Tuesday 10th March 2026

प्रवासमा नेपाली पत्रकारहरुलाई एकजुट गर्न गठन भयो गैरआवासीय नेपाली पत्रकार महासंघ


लन्डन(जीएनएन)-प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर सहकार्य गर्दै व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गैरआवासीय नेपाली पत्रकार महासंघको गठन गरिएको छ।भर्चुएल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको उक्त भेलाले महासंघ गठन गर्ने निर्णय गरेको हो।

महासंघले ८२ मुलुकहरुमा फैलिएको प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) संग सहकार्य गर्ने तर नेपाल सरकारले तोकेको ‘गैरआवासीय नेपाली’ को परिभाषा महासंघमा लागू नहुने जनएको छ। महासंघले नेपाल बाहिर भारत लगायतका मुलुकहरुमा क्रियाशील नेपाली तथा नेपाली मूलका पत्रकारहरुलाई पनि समेट्ने गरी आउंदो ९० दिन भित्र संघको विधान बनाइने र त्यसको १८० दिन भित्र नयां कार्य समिति गठन गरिसक्ने जनाएको छ। महासंघका राष्ट्रिय शाखाहरु भने तत्काल गठन गरिने छन्।

महासंघको अध्यक्षमा बीबीसीका पूर्व पत्रकार भगीरथ योगी (यूके) रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा तोया दाहाल (अमेरिका) रहेका छन्। त्यस्तै उपाध्यक्षमा श्याम लुइँटेल (यूके), महासचिवमा कृष्ण केसी (अमेरिका) रहेका छन्। यसै गरी सचिवहरूमा अनिल अधिकारी (अमेरिका), छत्र शंकर (अष्ट्रेलिया), खगराज गौतम (जापान), अनुजा बुढाथोकी (साउदी अरेबिया) र सह कोषाध्यक्ष महेश खाती (डेनमार्क) रहेका छन्। त्यस्तै सल्लाहकारहरुमा डा. भरत राज पौडेल (अस्ट्रेलिया) तथा डा. जगन अधिकारी (यूके) रहेका छन्। जुन देशमा महासंघ दर्ता हुन्छ, त्यही देशबाट कोषाध्यक्ष मनोनयन गरिने जनाइएको छ। गैरआवासीय नेपाली पत्रकार महासंघ नेपाल बाहिर बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया या युरोपका कुनै एक देशमा दर्ता गरिने जनाइएको छ ।

“गएको एक दशकमा नेपाल बाहिर नेपाली अनलाइन पोर्टल लगायतका संचारमाध्यमहरुको उल्लेख्य वृद्धि भएको छ। तर तिनको दीगोपना र गुणस्तरमा समस्या देखिएको छ। त्यस्तै प्रवासमा क्रियाशील सबै पत्रकारहरुलाई मान्य हुने गरी आचार संहिताको विकास गर्नु पर्ने आवश्यकता पनि देखिएको छ,” महासंघका संस्थापक अध्यक्ष योगीले भने। “त्यसैले अमेरिका, युरोप, अस्ट्रेलिया लगायतका मुलुकमा क्रियाशील नेपाली पत्रकारहरुका संस्थाहरुसंग सहकार्य गरी प्रवासमा नेपाली पत्रकारितालाई अरु बढी गरिमापूर्ण र व्यावसायिक बनाउन महासंघ गठन गरिएको हो। ”

त्यसै गरी संस्थापक महासचिव कृष्ण केसीले गैरआवासीय नेपाली संघसंग आफुहरुले सहकार्य गर्दै अगाडी बढ्ने बताए। “एनआरएनएका रचनात्मक कामहरुको समर्थन गर्ने र गलत प्रवृत् विरुद्ध खबरदारी गर्ने काम हामीले गर्ने छौं,” उनले भने। उनले कुनै पनि संघसंस्थासंग प्रतिस्पर्द्ध गर्न नभै सहकार्य गर्न आफुहरु अगाडी आएको बता ए।

महासंघले विदेशमा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने, सञ्चार क्षेत्रको विकासका लागि नेपालमा रहेका पत्रकारितासंग सम्बन्धित संघसंस्थासंग सहकार्य गर्ने, प्रवासमा नेपाली भाषा, कला, संस्कृति र नेपाली पहिचानको प्रवर्द्धनका लागि काम गर्ने जनाएको छ।

त्यस्तै लोकतन्त्र, मानव अधिकार तथा प्रेस स्वतन्त्रताको प्रतिरक्षाका साथै पत्रकारिता तथा सञ्चार क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संगठन तथा संघ संस्थासँग सहकार्य गर्दै अघि बढ्ने पनि महासंघले जनाएको छ।

महासंघमा प्रवासमा क्रियाशील पत्रकारहरु सदस्य बन्न सक्ने छन् भने पत्रकारहरुका संघ संस्था एसोसियट सदस्य बन्न सक्ने छन्। त्यस्तै महासंघले मानार्थ सदस्यता पनि दिन सक्ने छ।

संघका शाखा खुलेका हरेक मुलुकमा राष्ट्रिय संयोजक रहने छन्। राष्ट्रिय संयोजकको नेतृत्वमा सदस्य संख्याका आधारमा एउटा बिजोर संख्या रहनेगरी कार्यसमिति गठन हुनेछ। राष्ट्रिय संयोजक स्वत केन्द्रिय सदस्य हुनेछन। बिचमा खालि हुन आएका पदमा त्यो भन्दा तल्लो तहकाले स्वत पदोन्नति पाउने छन्।

महासंघको नेतृत्व चयन रोल मोडलका रुपमा अघि बढाइने, हरेक २३ महिना २९ दिन अर्थात २४ महिना पुग्नु एक दिन अगाडी सो पदमा एक तह मुनिका पदीय ब्यक्ति स्वत: पदस्थापन हुने प्रस्ताव गरिएको छ । नेपाली संस्थाहरुमा निर्वाचनका क्रममा देखिएको गुटबन्दी तथा विकृति हटाउन नेतृत्वको क्रमशः विकास गरी नमुना संस्थाको रुपमा विकास गर्ने लक्ष्य लिएको पनि महासंघले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...