कमला महत – नेपाली साहित्यकार विश्व सञ्जाल द्वारा गजलकार डा. घनश्याम परिश्रमीको ६४ औ जन्मदिवस सम्मान र गजल वाचन सहित सम्पन्न गरेको छ । वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको प्रमुख अातिथ्य र कमला महतको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार परिश्रमीको ममतामयी आमा तारादेवी न्यौपाने द्वारा दोसल्ल्ला ओढाएर र प्रमुख अतिथि गोविन्द राज बिनोदी द्वारा सम्मान पत्र पढेर डा. परिश्रमीलाई सम्मान गरिएको थियो।
बिश्वभर छरिएर रहनु भएका नेपालीभाषी साहित्यकारहरूलाई नेपाली साहित्यकार नामक विश्व सञ्जालले फेसबुक मार्फत यौटै छाता मुनी जोडेर म्यासेन्जरमा नेपाली साहित्यका विविध विधाका अग्रज प्रशिक्षकहरूद्वारा निरन्तर अभ्यास गराईरहेको छ र नेपाली साहित्यका विविध विधा नबुझेर वा बाटो बिराएर अन्यौलमा परेका र सिक्न चाहने सर्जकका लागि नमुना पाठशाला बनेको छ।यस समुहले नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा अतुलनीय योगदान दिनुहुने आदरणीय अग्रजहरूलाई सम्मानको संस्कार पुस्तान्तरण गर्न जिवित छँदै जन्म दिवस मनाएर सम्मान गर्ने संस्कारको थालनी गरेको छ।
प्रमुख अतिथि वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले डा.घनश्याम न्यौपाने परिश्रमीलाई ६४औ जन्म दिवसको मंगल कामना गर्दै शुभकामना व्यक्त गर्दै जीवनको कारुणीक पक्षको उद्घाटन गरी अत्यन्त मार्मिक गजल लेख्नु हुने डा.घनश्याम अन्तराष्ट्रिय जगतकै अत्यन्त उच्च गजलकार, प्राज्ञ भनेर प्रशंसा गरे । प्रमुख अतिथिको कथन थियो, प्राज्ञ हुनलाई प्रज्ञा प्रतिष्ठानका सदश्य मात्र हुन पर्दैन परिश्रमी जी हामी सबैको प्राज्ञ व्यक्तित्व भएको र नेपाली साहित्यका हरेक विधामा उत्तिकै शशक्त कलम चलाउने व्यक्तित्व भन्दै कविता, भूमिका लेखन, समालोचना, मुक्तक, निबन्ध आदि दर्जनाै विधामा लेख्न सक्ने व्यक्तित्व मात्रै नभएर सबै भन्दा ठूलो उहाँ राष्ट्रभक्त, स्वाभिमानी, सरलता,आफ्नो निर्णयमा दृढ व्यक्ति र शब्द यात्री हुनुका साथै नेपाली गजलका विद्वत्त व्यक्ति नेपाली गजल पुनर्जागरणका प्रमुख हस्ति भन्दै यस्ता व्यक्त्तित्वको उचित सम्मान गर्दै यो जटिल परिस्थितिमा पनि प्रविधिको प्रयोग गरेर यस्तो अतुलनीय कार्य गर्ने नेपाली साहित्यकार विश्व सञ्जाल तथा कवि गजलकार स्पन्दन विनोदलाई धन्यवाद दिए ।
विशिष्ठ अतिथि- गजलविद्वच्छिरोमणि तथा आजका कार्यक्रमका मुख्य आकर्षक डा घनश्याम परिश्रमी, कवि कविराज पौडेल, गजलकार देवी पन्थी तथा रचना वाचनका लागि उपस्थित आदरणीय साहित्यकारहरू सबैले जीवित तै छँदा जन्मदिन मनाउने र आदरणीय व्यक्तित्वको उच्च सम्मान गर्ने परिपाटीको थालनी गर्ने नेपाली साहित्यकार विश्व सञ्जालका परिकल्पनाकार तथा कवि गजलकार स्पन्दन विनोदको खुलेर प्रशंसा गरेका थिए ।
छन्द अभियन्ता कविराज पौडेलले गजल लेखनमा प्रवर्द्वन गर्ने नेपालमा गजलको सैद्धान्तिक र सिर्जनात्मक दुवै पक्षलाई एकै साथ लिएर अघि बढ्ने प्रेरक व्यक्तित्व एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतकै गजल र छन्द दुवैका उज्ज्वल नक्षत्र हुन् र १४,१५ वर्षकै कलिलो उमेर देखि नेपाली भाषा र साहित्यको अनवरत सेवा गर्नु हुने डा.घनश्याम अत्यन्त सम्मानित धरोहर भएको बताए ।
मोतिभट्ट द्वारा सुरु गरिएको गजल विभिन्न विसंगतिहरूमा रुमलिरहेको समयमा गजलको पुनर्जागरणका लागि लेखेर हरेक क्षेत्रमा पुगेर अद्वितीय योगदान गरेका डा.घनश्याम न्यौपाने गजलका लागि मरि मेट्ने र नेपाली साहित्यका हरेक विधामा उत्प्रेरणा जगाउने यस्तो आदरणीय व्यक्तित्वको यसरी जन्मदिन मनाएर सम्मान गर्ने चलन सह्रानीय कार्य भन्दै गजलकार देवी पन्थीले यो परिपाटी सुरुवात गर्ने नेपाली नेपाली साहित्यकार विश्व सञ्जाल र स्पन्दन विनोदको खुलेर प्रशंसा गरे ।
गजलमा महिला सौन्दर्य र प्रेम मात्र होइन सामाजिक विषयबस्तु लिएर पनि गजल लेख्न सकिन्छ भन्ने कुराको वीजारोपण गर्ने व्यक्ति हुन् उहाँको यो योगदान नेपालले मात्र होईन विश्व साहित्य ले नै भुल्न सक्दैन। अंग्रेजीमा पनि गजल लेख्न कसरी सकिन्छ भनेर सिद्धान्त बनाएको श्रेय पनि डा. घनश्याम परिश्रमीलाइ नै जान्छ ।
उक्त कार्यक्रममा आमा- तारादेवी न्यौपाने, अर्द्धांगिनी – राधादेवी न्यौपाने सहित सपरिवारद्वारा जुम लाईभमै शुभकामना आदान प्रदान गरिएको थियो यो मनमोहक खुशीयाली साँच्चै हेर्न लायक र उत्साहले भरिएको थियो।
किरण प्रभाती , नेपाल
सीता पन्त कडेल , नेपाल
रिता पोखरेल , नेपाल
सत्यराज जोशी, नेपाल
शिव त्रिपाठी , नेपाल
सीता घिमिरे पौडेल, बेलायत
सरु बस्नेत, नेपाल
बाल कुमारी घिमिरे , अमेरिका
चिरन्जिवी सिग्देल , नेपाल
सुशिला शर्मा, नेपाल
कमला महत, नेपाल
सबैले डा. परिश्रमीकै नव कृति “निभेका शिखा”बाट गजल वाचन गरेका थिए। यसरी नेपाली साहित्यकार विश्व सञ्जालले राष्ट्रका महान व्यक्तित्व हरूलाई जिवितैमा उच्च सम्मान गरी जन्मदिवस मनाउने, रथारोहण गर्ने जस्ता कार्यहरू रहेको सञ्जालका परिकल्पनाकार स्पन्दन बिनोदले बताए ।
उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथिलाई मायाको चिनो, कार्यक्रममा उपस्थित हुनुभई गजल वाचन गर्नुहुने सबैलाई सम्मान स्वरुप प्रसंसा पत्र दिईने कुरा स्पन्दन बिनोद अवगत गराए। प्रविधिमा कुमार शर्माले सहयो गरेका थिए ।
अन्यमा सबैलाई धन्यवाद दिँदै यहाँहरूको मायाले अत्यन्त हर्षित छु भन्दै डा.घनश्याम न्यौपाने परिश्रमीले हर्षका साथ पुन: शुभकामना आदान प्रदान गरी कार्यक्रम समापन भएको थियो।कार्यक्रम करिब ४ घण्टा लामो चलेको थियो।