Tuesday 10th March 2026

टिकटक जस्तै ‘शीत’


इन्दिरा ज्ञवाली पौडेल – साहित्यमा सर्वाधिक लोकप्रिय विधा कविता अर्थात काव्य हो । कविता विधा अन्तर्गत विभिन्न उपविधा छन् र वर्तमान समयानुकूल थप नयाँ उपविधाहरूको सूत्रपात हुँदै गएका छन् ।यसै परिप्रेक्ष्यमा साहित्यको चारवटै विधामा दर्जनौं कृति प्रकाशित गरी सकेका पाल्पाली साहित्य साधक , बहुप्रतिभाशाली व्यक्तित्व पुष्कर अथक रेग्मीद्वारा ७ असार २०७८ का दिन परिकल्पना गरी सामाजिक संजाल मार्फत कविताको लघुतम उपविधाको रूपमा ’ शीत’ को प्रारम्भ भएपश्चात् प्रत्यक्ष,अप्रत्यक्ष फोन, म्यासेन्जर ग्रुप , भाइवर, जुम र गुगल मिट एवं युटुवहरू मार्फत शीतका परिकल्पनाकारले ’शीत’ लेखनको नियम र उदाहरणहरू संप्रेषण गरिदै अाएको छ।

शीतको लोकप्रियतासंगै १२ असार २०७८ का दिन प्रविधिको प्रयोगद्वारा ’ शीत काव्य समाज नेपाल ’ गठन गरेपश्चात यस नव उपविधालाई धेरैले मन पराएको कुरा हामीलाई अनुभूति भयो। शीतको म्यासेन्जर ग्रुप र फेसबुक ग्रुप मार्फत हाम्रो यात्रामा सहभागी हुन आउनेको संख्या देश देखि विदेशसम्म दिनानुदिन बढ्दै गएको मिठो अनुभूति मैले पाएकी छु । ’शीत’बाट प्रभावित भएर अग्रज स्रष्टा देवेन्द्र राज शाक्यद्वारा शीतहरू संकलन गरि संग्रह नै निकाल्ने घोषणा भइ सकेको छ ।

छोटो समयमै शीतले पाएको चर्चाले केही लेखुँ भनेर मेरो मनले कुत्कुत्यायो र मनमा एउटा शीतको भेल आएको अनुभूति गरायो अनि यी हरफहरू कोर्न थाले । शाब्दिक अर्थानुसार ‘शीत’ एउटा सानो पानीको थोपा ,बुँद ,चिसो वा ओस हो । यो दुई अक्षरको हुन्छ , यो कविताको लघुतम रुप हो । ‘लघु’ भन्ने बित्तिकै कुनै पनि वस्तुको एउटा सानो अंश भन्ने बुझाउँछ । जस्तै काँक्रोको लघु रुप चिरो, पानीको थोपो , भातको सितो आदि बुझाए जस्तै यसरी नै नामाकरण गरिएको कविताको लघुतम रूप शीत हो । मेरो बुझाइमा यस उपविधाले छोटो समयमा नै धेरै फड्को मारिसकेको छ ।

मैले यसलाई ‘चटनी’ शब्दले बुझ्न थालेकी छु । चट्नी थोरै हुन्छ तर मिठो, जिब्रो पड्काई पड्काई रसास्वादन गर्छौं त्यस्तै शीत कविता पनि रहेको छ । पहिला दुई अक्षरबाट सुरु भई अष्टाक्षरीमा पुगेपछि एउटा झट्का दिन पुग्छ र शीत वन्दछ । नेपालगञ्जकी नारी स्रष्टा दिला शाहले शीतलाई टिकटकको संज्ञा दिदै सामाजिक संजालमा लेख्नु भएको – “जसरी छोटो समयमै टिकटकलाई सबैले मन पराउनु भयो त्यस्तै शीतलाई पनि ।”
टिकटक या चटनी जे भनौं धेरै भन्दा धेरै धेरै स्रष्टाहरूद्वारा शीत लेखन कार्य भईरहेको छ । स्थापित कविहरूद्वारा समेत उत्कृष्ट शीतहरू लेखिएका छन् । मेरो विचारमा – जसरी भू-गर्भबाट खनिज तत्व छानी निकाल्दछौँ त्यसैगरी भाषाको सागर वा गर्भबाट शीतरुपी शब्द चयन गर्न सक्छौ र पूर्ण शीत बन्दछ । शब्द चयन मिल्नपुगेमा चट्नी बन्न पुग्छ ।

शीत विभिन्न छन्द, रस, अलङ्कार, बिम्ब, प्रतीक र व्यङ्ग्य अर्थका साथै अविधा, लक्षणा र व्यञ्जनात्मक शक्तिका रुपमा पनि लेख्न सकिन्छ । यसलाई मुक्त र वद्घ दुबै शैलीमा रचना गर्न र मानवीकरण गरी सिगार्न, घुमाउन र नचाउन डुलाउन पनि सकिन्छ ।शीतमा चार पङ्तिले छुट्टा छुट्टै अर्थ दिन्छ । पहिलो विषयवस्तु उठान, दोस्रो र तेस्रो पङ्तिले थपव्याख्या र चौथोले तर्क वा सारमा गएर टुङ्गिन्छ । पौराणिक,  एैतिहासिक, सामाजिक , राजनैतिक र चारित्रिक साथै समसामयिक विविध क्षेत्रबाट समेत बिम्ब छनौट गर्न सकिन्छ । त्यसैगरी तत्सम, तद्भव आगन्तुक शब्दहरूको प्रयोग गर्न सकिन्छ र अनुप्रास मिलाएर शीतकाव्य रचना गर्दा सुनमा सुगन्ध नै हुन्छ । शीत अनुप्राश मिलेका, नमिलेका, कथात्मक , दोहरी , अन्ताक्षरी आदि गरी बिसौं भन्दा बढी नियम, सूत्रहरूमा लेख्न सकिन्छ । शीतका केही दृष्टान्तहरू हेरौं र टिकटक जस्तै शीतलाई प्रचार प्रसारमा ल्याइ लघुतम काव्य शीत सिर्जनामा लागौं ।
शीत
मेरी
मन्की
रानी।१।

प्यास
लाग्दा
खान्छु
पानी ।२।

शिव
देव
धर्ती
आऊ।३।

गौरी
पारु
भन्दै
गाऊ।४।

माता
पिता
मन
भित्र।५।

हुन्छ
यहाँ
गाई
जात्रा।६।

शुद्घ
हुन्न
लेख्दा
मात्रा।७।

रिडी
देव
हिँडी
जाऊँ।८।

चार
धाम
हाम्रा
नाम।९।

देखी
आएँ
सब
जान।१०।

हुनु
हुन्न
शीत
युद्घ।११।

पर्छ
हुन
महा
बुद्घ।१२।

( लेखक ’ शीत काव्य समाज नेपाल ’ को राष्ट्रिय कोषाध्यक्ष हुन् ।)


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...