Thursday 16th May 2024

डल्लीः यथार्थ बोकेको सामाजिक कथा -शुक्रअस्त


शुक्रअस्त – हाम्रो घरको झ्यालबाट उसको घर देखिन्थ्यो । घरको मूलढोका उत्तरतिर फर्केको हुनाले पछाडिपट्टीको भित्तामात्र देखिन्थ्यो । हामी एउटै स्कुलमा पढ्ने भए पनि कक्षा फरक भएकोले बोलचाल हुन्नथ्यो तर म उसलाई हेर्न चाहिँ हेर्थे बेला बेलामा लुकेर भए पनि ।

आकाशे रंगको हाफ बाहुले कमीज र नीलो फ्रकमा उसलाई राम्री देख्थें म । खुट्टामा भने कहिले पुरानो सेतो जुत्ता त कहिले नीलो रंगको चप्पल हुन्थ्यो तर पानी पर्ने सिजनमा भने ऊ खाली खुट्टामा नै देखिन्थी । हाम्रो घरबाट उसको घर देखिए पनि म कहिले पनि उसको घरमा गएको थिइन । बीचमा एउटा सानो धुलौटे बाटो थियो जुन मलाई कहिले पनि मन परेन ।

स्कुलमा उसको नाम के थियो मलाई याद छैन तर सबैले “डल्ली” भनेर बोलाउँथे तर ऊ उसको नाम जस्तो डल्ली थिइ भन्ने मलाई लागेन । अलिक मोटी चाहिँ थिई । स्कुलमा लाइन बस्दा जहिले पनि ऊ अगाडि हुन्थी र फुटेका राता गालामा खोपिल्टा पर्ने गरी हाँस्थी मलाई देख्दा । मेरो मनमा ऊ प्रति के भावना थियो म अहिले पनि स्पष्ट भन्न सक्छु तर त्यति बेला भन्न सक्दिनथें ।
एक दिन स्कुलको लाईनमा नदेख्दा भने केही अपुग जस्तो लाग्थो तर बिदाको दिन भने मलाई उसको याद कहिले पनि आएन ।

गाउँको स्कुलमा कक्षा ५ सम्म मात्र पढाइ हुने भएकोले ५ पास गरेर म सदरमुकामको स्कुलमा जान थालें । खासै टाढा त थिएन तर डल्लीको स्कुल र मेरो स्कुलको बाटो भने फरक पर्‍यो । नयाँ स्कुलको लाईनमा पनि मेरा अभ्यस्त आखाँले डल्लीको त्यो खोपिल्टो पर्ने राता गालाको अभाव महसुस गर्‍यो तर त्यतिबेला मलाई लाग्दैनथ्यो कि त्यो ऊ प्रतिको झुकाव वा अरु केही थियो भनेर । तैपनि मनमनै सोच्न थाल्थें – अर्को वर्ष त ऊ पनि त यही स्कुलमा आउने नै हो नि ।

कक्षा ६ को अन्तिम परीक्षा पनि सकियो । बिदा सकेर स्कुल पनि शुरु भयो । नयाँ कक्षामा नयाँ उम‌ंग अनि डल्ली पनि त अब यही स्कुलमा आउँछे भन्ने विश्वासले मन पुलकित भएको थियो । स्कुलको पहिलो दिन थोरै मात्र विद्यार्थी आएका थिए तैपनि पूरा स्कुलमा मेरा आखाँले डल्लीलाई खोज्यो तर भेटेन । पहिलो दिन भएकोले नआएकी होला भन्ने लाग्यो चित्त बुझ्यो पनि ।

दोश्रो, तेश्रो, चौंथो दिन गर्दै हप्ता बित्यो तर डल्लीलाई लाइनमा देखिन मैले । आँट गरेर तल्लो कक्षामा सोध्न जान मन नलागेको होइन तर के गर्नु मलाई उसको वास्तविक नाम नै थाहा थिएन । तैपनि खाजा खाने ब्रेकमा एकजनालाई सोधें तर डल्ली नामकी कुनै विद्यार्थी उसको कक्षामा नभएको जानकारी पाएँ । यतिबेला मलाई पछुतो भयो किन मैले उसको असली नाम जानिन भनेर ।

यसरी नै मेरा दैनिकीहरु बित्दै गए । मैले चाहेर पनि डल्लीलाई भेट्न सकिन । पहिलेको स्कुलमा वा उसको घरमा गएर सोध्ने हिम्मत पनि कहिले आएन । मैले यसरी उसलाई खोज्दा अरुले के भन्लान वा उसको र मेरो मौन नाता के हो भन्ने पीर भने सँधै मनमा रहन्थ्यो । उसको बाबा आमालाई पनि त म चिन्दथें तर डरले कहिले सोध्न सकिन ।

यसरी मैले उसलाई नभेटी नदेखी नै एसएलसी परीक्षा दिएँ । पास पनि भएँ । उच्च शिक्षाका लागि काठमाण्डौ गएँ काकाको पछि लागेर । काकाकोमा बसेर आफ्नो पढाई सकें । सकें के भन्नु ब्याचलर सम्मको पढाई चाहिँ जसो तसो सकें । त्यो बीचमा मेरो मनमा डल्लीको बारेमा कहिले पनि कुरा आएन त नभनुँ कतै डल्ली भन्ने शब्द देख्दा वा साँच्चै नै डल्ली केटी देख्दा भने जीउमा सर्रर काडाँ उम्रन्थे ।

काकीको सहयोगमा एउटा एनजीओमा सानो जागिर मिल्यो धादिङ तिर । जागिर खाने रहर त थिएन तर पनि घरको अवस्थाले गर्दा खानु नै पर्‍यो । घरको सबै व्यवस्था हेर्ने बाबाले अघिल्लो वर्ष हामीलाई छाडेर जानु भयो । रहर त व्यापार गर्ने थियो तर आवश्यक पुँजीको अभावमा त्यो सम्भव थिएन । दैनिक आवश्यकता टार्न पनि त जागिरको सहारा लिनै पर्ने भयो । त्यसमाथी आमाको दीर्घ रोगको औषधि पनि त आवश्यक थियो ।

करिब चार वर्षपछि मेरो अफिसले हाम्रै गाउँमा एउटा महिला उत्थान कार्यक्रमको आयोजना पार्ने भयो । हामी करिब पाँच जनाको टोली त्यता लाग्यो । मेरो आफ्नै जन्मथलो भएकोले सबै जिम्मा मेरो हुने भयो ।

हामी गाउँ पुग्यौ । आफ्नो गाउँमा म राजा झैं भए । मैले चिनेको मान्छेको घरमा अफिस राखें । आवश्यक अन्य कर्मचारीहरु पनि मैले आफ्ना चिनजानका साथीहरु नै भर्ति गरेर अफिस सञ्चालन गरेँ । सामान्य रुपमा काम हुँदै गयो । मेरो मनले फेरी एकपल्ट डल्लीको विष्मृत भै सकेको यादलाई ताजा गराइदियो ।

मनमा छटपट हुन थाल्यो । डल्लीलाई भेट गर्ने हुटहुटी नै सवार भयो । मैल अब चाहिँ उसको खोजी गर्ने बिचार गरें । एक शनिबार पारेर म त्यो धुलौटे बाटो पारी भएको उसको घर गएँ । आँगनमा एकजना बुढोमान्छे ट्वार्रर ट्वार्रर तमाखुको धुँवा उडाउँदै थिए । अनुहार चाउरी परेको र कपाल सेतै भए पनि नापनक्शाका आधारमा ठम्याएँ कि उनै डल्लीका बाबा हुन् भनेर । नजिक गएर सामान्य औपचारिकता निभाएँ । अनि विस्तारै हिम्मत गरेर डल्लीको बारेमा सोधें । उनले एक प्रकारका अनौठो मुस्कानका साथ मलाई हेरे अनि भने –
“सानालाई पनि डल्लीको सम्झना आयो र ?”
मलाई कस्तो कस्तो आभाष भयो र मनमनै सोचेँ अरु कसकसलाई आउनु पर्ने हो र डल्लीको याद ? तर मुखले चाहिँ केही भनिन उनलाई ।

धेरै बेर बुढा मौन नै रहे धुँवा उडाउँदै । मलाई पनि बुढाको मौनता भङ्ग गर्न मन परेन ।

एकछिन पछि बुढाले नै मौनता भङ्ग गरे ।
“सानाले पनि उसलाई डल्ली नै भन्नुहुन्थ्यो र ?”
यो कुन खाले प्रश्न हो मलाई थाहा भएन र मलाई त खासमा डल्लीको असली नाम पनि त याद थिएन ।
“हजूर काका म पनि उसलाई डल्ली नै भनेर चिन्छु तर काका म अहिले सम्म ऊ सँग बोलेको पनि छैन ।”
“अनि नबोलेको मान्छेको याद चाहिँ किन पालेको त साना ?”
बुढाको प्रश्न अनुत्तरित नै रह्यो मैले केही पनि जवाफ दिइन । फेरी पनि हाम्रो मौनतामा तमाखुको धुँवा उडिरह्यो ।
एकछिन पछि फेरी बुढा बोले –
“सानो स्कुलको पढाई सकिए पछि ऊ हामीलाई छाडेर शहरतिर पसी बाबु उसकी सानीमाकी छोरी रमासँग । अहिले पनि हात हल्लाउँदै बिदा भएकी याद छ तर फेरी फर्केर भने कहिले आइन । शहर पसेको २ वर्ख पछीदेखि भने हरेक महिना पैसा पठाउँछे । घर उसैले धानेकी छे बाबु ।”
“कुन शहर हो र बस्ने काका?”
“मलाई पनि खासै भेउ त छैन तर उसकी सानीमाकी छोरी भने एकपल्ट पहिल्यै आउँदा भक्तपुर रे भन्थी त्यति चाहिँ याद छ, आफू कहिले शहर गाको भए पो त थाहा हुनु र !”
“ए ए भक्तपुर पो । अनि के काम गर्छिन भन्ने पनि थाहा छ कि काका ”
“नाईं बाबु त्यो मलाई हेक्का भएन कामको त । महिनामा पाँचहजार पठाउँछे । त्यसैले हामी दुई बुढाबुढीको जीवन धानिएको छ बाबु ।”

मैले डल्लीलाई खोज्ने बिचार गरें ।
“यता त डल्ली नै भनेर चिनिइ ऊ काका, खास नाम के राख्दिनु भएको थियो र ?”
“हामीले त केही नाम दिएका थिएनौं बाबु । सानामा मास्टरले शान्ति भनेर बोलाउँथे । स्कुलमा पनि त्यही नाम होला शायद ।”
“शान्ति पो हो नाम ।”
“हस् काका म लागेँ अहिले अलिक काम पनि छ ।”
म हात हल्लाउँदै आफ्नो घर तिर लागेँ ।

साँझ यसो बिस्तारमा पल्टेर फेसबुक चलाउँदै थें । मनमा शान्तिलाई खोज्ने रहर जाग्यो । फेसबुकमा भेटिने सम्भावना त थिएन तर पनि कोशिस गरुँ न भनेर खोज्न थालेँ । आफूले जाने जति सबै तरिकाले सर्च गरेँ । एउटा डल्लीसँग मिल्दोजुल्दो अनुहार भएको काली काली केटीको फोटो भेटेँ । प्रोफाइलमा हेरेँ अन्य विवरण खासै थिएन तर पनि मनमा त्यही केटी नै डल्ली हो भन्ने लाग्यो । एउटा फोटो डाउनलोड गरेँ ।

डल्लीको सम्झनामा मै मेरो रात बित्यो ।

भोलिपल्ट बिहानै लागेँ डल्लीको घरतिर । काका फलैचाँमा बसेर तमाखु तान्दै रैछन् सँधै जस्तै ।
काकातिर मोबाइल तेर्स्याउँदै फोटो देखाएँ ।
काकाले हो भन्ने संकेत दिए ।
मैले तुरुन्त फ्रेण्ड रिक्वेस्ट पठाएँ । अनलाइन नै रहिछिन् क्यारे तुरुन्तै एसेप्ट भयो ।
“हेल्लो डल्ली कता छौ?”
“को हो र मलाई चिने झैं डल्ली भन्ने ?”
मैले काकाको फोटो खिचेर पठाएँ ।
“यि त हाम्रा बाउ हुन् त तपाइँले कहाँ पाउनु भो र फोटो ?”
“म तिम्रो घरमा छु अहिले ।”
“नामले त मैले चिन्न सकिन को हो र तपाइँ ?”
“म तिम्रो बच्चाबेलाको एकतर्फी प्रेमी” मैले अलिक ठट्टा गर्न खोजें ।
“बिवेक हो तपाइँ ? भानु काकाको छोरा ?”
“हो नि । तिमीले कसरी एकै पल्टमा चिन्यौ ?”
………………………..
धेरै कुराहरु भए डल्लीसँग तीनचार दिन सम्म । उसले उसको नम्बर दिई मैले मेरो । अब हामी फेसबुक छाडेर नेपाल टेलिकमलाई फाइदामा लगिरहेका थियौं ।

एक साता पछि म अफिसको कामले काठमाण्डौ पुगेँ । डल्लीलाई मैले आफुलाई पायक पर्ने स्थानमा बोलाएँ । हाम्रो भेटघाट भयो । उ कुनै राजनैतिक पार्टीको नेताको घरमा घरेलु कामदारका रुपमा काम गर्दिरैछे । मैले त्यो काम छाडेर आफुसँगै काम गर्ने प्रस्ताव गरेँ । योग्यता नभएका कारण उसले मानिन । म उसलाई फेरी आफ्नो आँखाबाट टाढा जान दिने वाला थिईन । त्यसैले मैले सहायक पदमा उसलाई जागिर खुवाएँ ।

एक दिन कुरै कुरामा म उसलाई बिहेको प्रस्ताव राखेँ । उसले पहिले त नकारी । तीन महिना पछि बल्ल के सुझेछ मनमा र हुन्छ भनी ।
हामीले गाउँकै एउटा मन्दिरमा घरपरिवार साक्षी राखेर बिहे गर्‍यौं । सबै खुशी भए । सानो बेलाको अघोषित प्रेमलाई पाएर म पनि खुशि भएँ ।

सामान्य रुपमा समय वित्दै गयो । हाम्रो सन्तान पनि भयो । परिवार सुखी नै थियो हाम्रो ।

एकसाँझ म अफिसबाट घर फर्कदैं गर्दा गाउँको एउटा सिकारु केटोले मोटरसाइकलले हानेर घाईते बनाइदियो । केटो सज्जन रैछ अस्पताल पनि उसैले पुर्‍याइदियो र घरमा खबर पनि ।

खुट्टामा नराम्रो चोट लागेछ । सामान्य अपरेशन गर्नुपर्ने भयो । रगतको आवश्यकता पर्‍यो । ग्रुप जान्नका लागि नर्सले रगत जाँच गरिन् ।

म अस्पतालको बेडमा सुतिरहेको थिएँ । नर्सले विस्तारै बोलाइन ।
“एउटा जरुरी कुरा छ बिरामीसँग तपाइ बाहिर जानुस् त” मलाई कुर्न बसेकी डल्लीलाई बाहिर पठाइन् नर्सले ।
“के कुरा हो सिस्टर भन्दा हुन्छ नि उनी मेरी पत्नी हुन् ।” मैले सहजिकण गर्न खोजें ।
“हैन तपाइँसँग मात्र गर्नुपर्ने कुरा हो ।”
नर्सको कुरा सुनेर डल्ली बाहिर निस्किइन् ।
“तपाइँको रगतमा एचआईभि पोजेटिभ भेटियो ……….”
त्यो भन्दा अगाडी नर्सको कुरा मैले केही सुन्न सकिन । मेरो आखाँ वरीपरि कालो छायाले घेर्‍यो । रिङ्गटा लागे जस्तो मुख सुके जस्तो भयो ।
“मैले अहिले सम्म गलत काम गरेको छैन सिस्टर । घरभन्दा बाहिर कतै म गएको छैन आजसम्म । कसरी संभव छ यो ? तपाईंको रिपोर्टमा केही गल्ति भएको होला राम्रोसँग हेर्नुस फेरी ।” मैले साहस बटुलेर भनेँ ।
“हामीले दुई तीन पल्ट तपाइँको ब्लड स्याम्पल टेस्ट गरेको हो जति पल्ट पनि एउटै रिपोर्ट आएकोले तपाइँलाई भन्न आएको म ।”
मलाई डर लाग्यो । यो पक्कै पनि अस्पतालको लापारवाही हुनु पर्छ भन्ने लाग्यो मनमा । केही नसोचि यसै घोरिएर बसेको थिएँ ।
“एक पल्ट तपाइँको श्रीमती र बच्चाको पनि चेक गर्नु पर्छ ।” नर्स बोलिन् ।
“के भनेर चेक गर्ने ?”
“केही भन्नु पर्दै तपाईंले हामी नै भन्छौ अरु कुनै बहानामा चेक गर्छौं ।”
मैले टाउको हल्लाएर अनुमति दिएँ ।

डल्ली भित्र आइन् । मेरो अनुहार मलिन देखेर सोधिन मैले केही हैन घाउमा दुखिरहेकाले होला भनेँ ।

रातभर निन्द्रा लागेन ।

“म कहिले पनि बाहिर कुनै केटीसँग गएको छैन । डल्लीलाई भित्र्याउनु भन्दा पहिले मैले कसैसँग शारिरीक सम्पर्क गरेकै छैन । यो बिचमा रगत लिनुपर्ने बिरामी पनि भएको छैन । लागू पदार्थ पनि त लिन्न म । तर कसरी यो सब ।”

सोच्दा सोच्दै बिहान भयो । बिरामी कुरुवाको बेन्चीमा डल्ली मस्त निदाइरहेकी छे । आफ्नो मनमा सुनामी आइरहेको छ ।

भन्न त डल्लीलाई पनि त पर्छ नै तर कसरी भन्ने ? मैले हिम्मत जुटाउन सकिन ।
नर्सले सबैको रगतको रिपोर्ट लिएर आइन । मैले नर्सको आँखामा हेरेँ । कुरा बुझें डल्ली पनि संक्रमित भएकी रहिछे भनेर ।

अब हिम्मत हारेर भएन । अस्पतालका ठूला डक्टर र हामी सँगै बसेर छलफल गर्‍यौं । सानो केटोलाई चाहिँ नभएको पुष्टि भयो । त्यो पनि मन बुझाउने ठूलो मल्हम साबित भयो ।
डल्लीले जब त्यो कुरा सुनि उसको होस उडेको स्पष्ट हुन्थ्यो ।

“विवेक, मलाई पनि थाहा थिएन, कि म संक्रमित हुँ भनेर । म नेताको घरमा काम गर्नु भन्दा पहिले सानिमाकी छोरीसँग होटेलमा काम गर्थें । मैले यो कुरा तपाईंलाई कुनै दिन मेसो मिलाएर भनुँला भन्ने लागेको थियो तर यो अवस्थामा भन्नु पर्‍यो मलाई माफ गरिदिनुस् । म पापी हुँ अपराधी हुँ । होटेलमा काम गर्नेबेला पैसाको लोभमा हामी लुकी लुकी नराम्रो काम पनि गर्थ्यौं । शायद त्यसैको फल होला अहिले । मैले भवगान मानेको तपाइँलाई यस्तो नराम्रो रोग दिएँ ।” डल्लीले सबैका अगाडी रुँदै रुँदै आफ्नो पुराना कुराहरु खोली । डल्लीबाट नै मलाई संक्रमण भएको पुष्टि भयो ।

जे जस्तो भए पनि यसमा मेरो केही दोष थिएन । तर पनि मैले डल्ली र सानो केटोलाई माया गर्न छाडिन । डाक्टरको निगरानीमा हामीले औषधि खान पनि शुरु गरिसकेका थियौं । यसरी नै हाम्रो समय बितिरह्यो । सानो केटो पनि स्कुल जान थाल्यो । हामीले औषधिको डोजमा रहेकोले अलिक सावधान हुनुपर्थ्यो त्यो सबै हामी गर्दै आएका थियौं ।

करिब दुई वर्षपछि आफ्नो अफिसमा अलिक लामो काम भएकोले अबेलासम्म अफिसमै थिएँ । फोनको घण्टी बज्यो ।

उताबाट आत्तिएको आवाजमा मलाई छिटो घर आउनका लागि भनियो । मनमा सानो केटोलाई केही भयो होला भन्ने लाग्यो र हतार हतार घर तिर हानिएँ ।

घर पुग्नुभन्दा पहिले एउटा सानो बरको चौतारो पर्थ्यो । अलिक मधुरो उज्यालोमा चौतारा वरिपरी मान्छेहरु झुरुप्प भएको देखेँ । गाउँमा केही नरमाइलो घटना घटेछ भनेर अनुमान लगाउन मलाई मुस्किल परेन ।

नजिक पुगेको मात्र थिएँ सानो केटो दौडिदै आएर मलाई ग्वाम्लाङ्ग अँगालो हालेर रुन थाल्यो । मैले केही सोचबिचार गर्न नपाउँदै मेरो आँखा बरको रुखमा झुण्डिएको महिला आकृति रुपको कालो छायाँमा पर्‍यो । मनमा ढ्याङ्ग्रो ठोक्न थाल्यो ।

गाउँका सबैले पुष्टि गरे त्यो महिला आकृति “डल्ली” कै रहेछ । मन अमिलो भयो । उनको मनमा कहिलेदेखि आफू दोषी भएको भार रहिहेको रहेछ आज कसैलाई सुइको पनि नदिइ हलुका पारिन् । एक छिन त मलाई पनि त्यही कालो छायाँसँग त्यही डोरीमा एकाकार हुन मन लाग्यो तर सानो केटोले आफ्ना कलिला हातको अँगालोले मलाई चल्न दिएको थिएन । उसको सुँक्क सुँक्क आवाज मेरो कानमा आइरहेको थियो र मेरो आँखाबाट एकोहोरो आँशु झरिरहेकै थियो ।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...