Monday 30th March 2026

बाह्रबिसे पहिरो अपडेटः मृतकको संख्या ९ पुग्यो, २२ बेपत्ता


तितोपाटी – अविरल वर्षासँगै शनिबार राती सिन्धुपाल्चोकको बाह्रबिसे-७ घुम्थाङमा हिँजो मध्यरातमा पहिरो जाँदा मृत्यु हुनेको संख्या नौ पुगेको छ। पहिरोमा अझै २२ बेपत्ता छन्। प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ।  पहिरोस्थलमा सात र भोटेकोसी तथा सुनकोसी नदीमा एक÷एकको शव भेटिएको हो। पहिरोमा ज्यान गुमाउनेमा नागपुजे गाउँका भक्तिमाया श्रेष्ठ (६३), ट्याक्से शेर्पा (९८), ज्ञानीमाया प्रधान (४२), भिरखर्क बिक टोलका जुनु बिक (२३), सुकुलाल बिक (२४), सन्देश बिक (८) तथा नेवार टोलका सर्किनी नेवार (६०), धनलाल नेवार (६५) र हिरामाया श्रेष्ठ (४२) छन्।

प्रहरीका अनुसार पहिरोमा भिरखर्क टोलका तीन, नागपुजेका १८ र नेवार टोलका एक जना पहिरोमा बेपत्ता छन्।

प्रहरीको प्रारम्भिक विवरण अनुसार पहिरोले ११ घर बगाएको छ। नागपुजेका सात, भिरखर्कका दुई र नेवार टोलका दुई घर पहिरोले बगाएको हो। बाक्लो बस्ती रहेको नागपुजेमा धेरै जनधनको क्षति पुगेको प्रहरीको अनुमान छ। दुई शव नदीमा भेटिएकाले बेपत्ता कतिपयलाई पहिरोले हुत्याएर नजिकको भोटेकोसी नदी पुर्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

शनिबार राती साढे दुई बजेतिर बाह्रविसे नगरपालिका–७ घुम्थाङमा बाक्लो बस्तीमाथिको भिरखर्कको ढिस्को खसेर पहिरो निम्तिएको हो। पहिरो बस्ती लछार्दै पाँच–सात सय मिटर  दुरीमा तल रहेको भोटेकोसी नदी पुगेको थियो। पहिरोको मुखैमा भिरखर्क र त्यसमुनि नागपुजे बस्ती छन्। नागपुजेमा बिक, नेवार लगायत टोल पर्छन्। अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयूक्त टोलीले बेपत्ताको खोजी गरिरहेको छ ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुगेका छन् । सभामुख सापकोटा स्थलमार्ग हुँदै घुम्थाङ पुगेका हुन् । सभामुख सँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायत नेताहरु पनि घटनास्थल पुगेका छन् ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...