Friday 30th October 2026

कविताः पुत्ला जलाए पनि – छन्दः शार्दूलविक्रीडित -बद्री न्याैपाने ‘वैरागी’


सूत्र -sss iis isi iis ssi ssi s

तानाशाह चलेछ गाउँ घरमा, राजा ढलाए पनि ।
कोही हाँस्न सकेन बाहिर सदा, सत्ता चलाए पनि ।
छिर्छन् गाउँ चुनाव हुन्छ जब, यी गर्छौं बिकासै भनी ।
आफ्नो स्वार्थ लुटेर जान्छ सहजै, पुत्ला जलाए पनि ।

पैसा आउँछ खै विकास नहुने, कस्तो व्यवस्था बन्यो ।
गर्दैनौ कहिल्यै हिसाब किन हो, कस्ले नगर्नू भन्यो ।
जागेनन् कमरेड मस्त कहिल्यै, बाजा बजाए पनि ।
छाडेनन् लुटपाट गर्न, यिनको पुत्ला जलाए पनि ।

तानातान गरेर देश यिनले, खोक्रो बनाई सके ।
भ्रष्टाचार बढ्यो सधैं मुलुकमा, बस्ती गनाई सके ।
जान्छन् पात चुढेर आज किन हो, काया पलाए पनि ।
कोही पुग्न सकेन है महलमा, पुत्ला जलाए पनि ।

ठूलो भाग मिलेन खान कि कसो, नेता लड्यौ खै किन ।
कोही छुट्नु हुँदैन पुग्न पदमा, नाता र गोता गिन ।
आफ्नो सोच पुरा गरे सहरमा, नेता हुँ ठूलै भनी ।
केही दाल गलेन है हजुरको, पुत्ला जलाए पनि ।

माग्दै भोट चुनाव गर्ने रहर त्यो, कस्तो मजाकै भयो ।
लाटा छन् जनता अझै मुलुकमा, भन्ने जमाना गयो ।
खाए देश सबै मिली कुकुरले, ग्वाम्मै ढलाए पनि ।
जाऊ पिण्ड घिचेर बस्नु घरमा, पुत्ला जलाए पनि ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । न्यायालय नागरिकले अन्तिम भरोसा गर्ने संस्था हो। राज्यका अन्य निकायबाट न्याय नपाए अदालतको ढोका ढकढक्याउने नागरिकको विश्वास नै…

तेलअभिभ । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप तनावपूर्ण बनेको छ। निर्वाचनको अन्तिम…

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

प्रतिकृयाहरू
...