Wednesday 26th June 2024

लामो समय किन स्थिर रह्यो कोरोना संक्रमण ?


तीतोपाटी डटकम-१३ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर फैलिएपछि गरिएको निषेधाज्ञा अघिल्लो साताबाट केही खुकुलो भएको छ । आगामी साताबाट जोर विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात पनि खुला गर्ने तयारी छ ।

दोस्रो लहर पिकमा पुगेका बेला ९ हजार आसपास रहेको दैनिक थपिने नयाँ संक्रमितको संख्या दुई हजार आसपासमा आइपुगेको छ । संक्रमण दर पनि करिब ४५ प्रतिशतबाट घटेर २० प्रतिशत हाराहारीमा आएकाले लकडाउन खुकुलो बनाउनु स्वभाविक देखिन्छ ।

तर पछिल्लो चार साताको तथ्यांकलाई हेर्दा कोरोना संक्रमण दर २० प्रतिशतभन्दा माथि नै छ । जोखिम अझै कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डहरु राम्ररी पालना नभए तेस्रो लहर आउन सक्ने चेतावनी जनस्वास्थ्यविद्हरुले दिइरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १७–२३ गतेसम्म १ लाख २७ हजार ६५६ जनाको नमुना (आटी–पीसीआर र एन्टिजेन) परीक्षण गर्दा ३८ हजार १६२ जनामा संक्रमण पुष्टि भएको थियो । अर्थात संक्रमण दर २९.८९ प्रतिशत रह्यो । जेठ २४–३० गतेसम्म १ लाख ९ हजार ५१४ नमुना परीक्षण गर्दा २७ हजार २५९ जनामा संक्रमण पुष्टि भएको थियो । यसरी हेर्दा यो साता संक्रमण दर २४.८९ प्रतिशत भयो । जेठ ३१–६ असारसम्म ८९ हजार २७४ नमुना परीक्षण गर्दा १८ हजार ७०९ जनामा संक्रमण पुष्टि भएको थियो । अर्थात संक्रमण दर २०.९६ प्रतिशत रहेको छ ।

पछिल्लो हप्ता अर्थात लकडाउन खुलुको भएको असार ७–१३ गतेसम्म ७८ हजार १६० नमुना परीक्षण गर्दा १८ हजार १२६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ । यो साता संक्रमण दर अघिल्लो साताको तुलनामा ३ प्रतिशतले बढेको छ ।समग्रमा हेर्दा पछिल्लो चार साता संक्रमण दर २०–३० प्रतिशत वरपर अर्थात स्थिर रहेको देखिन्छ ।

लामो समय किन स्थिर रह्यो कोरोना संक्रमण ?

संक्रामक रोग विशेषज्ञ डा.प्रभात अधिकारीका अनुसार नेपालमा फैलिएको डेल्टा भेरियन्ट र यसको म्युटेसन (डेल्टा प्लस) बढी संक्रामक छ, जसले संक्रमण समुदायमा चाँडो फैलाउँछ ।‘डब्ल्यूएचओले पनि डेल्टा भेरियन्ट बढी संक्रामक छ भनेको छ । डेल्टाबाट म्यूटेसन भएको डेल्टा प्लस भेरियन्ट पनि बढी संक्रामक छ,’ डा. प्रभात अधिकारीले भने, ‘समुदायमा अझै संक्रमणको जोखिम कायमै छ । सामान्य हेलचेक्राइ पनि संक्रमण बढ्नसक्छ ।’

दोस्रो लहरको सुरुवाती अवस्थामा मानिसहरुले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरेका कारण संक्रमण घट्यो । निषेधाज्ञा खुकुलो भएपछि सर्वसाधरणले पनि हेलचेक्र्याइ गर्न थालेकाले संक्रमण अपेक्षा गरेअनुसार नघटेको उनको तर्क छ ।

लामो समयदेखि संक्रमण दर एउटै तहको वरपर देखिनुले संक्रमण अझै पनि समुदायस्तरमा फैलिरहेको छ भन्ने देखाउने उनी बताउँछन् । डेल्टा भाइरसको संक्रामक क्षमता बढी भएका कारण यसले आफ्नो फैलावटलाई जारी राखेको र यसमा सर्वसाधरण नागरिक र राज्य पक्ष दुवैको जिम्मेवारी उत्तिकै रहेको उनी बताउँछन् ।

‘डब्ल्यूएचओले पनि डेल्टा भेरियन्ट बढी संक्रामक छ भनेको छ । डेल्टाबाट म्यूटेसन भएको डेल्टा प्लस भेरियन्ट पनि बढी संक्रामक छ,’ डा. अधिकारीले भने, ‘समुदायमा अझै संक्रमणको जोखिम कायमै छ । सामान्य हेलचेक्राइ पनि संक्रमण बढ्नसक्छ ।’

निषेधाज्ञाको समयमा सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी उपायहरु अवलम्बन गर्न नसकेका कारण पनि संक्रमण अपेक्षाकृत नघटेको अर्का संक्रामक रोग विशेषज्ञ डा किरणराज पाण्डेले बताउँछन् ।

कसरी घटाउने संक्रमण दर ?

संक्रामक रोग विशेषज्ञ डा. पाण्डे, दुई कदम अघि बढेर कोरोना नियन्त्रणका उपायहरु अपनाउन सके मात्रै संक्रमण घट्ने बताउँछन् । ‘परीक्षण एकदमै कम छ । दुई कदम अघि बढेर नियन्त्रणका उपायहरु अपनाउन सकेको भए संक्रमण अवश्य अपेक्षकृत घट्थ्यो,’ डा. पाण्डेले अनलाइनखबरसँग भने, ‘तर त्यो हुन सकेको छैन ।’

निषेधाज्ञालाई मात्रै संक्रमण नियन्त्रणको मुख्य उपाय सोचिए त्यो गलत हुने उनले बताए । सरकारले निषेधाज्ञा खुकुलो बनाए पनि परीक्षण दर भने बढाउन नसकेको उनले बताए । कोरोना परीक्षण दैनिक चार/पाँच गुण बढाएर संक्रमितलाई आइसोलेट गराउन सके संक्रमण घटेर ५ प्रतिशतमा आउने उनको विश्वास छ । ‘दोस्रो लहरको सुरुवाती समयमा परीक्षण गर्ने क्षमता नै थिएन । तर अहिले सरकारसँग परीक्षण गर्ने क्षमता छ । तर त्यसको उपयोग भएको छैन,’ डा पाण्डेले भने, ‘परीक्षणका लागि स्थानीय निकायलाई परिचालन गर्न सकिन्छ । तर प्रभावकारीढंगले परिचालन गर्न सकेको अवस्था छैन । त्यसतर्फ सरकारले ध्यान जानु आवश्यक छ ।’

सर्वसाधरण नागरिकले पनि अनिवार्य मास्क लगाएर मात्रै हिँडडुल गर्ने, आ–आफ्नो काम गर्ने लगायतका दैनिक कार्य गरे लकडाउन जतिकै प्रभावकारी हुने डा पाण्डेको भनाइ छ । दुई तीन हप्ताको प्रक्षेपण गरेर परीक्षणलाई चार/पाँच गुणा बढाउन सकिए संक्रमण दर घट्ने उनको विश्वास छ । ‘अहिले संक्रमण गाउँगाउँमा बढेको छ । समयमै परीक्षण हुन पाएको छैन । परीक्षण गर्न पाइहाले पनि उपचार नपाउने अवस्था छ,’ डा पाण्डेले भने, ‘यस्तो गम्भीर अवस्थालाई मध्यनजर राखेर संक्रमणको रोकथाम तथा नियन्त्रणका उपाय अपनाउनु जरुरी छ ।’

अर्का संक्रमण रोग विशेषज्ञ डा. अधिकारी संक्रमण घटाउन मुख्यतः चार सुझाव दिन्छन् :

पहिलो : क्लस्टर लकडाउन

डा अधिकारीका अनुसार संक्रमण नियन्त्रणका लागि ‘क्लस्टर आइडिफिकेसन’ विधि अपनाएर लकडाउन गर्न सुझाव दिन्छन् । देशभर एउटै रुपमा लकडाउन गर्नु उपयुक्त नहुनेको उनको भनाइ छ ।

संक्रमणको ‘हटस्पट’ पहिचान गरेर सो क्षेत्रलाई सिल गर्नुपर्छ । जोखिम क्षेत्रलाई सिल गरेपछि मास्टटेस्टिङ गर्नुपर्छ । संक्रमितको पहिचान गरेर आइसोलेट गर्नुपर्छ । जबसम्म नियन्त्रण हुँदैन तबसम्म लकडाउन खोल्नु हुँदैन । जोखिम न्यूनिकरण भएपछि मात्रै लकडाउन खोल्नुपर्छ । हटस्प्ट पत्ता लगाउनका लागि कहाँबाट संक्रमण बढी आइरहेको छ भनेर विश्लेषण गर्नुपर्छ । सोही आधारमा जोखिम क्षेत्रको पहिचान गरेर ‘टार्जेटेड लकडाउनको अवधारणा अगाडि बढाउनुपर्छ । यी सबै उपाय सरकारी पक्षले गर्नु पर्दछ ।

दोस्रो : प्रभावकारी परीक्षण

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । कोरोनासँग मिल्दोलक्षण देखिए तुरुन्तै परीक्षण गर्नुपर्छ । संक्रमण पुष्टि भएमा आइसोलेट भएर बस्नुपर्छ । आफूसँग क्लोज कन्ट्याक भएकालाई पनि परीक्षण गर्न सुझाव दिनुपर्छ । यसरी नागरिक स्वयं सचेत भए संक्रमण रोक्ने कार्य प्रभावकारी हुन्छ ।

तेस्रो : कन्ट्याक ट्रेसिङ

कोरोना रोकथामका लागि सरकार र नागरिकको सहकार्य जरुरी छ । यसले कन्ट्याक ट्रेसिङ गर्दा संक्रमितको पहिचान हुन्छ । जसले संक्रमित आइसोलेट भएर बस्न सघाउँछ । समुदायमा थप संक्रमण हुनबाट जोगाउँछ । अन्य रोकथामका उपायहरु अपनाउन सहज हुन्छ ।

चौथो : सबै नागरिकलाई खोप

कोरोना रोकथाम तथा नियन्त्रणको मुख्य उपाय भनेको सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउनु हो । सबै नागरिकले खोपको व्यवस्था गर्न सके यसको संक्रमण रोकथाम गर्न सकिने डा. अधिकारी बताउँछन् । तर सबै नागरिकले खोप पाउन सक्ने अवस्था छैन ।

यस्तोमा उच्च जोखिम भएका व्यक्तिलाई एक डोज मात्रै दिन सकिए पनि प्रभावकारी हुने देखिएको संक्रमक रोग विशेषज्ञ डा. अधिकारी बताउँछन् । उनका अनुसार पछिल्लो अध्ययनले एक डोज मात्रै खोप लगाउँदा पनि संक्रमणबाट बच्न सकिने देखिएको छ । ‘भ्याक्सिनको पहिलो डोज लगाउने संख्या बढाउनु उत्तम हुन्छ । पहिलो डोजले पनि प्रभावकारिता छ भन्ने अध्ययनले देखाएको छ,’ डा. अधिकारी भन्छन्, ‘डेल्टा भेरियन्टमा पनि एक डोजको प्रभावकारिता छ भन्ने अध्ययनले देखाएको छ ।’

यस्तै एकपटक संक्रमण भइसकेका व्यक्तिलाई छ महिनासम्म खोप नलगाए पनि हुने डा अधिकारी बताउँछन् । ‘एकपटक संक्रमण भइसकेका व्यक्तिमा एन्टिबडी बनिसकेको हुन्छ । जुन भ्याक्सिनभन्दा बढी प्रभावकारी छ भन्ने अध्ययनले भनेको छ’ डा. अधिकारीले भने ।

संक्रमित व्यक्तिहरुको शरीरमा विकास हुने एन्टीबडीले कम्तीमा तीनमहिनादेखि ६ महिनासम्म सुरक्षित राख्ने उनको भनाइ छ । ‘संक्रमण भएका व्यक्तिलाई खोप दिनुभन्दा उनीहरुको ठाउँमा बढी जोखिम भएका नागरिकलाई एकडोज दिँदा पनि उत्तम हुने उनको तर्क छ ।

तर भ्याक्सिन व्यवस्थापनमा चूनौती रहेको डा. पाण्डे बताउँछन् । ‘सरकारले खोप आपूर्तिका लागि प्रयास गरी नै रहेको भन्ने छ । तर खोप आपूर्ति हुन सकिरहेको छैन’ उनले भने, ‘खोप आपूर्तिका लागि खोप उत्पादक मुलुकहरुसँग प्रभावकारी समन्वय गर्नुपर्ने देखिन्छ ।’

कहिलेसम्म लकडाउन ?

सबै नागरिकले कोरोनाविरुद्ध खोप नलगाएसम्म लकडाउन लगाउने प्रक्रिया नरोकिने डा अधिकारी बताउँछन् ।

‘निषेधाज्ञा लगाएको झण्डै तीन महिना पुग्न थालिसक्यो, नागरिकहरुको जीवन यापनमै समस्या आउन थालिसक्यो,’ डा किरणराज पाण्डेले भने, ‘रोजीरोटी नै खोस्ने गरी निषेधाज्ञालाई निरन्तरता दिनु उपयुक्त हुँदैन । जीवन यापनलाई सहजीकरण हुने गरी लकडाउन खोल्नु जरुरी छ ।’
संक्रमण बढ्दा लकडाउन गर्ने र घट्दा हटाउने प्रक्रिया विश्वव्यापी अभ्यास रहेको भन्दै उनले छिटोभन्दा छिटो सबै नागरिकलाई भ्याक्सिनको व्यवस्था गर्नुपर्ने सुझाव दिन्छन् । ‘अन्य मुलुकमा जस्तै नेपालमा पनि लकडाउन लगाउने र खोल्ने प्रक्रिया चलिरहन्छ,’ संक्रामक रोग विशेषज्ञ डा अधिकारी भन्छन्, ‘अर्थव्यवस्था पनि चलायनमान बनाउनु पर्‍यो । सबै नागरिकमा बाँच्न पाउने अधिकार हुन्छ । त्यसैले संक्रमण घट्दा खुकुलो बनाउने र बढ्दा कडाइ गर्नुपर्ने हुन्छ । तर यो उत्तम विकल्प भने होइन ।’

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिने लकडाउन/निषेधाज्ञाबाट सँधैका लागि छुट्कारा पाउने एक मात्रै विकल्प भनेको भ्याक्सिन मात्रै भएको उनको भनाइ छ ।

डा पाण्डेले लकडाउनलाई निरन्तरता दिनुपर्ने अवस्था भए समस्यामा परेका नागरिकको गाँसबासको व्यवस्थापन हुने विकल्प खोजेर मात्रै लगाउनु पर्ने सुझाव दिन्छन् । ‘निषेधाज्ञा लगाएको झण्डै तीन महिना पुग्न थालिसक्यो, नागरिकहरुको जीवन यापनमै समस्या आउन थालिसक्यो,’ डा पाण्डेले भने, ‘रोजीरोटी नै खोस्ने गरी निषेधाज्ञालाई निरन्तरता दिनु उपयुक्त हुँदैन । जीवन यापनलाई सहजीकरण हुने गरी लकडाउन खोल्नु जरुरी छ ।’

जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरेर आर्थिक गतिविधि चलायमान गर्न सकिने उनको सुझाव छ । ‘डब्ल्यूएचओले संक्रमण दर ५ प्रतिशतभन्दा कममा झरेपछि संक्रमण नियन्त्रणमा रहेको बुझ्नुपर्ने बताएको छ,’ डा पाण्डेले भने, ‘तर यहाँ लामो समयदेखि २० प्रतिशतभन्दा माथि छ । यो त संक्रमण उच्च जोखिममै भएको अवस्था हो ।’ संक्रमण दर ५ प्रतिशतभन्दा कम नभएसम्म मनोरञ्जनका क्षेत्र, भिडभाड हुने क्षेत्र लगायत जोखिम निम्त्याउने अन्य क्षेत्रभने सञ्चालन गर्न नहुने उनको सुझाव छ ।

तेस्रो लहरको सम्भावना कति छ ?

संक्रमण उच्च जोखिमकै विन्दुमा स्थिर रहेकाले कोरोना संक्रमणको तेस्रो लहर आउने सम्भावना प्रवल रहेको डा अधिकारी बताउँछन् ।

डेल्टा र डेल्टा प्लस अत्याधिक संक्रामक रहेको र समुदायमा अझै पनि संक्रमण फैलिरहेको अवस्थामा तेस्रो लहर आउने जोखिम कायम रहेको उनी बताउँछन् । ‘सबै नागरिकले भ्याक्सिन लगाउन पाएका छैनन् । सबै नागरिकमा इम्यूनिटी पावर विकास पनि भइसकेको छैन । समुदायमा संक्रमण उच्च अवस्थामै छ । लकडाउन खुकुलो भइसकेको अवस्था छ । संक्रमण घट्यो भन्दै सर्वसाधरण नागरिक पनि हेलचेक्र्याइ गरिरहेका छन् । यस्तो अवस्थामा तेस्रो लहर नआउला भन्न सकिँदैन’ डा. अधिकारीले भने ।
@अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

चन्द्रमामा पहिला अन्वेषण नगरिएको पृष्ठभागबाट माटो र पत्थरका दुर्लभ नमुनाहरू सङ्कलन गरेर चिनियाँ अन्तरिक्षयान 'चाङ्ग‍-अ सिक्स' पृथ्वीमा फर्किएको छ। 'चाङ्ग‍'अ…

आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जन बालयौन दुराचारमा दोषी ठहर भएका छन् । जिल्ला अदालत सर्लाहीले सोमबार बम्जनलाई दोषी…

पुष्कर अथक रेग्मी - नमस्ते आधुनिक लघुकथा मञ्चको छैठौं वार्षिकोत्सबको अवसरमा दोस्रो दिन मञ्चको वालमा लघुकथाकार लक्ष्मण अर्यालद्वारा लिखित एवं…

प्रतिकृयाहरू
...