Wednesday 18th February 2026

विदेशमा रहेका युवायुवतीलाई लक्षित ‘गाउँ फर्क प्याराप्यारी अभियान’ शुरु


तितोपाटी- पर्वतको महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु भएको छ । रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार बनेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यस्तो कार्यक्रम शुरु गरेको हो । गाउँमै स्वरोजगार सिर्जना गर्ने र सोही पेशाबाट आत्मनिर्भर बन्न सकुन् भन्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि गाउँ फर्क प्याराप्यारी कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।

विदेशमा रहेका युवायुवतीलाई गाउँपालिकामा फर्काई स्वदेशमै केही गरी उत्पादन र आयआर्जनसँग जोडी उद्यमी बनाउन यो कार्यक्रम शुरु गरिएको हो । उनले भने, “यो कार्यक्रमअन्तर्गत कुनै उद्यम व्यवसाय गर्न चाहने युवायुवतीलाई ब्याजमा अनुदान दिइनेछ ।” गाउँपालिकाले बनाएको कार्यविधिअनुसार कम्तीमा तीन वर्षभित्र विदेशबाट फर्केर आएका युवायुवती समावेश हुनसक्ने अध्यक्ष पौडेलले जानकारी दिए ।

यसले बढ्दो पलायन र बेरोगार युवायुवती दुवैको दर कम गर्ने र गाउँपालिकामा रहेको गरिबीको दर घट्दै जाने गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए । यस्तो कार्यक्रममा सहभागी हुन चाहने युवायुवतीले पछिल्लो तीन वर्षभित्र विदेशमा बसिआएको प्रमाण खुल्ने कागजातको प्रतिलिपि, आफूले गर्न चाहेको व्यवसायको प्रस्तावना, ऋण लिने वित्तीय संस्थाको सहमतिपत्र गाउँपालिकामा पेश गर्नुपर्ने बताइएको छ ।

त्यसैगरी गाई, भैँसी न्यूनतम तीन वा सोभन्दा माथि, कुखुरा ५०० वा सोभन्दा माथि, बङ्गुर ३० वा सोभन्दा माथि, फलफूल तथा तरकारी खेती तीन रोपनी क्षेत्रफल वा माथि हुनुपर्ने छ । पालिकाले अधिकतम रु तीन लाखको १२ प्रतिशतको दरले अधिकतम दुई वर्षको अवधिका लागि ब्याज रकम अनुदान भुक्तानी दिने भएको छ । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन भएको गाउँपालिकाका प्रवक्ता उच्चैले जानकारी दिए । यस वर्ष ३० देखि ५० युवायुवतीलाई यो कार्यक्रममा समावेश गर्ने गरी आवेदन माग गरिएको समेत उनले बताए ।

यसैबीच गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै पेशा व्यवसाय गर्न इच्छुक युवायुवतीलाई १५ दिनभित्र आवेदन दिन माग गरेको छ । विशेषगरी कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती यो कार्यक्रमबाट लाभान्वित हुने पालिकाको विश्वास छ । विदेश गएका तर गतिलो कमाइ गर्न नसकेकासमेत यो कार्यक्रमपछि गाउँ फर्कने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले यसअघि ‘एक घर एक रोजगार’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोअन्तर्गत ६०० भन्दा बढीले रोजगारीसमेत पाइसकेका छन् । स्वयंसेवकको रूपमा रहेका उनीहरुले गाउँपालिकाभित्र सडक, साना सिँचाइ, स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका क्षेत्रमा काम गर्दै आएका छन् । उक्त कार्यक्रमले पनि रोजगारविहीन विपन्न नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण बनेको गाउँपालिकाका अध्यक्ष पौडेलले बताए।
साभार रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...