Wednesday 27th August 2025

युनिसेफले न्यून आय भएका राष्ट्रहरूलाइ कोभिड-19 बिरूद्धको खोप खरिद गर्न सहजीकरण गर्ने


तितोपाटी – संयुक्त राष्ट्रसङ्घको बालबालिकासम्बन्धी निकाय युनिसेफले नेपालसहित निम्न आय तथा निम्नमध्यम आय भएका ९२ वटा देशका निम्ति कोभिड-19 बिरूद्धको खोप खरिद गर्न सहजीकरण गरिदिने जनाएको छ। कोभिड-१९ का सन्दर्भमा युनिसेफले एक विज्ञप्ति जारी गर्दै हालसम्म सञ्चालित विश्वकै सबभन्दा ठूलो र तीव्र संयन्त्रमा कोभिड-१९ को खोप खरिद तथा आपूर्तिको नेतृत्व गर्ने बताएको हो।

एउटा विज्ञप्ति जारी गर्दै युनिसेफले विभिन्न खोप उत्पादकहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिरहेको समयमा उसले कोभ्याक्स सुविधाको तर्फबाट ती देशहरूका निम्ति खोप खरिद गरी आपूर्ति गर्ने जनाएको छ। यसका साथै उसले ढुवानी, बन्दोबस्ती तथा भण्डारणको काम गर्ने बताएको छ।

उल्लिखित कार्यहरूका लागि युनिसेफले विश्व स्वास्थ्य सङ्गठन, गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल), विश्व ब्याङ्क, पीएएचओ (प्यान अमेरिकी स्वास्थ्य सङ्गठन), बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन लगायतका संस्थासँग सहकार्य गर्ने बताइएको छ।

निकट भविष्यमै उपलब्ध हुने कोभिड-१९ विरुद्धको खोप प्राप्त गर्नबाट कुनै पनि देश वञ्चित हुनुनपरोस् भनी कोभ्याक्स सुविधा सबै देशहरूका निम्ति खुल्ला गरिएको छ। कोभिड-१९ सम्बन्धी विभिन्न खोप निर्माताहरूले बनाइरहेका विभिन्न खोपको अनुसन्धान, विकास, उत्पादनमा सघाउ पुर्‍याउन तथा तिनको मूल्य निर्धारण गर्ने विश्वव्यापी मञ्चको रूपमा कोभ्याक्स गठन भएको हो। यसमा सहभागी सबै देशले खोपको विकास हुनेबित्तिकै त्यसमा समान पहुँच पाउने जनाइएको छ।

कोभ्याक्सको प्रारम्भिक लक्ष्य भनेको सन् २०२१ को अन्त्यसम्ममा खोपका दुई अर्ब डोज (मात्रा) उपलब्ध गराउनु हो। जोखिममा परेका मानिस तथा अग्रपङ्तिमा रहेका स्वास्थ्यकर्मीहरूलाई सुरक्षित पार्न त्यो पर्याप्त हुने उसले बताएको छ।

सोही कोभ्याक्ससँगको सहकार्यमा युनिसेफले खोपको बन्दोबस्तीमा सहजीकरण गर्ने बताएको हो।

खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीले नेपाल सहित निम्न आय भएका देशहरूमा स्वास्थ्यकर्मीहरूलाई तथा उच्च जोखिममा रहेका मानिसहरूलाई खोप दिलाउन, अनि ती देशमा आवश्यकताअनुसार आपूर्ति गर्न बफर स्टक बनाउन प्रारम्भिक पुँजी उपलब्ध गराउनेछ।

विकसित तथा धनी देशबीच खोपको सुविधा उपभोग सबभन्दा पहिले गर्न संसारमा प्रतिस्पर्धा चलिरहेका बेला गरिब तथा कमजोर मुलुकहरूका निम्ति यो सञ्जाल उपयोगी हुने बताइएको छ।

विश्वभरि नै खोप कार्यक्रममा युनिसेफ एक स्थापित र सबैको विश्वासयोग संस्था रहेको छ । करिब १०० देशको तर्फबाट नियमित खोप कार्यक्रमसहित महामारीको समयमा खोप उपलब्ध गराउनका लागि वार्षिक दुई अर्बको सङ्ख्यामा खोप खरिद गर्ने विश्वकै ठूलो खरिदकर्तामा युनिसेफ पर्छ।

“आफ्नो बजार विश्लेषण तथा खरिद कार्यसम्बन्धी विज्ञता उपयोग गर्दै युनिसेफले कोभ्याक्स सुविधाको लागि कोभिड-१९ विरुद्धको खोप खरिद एवं आपूर्ति कार्यका लागि समन्वय गर्नेछ,” विज्ञप्तिमा उल्लेख छ।

नेपालमा पनि युनिसेफ सरकारको राष्ट्रिय खोप कार्यक्रमको एउटा मुख्य साझेदार हो। उसले नेपालभरि खोप सेवा प्रवाह सुदृढ पार्न प्राविधिक तथा वित्तीय सहयोग दिँदै आएको छ।


सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...