Sunday 12th January 2025

उज्वलले भनेका थिएः ‘सबैलाई चटक मन पर्ने रहेछ, देश बनाउन मन कसैलाई छैन रहेछ’


तितोपाटी- उज्वल थापासँग मैले करिब एक दशक यतादेखि नजिकबाट सङ्गत गर्ने मौका पाएँ। तर यो दुःखको घडीमा खै कसरी उनीसँगको विगत स्मरण गरौँ ? केही व्यक्त गर्न सकिरहेको छैन्। उज्वलसँगका धेरै आयामहरू थिए। उनी एक पृथक् किसिमले सोच्ने र पृथक् किसिमले काम गर्ने मान्छे थिए। उनी समूहमा काम गर्न रुचाउँथे। व्यक्तिगत लालच नराख्ने मुलुकको रूपान्तरणका लागि २४ औं घण्टा खटिन सक्ने एक असाधारण व्यक्ति थिए। उनीसँग ‘अब के गर्ने ?’ भन्ने कार्यक्रमका सिलसिलामा काठमाडौंको ठमेलमा मेरो भेट भएको हो।

पहिलो संविधान सभाबाट संविधान नआएपछि हामी एउटा भिन्न अभियानमा जुटेका थियौं। जोडिएका थियौं। ‘अब के गर्ने ?’ भन्ने अभियान थालेका थियौं। सोही बेला हामीले विवेकशील नेपाली मञ्च बनायौं। त्यसपछि विवेकशील नेपाल दल भो र विवेकशील साझा पार्टीमा जोडियौं तर त्यहाँ धेरै समय सबै सँगै रहन सकेनौँ। त्यसपछि पनि म उज्वलसँगै रहेँ। उनको सोच र काम गर्ने दृढताबाट अलग हुन सकिन । उनको देहान्त भए पनि उनले सोचेका र लिएका लक्ष्यहरूसँग सधैँ साथ रहनेछु।

हुनत उज्वलको विराज विष्ट भन्ने साथीले पहिलो पटक मलाई भेट गराएका थिए । भेटपछिको वार्ताका क्रममा मेरो शैक्षिक पृष्ठभूमि सुनेपछि उज्वलले भनेका थिए-,‘नेपालमा पढे लेखेका धेरै छन् तर काम गर्ने मान्छे छैनन् । त्यसैले मैंले काम गर्ने दृढ मान्छे खोजेर हिँडेको हुँ।’ यही वाक्यांशले मलाई खुबै छोयो । त्यस बेला नै मैंले उनलाई आत्मीय सम्झिए र ‘तिमी’ भनेर सुरुवातमै सम्बोधन गरेको थिएँ । सङ्गत गर्दै जाँदा उनको खरोपना र दृढता खुबै मन पर्‍यो। ‘म मेरो मिसनमा छु जे चाहन्छु त्यसका लागि कसैसँग चाकडी गर्दिन’ भन्ने स्वभाव मेरो पनि भएकाले हामी जोडिन पुग्यौँ । म पनि पढाइ सकेर विदेशबाट फर्किएको थिएँ। फुर्सदमा थिएँ । त्यसपछि सहयात्रा सुरु गरेका थियौं।

त्यसबेला हामीले एउटा टिम बनायौं । उज्ज्वल क्याप्टेन र म सह-क्याप्टेन बनेर काम सुरु गरेका थियौं। पहिलो पटक हामीले ‘पहिलो सडक सन्देश’ अभियान सुरु गरेका हौं । खासमा आम नागरिकसँग पुग्नुपर्छ भनेर त्यो कार्यक्रम सुरु गरेका थियौं । सडकमा बस्ने, हिंडने, सडकमै जीवन चलाउने नेपालीहरूसँग अर्थात् भुइँमान्छेहरुसँग हामी जोडिन चाहन्थ्यौं। उनीहरूको सन्देश लिएर हिंडन चाहेका थियौं । हो त्यस बेला नै विवेकशील नेपाली अभियानमार्फत लुम्बिनी पदयात्रा गरेका थियौं। आम नागरिकले के खोजेको छन् त्यो हाम्रो अभियान थियो। उज्वलसँगको त्यसबेलादेखिको सहयात्राले मलाई धेरै प्रेरित गरेको हो।

व्यक्तिगत रूपमा नजिक भएपछि हामी घनिष्ठ भयौं। हामी खुबै रमाइलो गर्ने गर्दथ्यौं। ठट्टा गर्दथ्यौं। तर नीतिगत रूपमा कहिले मतभेद भएन। उज्वल कहिले नरिसाउने व्यक्ति थिए । उनमा विशेष गुण नै थियो। रिसाइहाले पनि भोलिपल्ट खुशी भएर बोलिहाल्ने बानी थियो उनको। उज्ज्वल जीवनशैली सारै सरल थियो। हाम्रो समकालीनहरूमा उनी सारै सादगी थिए। एक जोर जुत्ता धेरै समयसँग पहिरिएर हिँड्ने बानी थियो। मलाई स्मरण भएसम्म उनले नयाँ लुगा किनेको थाहा छैन। साथीहरूले दिएको लुगा उपहारलाई खुशी मानेर लाउने गर्थे। डेराको जीवन थियो उनको। एरिका अधिकारी र उज्वल डेरामा म धेरै पटक पुगेको छु। डेरामा बस्दा उनी खाना पकाउँथे। म भाँडा मस्काउँथे। मैले देख्दा र जान्दासम्म उनको डेरामा न पर्दा फेरियो, न बेडहरू फेरिए न कार्पेट फेरियो। उनको विचित्रको स्वभाव थियो। सारै सामान्य जीवन बिताउन चाहन्थे उनी। उनलाई मिठाइ सारै पर्ने अनि मःमः अत्यधिक खाने स्वभाव थियो । बासी भात तताएर पनि खाइदिने साँच्चै रमाइलो स्वभाव थियो उनको।

उनले मलाई सगरमाथा पदयात्रामा पनि सँगै जाऊँ भनेर अनुरोध गरेका थिए। तर म जान सकिन। उनीहरू आधार शिविर पुगेर फर्किए। उनीसँग पछिल्लो भेट पशुपतिको गुह्येश्वरी भएको थियो। त्यहाँ रमेश पौडेलजी, उज्वल र म बसेर धेरै बेर देश र समाजका बारेमा गफ गरेका थियौं । हाम्रो अभियानका बारेमा समीक्षा गरेका थियौं । पशुपति परिसरमा हिंडदै गर्दा भेटिएको चटकका बारेमा उज्वलले भनेका थिए-सबैलाई चटक मन पर्ने रहेछ, देश बनाउन मन कसैलाई छैन रहेछ भने हामीलाई ब्यङ्य गरेको अहिले सम्झन्छु । उनलाई सुगरको समस्या थियो तर गुलियो खुबै रुचाउँथे । त्यो भेटमा पनि हामी पशुपति मन्दिर अघिल्तिरको मिठाइ पसलमा बसेर पूरी-तरकारी खाएका थियौं । त्यो दिन उनले जेरी धेरै खाएका थिए । त्यसबेलासम्मको गुलियो र मिठो क्षण अन्ततः अमिलो बन्न पुग्यो । उनले संसार छाडेर गए पनि हामी उनको मार्ग र लक्ष्यलाई पछ्याइरहने छौं ।हाम्राकुराबाट

प्रस्तुतीः युवराज गौतम


सम्बन्धित शीर्षकहरु

राष्ट्रवादी नागरिक समाजले कुवेतमा नागरिक भेला सम्पन्न गरेको छ । कुवेतको मंगाफस्थित हातेमालो नेपाली रेष्टुरेण्टमा हिँजो १० जनवरी २०२५ शुक्रबारको…

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पोर्न स्टारलाई उनको विरुद्ध नबोल्नका लागि तिरेको मौन पैसाबाट उत्पन्न भएको आपराधिक अभियोगको नब निर्वाचित…

साउदी अरबका एक व्यक्तिले सामाजिक जमघटमा आफ्ना आठ जना छोरीहरूलाई सार्वजनिक रूपमा “उपहार” दिएका छन । उनले त्यसो गरेपछि साउदी…

प्रतिकृयाहरू
...