Tuesday 31st March 2026

एमालेमा ओली र नेपाल पक्ष सहमति नजिक


तीतोपाटी डटकम-२५ असार, काठमाडौं । नेकपा एमालेको एकताका लागि क्रियाशील कार्यदलले सहमति नजिक पुगेको छ । भाषिक लगायतका केही परिर्माजन गरेर भोलि शनिबार सहमतिलाई अन्तिम रुप दिइने दाबी कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलले शुक्रबार झण्डै ७ घण्टा अर्थ मन्त्रालयमा छलफल गरेको थियो । कार्यदलका सदस्यहरुका अनुसार २ जेठ २०७५ मा फर्किने र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे दुबै पक्ष सहमति नजिक पुगेका छन् ।

यद्यपि दुबै पक्षले थप छलफल गरेर आउने भनेकाले विषय खुलाउन नमिल्ने नेताहरुले बताएका छन् । कार्यदलका एक सदस्य भन्छन्, ‘हिजोभन्दा एक कदम अगाडि बढेका छौं । तर सहमतिमा पुग्न अझै अर्को कदम चाल्न आवश्यक छ ।’

कार्यदलका सदस्य ज्ञवालीले भने पार्टी एकतालाई सुदृढ गर्ने सन्दर्भमा आफूहरु लगभग सहमतिमा पुगेको बताएका छन् । सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषयमा भोलि एकछिन छलफल गर्नुपर्ने बाँकी रहेको भन्दै उनले भने, अहिलेका जति पनि प्रश्नहरु छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइपुर्‍याएका छौं ।’

यद्यपि उनले पनि केके सहमति भयो भन्ने खुलाएनन् । भोलि अपरान्ह बस्ने बैठकले सहमतिलाइृ अन्तिम रुप दिएपछि मात्र सार्वजनिक गर्ने कार्यदल सदस्य ज्ञवालीले बताए ।

बैठकपछि ज्ञवालीले दिएको प्रतिक्रिया उनकै शब्दमा

कार्यदलको आजको बैठक हामीले निकै लामो, निकै सौहार्द र सघन छलफलमा विताएका छौं । झण्डै झण्डै ७ घण्टा व्यतित गरेका छौं र बैठकबाट हामी पार्टीको एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं । सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषयमा भोलि एकछिन हामी बस्नुपर्ने भएका कारणले भोलिसम्मका हामीले बैठक स्थगित गरेका छौं ।

तर यति चाहिँ म तपाईहरुलाई शेयर गर्न चाहन्छु कि हामी अहिलेका जति पनि प्रश्नहरु छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइपुर्‍याएका छौं । त्यसकारण अब नेकपा एमालेका नेता कार्यकर्ता र समर्थक शुभचिन्तकहरुले पार्टीको भविश्य के होला भन्नेबारे उहाँहरुको चिन्तालाई दुर गर्ने गरी हामी सहमतिका साथै यो बैठकलाई टंग्याउने छौं ।

नेताहरुसँग आवश्यक परामर्श नियमित रुपमा भइरहन्छ । तर भोलि हामी यसलाई फाइनल गर्छौं । कार्यदललाई नै यो समस्या समाधानका लागि सहमतिको प्रस्ताव तयार पार्न टीओआर पाएका छौं । हामी त्यही आधारमा नै टुंग्याउछौं ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...