल गरेको थियो ।
@रातोपाटीडटकम

 


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...