Saturday 20th April 2024

१८ वर्षपछि ‘फेरि त्यो दिन’ सम्झँदै सुगम पोखरेल


अनुषा अधिकारी, गायक सुगम पोखरेल अहिले पुराना दिन सम्झेर समय बिताइरहेका छन्। लकडाउनले घरभित्रै थुनिँदा उनले बल्ल ‘नोस्टाल्जिक’ हुने खाली समय पाए। यसैलाई अवसर मान्दै केही साताअघि ‘फेरि त्यो दिन’ गीत युट्युबमा अपलोड गरे। यसमा उनका पुराना केही चर्चित गीतका टुक्रा मिसाएर ‘मेड्ले’ बनाएका छन्।

१८ वर्षअघि रिलिज उनको ‘फेरि त्यो दिन’ गीत निकै चर्चित थियो। यसको नयाँ संस्करण ल्याउने सोच भने उनले दुई वर्षअघि नै बनाएका थिए।

‘हरेक कार्यक्रममा गएका बेला फ्यानहरू पुराना गीत गाइदिन अनुरोध गर्नु हुन्छ। तर कुन गीत गाऊँ भनेर अलमलमा पर्थेँ,’ सुगमले सेतोपाटीसँग भने, ‘एक भाइले पुराना गीतलाई नयाँ तरिकाले गाउने आइडिया दिए। पुराना गीत रिमिक्स बनाएर गाउनुभन्दा नयाँ गीतमा पुरानोको भाव जोड्ने तरिकाले गाएको छु। पहिले नै सोच आइरहे पनि व्यस्तताका कारण काम हुन सकेको थिएन। आखिर लकडाउनले समय जुरायो।’

उनका अनुसार पुरानो गीत फेरि पर्दामा ल्याउँदा प्रशंसकहरू खुसी भएका छन्। गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ र अब यसरी नै अर्को भाग बनाउन दर्शकको माग आइरहेको उनी बताउँछन्।

सुगमले लकडाउनमा सात वटा जति नयाँ गीत बनाइसकेका छन् र अझै बनाउने सुरसारमा छन्। उनले घर बसेर आफैं गीत लेखेर रेकर्ड गरेका छन् र सम्पादन टिमलाई पठाएर युट्युबमा अपलोड गरिरहेको बताए।

लकडाउन नभएको भए उनी अहिले युरोप टुरमा हुने थिए। यस वर्षका सबै कार्यक्रम रोकिएको छ, अब अवसर मिले अर्को साल जाने सोचमा छन्।

खाली समयमा उनी फिल्म हेर्छन्। किताब पढ्छन्। परिवारसँग समय बिताउँछन्। उनी भन्छन्, ‘लकडाउनअघि कामले धेरै धपेडी भइरहेको थियो। अहिले आफ्नो र परिवारका लागि समय पाएको छु। सुरूमा त सुत्ने तालिका पनि खल्बलिएको थियो, के गर्ने के नगर्ने भनेर कुनै स्थिर दिनचर्या थिएन। अब सबै कुरामा समान ध्यान दिएर सदुपयोग गरिरहेको छु।’

उनको बिहानी सात बजे उठेर पूजापाठबाट सुरू हुन्छ। यसअघि कहिल्यै व्यायाम गर्ने बानी नभए पनि अहिले पेट लागेर गर्न थालेका छन्। हरेक दिन गीत सुन्छन् र आफू रियाज गर्छन्। बाँकी समय पुराना फिल्म दोहोर्‍याएर हेर्दै बिताएको उनले बताए।

विराटनगरमा हुर्केकाले उनमा सिनेमाप्रति ‘क्रेज’ नहुने कुरै थिएन। दिनमा तीन वटा हल गएर फिल्म हेर्थे रे। सिनेमा क्षेत्रतिर रूचि भएकाले ठूलो भएर हिरो बन्ने सपना देखेका थिए। बालकलाकारका रूपमा एकपटक फिल्ममा काम पनि गरेको उनी बताउँछन्। तर त्यसले उनलाई सन्तुष्टि दिएन। राम्रै गरेको लागे पनि अभिनय क्षेत्र आफ्ना लागि नभएको महशुस गरे।

‘फिल्म क्षेत्रमा मभन्दा धेरै राम्रा कलाकार हुनुहुन्छ। त्यसैले मैले यसमा न्याय गर्न सक्छु जस्तो लागेन। गीत गाउने रहर पनि पहिल्यैदेखि थियो। गीत गाएरै म सुन्तुष्ट थिएँ र त्यसैमा अघि बढ्न सक्ने विश्वास पनि,’ उनी भन्छन्, ‘कुनै दिन फिल्ममा हिरोको रुपमा नभई एउटा पात्रका रूपमा आउन सकूँला। तर हिरो बन्ने रहर मैले म्युजिक भिडिओबाट पूरा गरिसकेँ।’

उनले थपे, ‘म अहिले जे छु त्यो दर्शकले मन पराइदिनुभएको मेरा पुरानो गीतका कारणले हो। सबै क्षेत्रमा हात हालेको भए सायद कतै पनि राम्रो हुने थिइनँ। आज फेरि ती पुराना दिन फर्केर हेर्दा गर्व लाग्छ।’

उनी विराटनगरबाट काठमाडौं पढ्न आएका थिए। त्यति बेला विदेश जाने सोच पनि बनाइरहेका थिए तर पछि यतै रेडियोमा काम गरे। काम र पढाइसँगै उनलाई आफ्नो गीत गाउने रूचि पूरा गर्नु थियो। त्यसैले कामबाट आएको पैसाबाट गीत रेकर्ड गराए। आज उनी आफ्नो जीवन ‘सुगम यात्रा’ रहेको बताउँछन्।

सुगम पोखरेल। तस्बिरः सुगमको फेसबुक

लकडाउनका कारण सुगम आफ्नी छोरीसँग पनि रमाउन पाएका छन्। छोरीसँगै बसेर गीत गाउँछन्। तीन हप्ताअघि उनको युट्युब च्यानलमा अपलोड गरेको ‘नेपालको गीत’ को म्युजिक भिडिओ पनि छोरीले नै खिचिदिएको उनले बताए।

छोरीसँग बसेर गाउँदा उनले छोरीको रोजाइको नयाँ संगीत सुन्न पाएका छन्। आफूलाई ‘ओल्ड स्कुल’ भन्न रूचाउने सुगमलाई नयाँ आएका गीतबारे त्यति ज्ञान छैन। पुरानै गीतसंगीतमा रमाउँछन्, तर नयाँ पुस्ताका संगीतलाई उत्तिकै सम्मान गर्छन्।

‘संगीत समयअनुसार परिवर्तन हुन्छ र यसलाई सकरात्मक लिनुपर्छ। हाम्रो पुस्ता पनि भर्खरै यो क्षेत्रमा भित्रिँदा संगीत यसरी नै परिवर्तन भएको थियो,’ उनी भन्छन्, ‘अहिले जोकोही पनि गायक बन्न सक्छन्, प्रविधिको सुविधा धेरै छ। पहिले जसरी स्टुडियोमा रेकर्ड गराएर बजारमा टिक्न सकिन्छ वा सकिँदैन भन्ने डरमा बस्नु पर्दैन। यसले कयौं प्रतिभालाई प्लेटफर्म मिलेको छ।’

उनले थपे, ‘कलाकार भएपछि परिवर्तनअनुसार चल्न सिक्नुपर्छ। पुराना दिन सम्झेरै नयाँ चलनचल्ती अपनाउन सकिएन भने त्यसलाई कलाकार भनिँदैन। पुरानै गायन शैलीलाई नयाँ ढङ्गले प्रस्तुत गर्न सके भने मात्र पुराना कलाकारलाई पनि नयाँ पुस्ताले सम्झिरहने छन्।’

लकडाउनमा ‘म्युजिक याज ए मेडिसिन’ को ट्रेन्ड चलेका बेला सुगमले पनि आफ्नो युट्युब च्यानलमा गीत गाएर राखे। उनलाई लाग्छ, यदि केही कुराले मानिसलाई नकारात्मक सोचबाट टाढा राख्न सक्छ भने त्यो संगीत नै हो।

‘जीवनका कयौं अप्ठ्यारा समयमा मलाई साथ दिने संगीत थियो। मैले संगीत छोड्न खोजे पनि संगीतले मलाई छाडेन। मेरा सबै दुःखसुखका अनुभव यसमै छ। कहिल्यै सोचेको थिइनँ, संगीतका कारण यो ठाउँसम्म आइपुग्नेछु,’ उनले भने।

उनलाई लकडाउनका सुरूआती दिनमा गीत रचना गर्न गाह्रो भएको थियो। पछि यो समयलाई नयाँ गीतमा काम गर्ने अवसर माने।

‘संसार जहाँ थियो, त्यहीँ रोकिएको महशुस भएको थियो। न भविष्यको चिन्ता न वर्तमानबारे सोच्नु थियो,’ उनी भन्छन्, ‘यसो भन्दैमा सकारात्मक रूपमा काम गर्न भने छाड्नु हुँदैन, यो समय एकैछिन रोकिएर सोच्ने अवसर जस्तो भयो।’

उनले यो वर्ष बुवाको मुख हेर्ने दिनमा बुवाका लागि गीत बनाउँदै छन्। नेपालमा माया-प्रेम र आमाका लागि धेरै गीत बनिसके पनि बुवामा समर्पित एकाध गीत होलान्। जसरी सुगमले ‘साथी’, ‘पाठशाला’ जस्ता फरक विषयलाई गीतको भाव बनाएका थिए, ओझेलमा परेका अरू विषयमा पनि गीत गाउने मन रहेको बताउँछन्।

संसारभरका बुवालाई समर्पित गरेर गीत लेख्दै गर्दा सुगमलाई आफ्नै बुवाको पनि याद आयो। घरको कान्छा छोरा भएर उनी सबैको मायामा हुर्किए तर बुवासँग एक किसिमको डर सधैं रहने उनले बताए।

सुगम भन्छन्, ‘उहाँप्रतिको आदरले गर्दा पनि होला, सिधै गएर बोल्न सक्दिन थिएँ। तर सँगै उहाँको माया धेरै पाएँ। यो गीत लेखेको कुरा पनि भनेको छैन। कुशेऔंसीमा उहाँलाई सर्प्राइज गिफ्ट हुनेछ।’

-सेतोपाटीबाट 


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...