हरिलाल शर्मा नाम सुबेदी हो थर
गलकोट नुवाकोट मेरो जन्म घर ।
अमेरिका मिसिगन विकसोम बास
यहाँ पनि कोरोनाको उस्तै छ है त्रास ।१।
कम्प्युटर इन्जिनियर हो है मेरो पेशा !
कहिले काँही कविताले नजर दिन्छिन् यता !
हाम्रो पाला शिक्षा बिधी अलि भिन्न थियो !
गलकोट मा.बि. बाट दश पास भयो ।२।
महेन्द्र त्यो बहुमुखी बागलुङ क्याम्पसमा!
आइ ए अनि बि ए पनि पढिकन घुम !
एम ए भने केन्द्रतिर कीर्तिपुर पर्यो !
अंग्रेजी साहित्यले स्वाद दिने गर्यो ।३।
श्रीधर सर अभि, पद्म, बिष्णु, सजग अनि !
संगीता र सन्जीव, गीता म सम्झन्छु पनि !
सरहरु पढाएको आज याद आयो!
त्यही अर्थ कविताले मूर्त रुप पायो ।४।
अमेरिका आएपछि रुप फेरिदिएँ!
मेडिकल कम्प्युटर पढ्न ब्यस्त भएँ !
स्कुलक्राफ्ट कलेजमा मेडिकल असिस्टेन्ट!
मिशिगन इष्ट्रनमा कम्पुटर स्टुडेन्ट ।५।
बाल्यकाल फाट्टफुट्ट सँस्कृतमा ध्यान!
रामकोट मन्दिरमा मिल्यो ठूलो ज्ञान !
दुर्गा अनि सिद्धिनाथ गुरुहरु सँग!
बेद,रुद्री, चण्डी पढ्दा भएको म दङ्ग ।६।
कौमुदी र अमरकोश छुने मौका मिल्यो!
ज्ञान आज कवितामा ठूलो मद्दत दियो !
नेपाल छँदा बिद्यालय पढाउन जान्थेँ !
कविता वाचन गर्न औधी जाती मान्थेँ ।७।
काका अनि मामा पनि बेद पाठ गर्ने !
उहाँहरु बोलाउँदा आफू जानु पर्ने !
त्यसैले त आज सक्छु पूजा लगाउन !
मन शान्त पार्न अनि दु:ख भगाउन ।८।
जिस्किएर रमाउने पर्यो आफ्नो बानी !
कहिले काहीँ ठट्टा गर्दा लट्टा पर्न जाने !
परिचय सबै मेरो सकिएको हैन !
सबैकुरा लेखौँ भने लेखी साध्य छैन ।९।
साथी धेरै बनाउन औधी मन पर्छ !
साहित्यले मन सफा शुध्द पारी दिन्छ !
मौका मिल्दा सँगै बसी कुरा गर्ने मन !
कविताले पुरा गर्यो खुशी लाग्यो झन ।१०।
हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।