Sunday 20th July 2025

कथा- द्धन्दको चर


कक्षामा पढाउँदा बुझेनौ भन्यो भने मुसुक्क हाँस्दा  देखिएका लामबद्ध ति दन्तहरुले उनको भरिएको बयस्कको बास्नाहरुलाई छरिरहेको अनुभुत गराउँथ्यो। ओहो ! कस्तो सुन्दर अनुहार संगै ज्ञान र क्षमताले भरिपुर्ण जवानी, भगवानले नै कुदेको जस्तो देखिने बनारसे साडीमा सजिएको मोति जस्तै टल्कने र चमक दिने लामो कपालमा लुकिरहेको लजालु शरीर।

हेमराज भट्ट – महिना बढी भयो होला कमलराजको पढाईमा त्यतिधेर रुचि छैन। घरकाम गर्नुत परै जाओस् सरले कक्षामा पढाउँदा पनि एकोहोरो टोलाई रहन्छ। पाठको अन्त्यसंगै देबीमरण सरले ठुलो स्वरमा सबैलाई एकैपटक सोध्नुहुन्छ ? विद्यार्थी भाईबहिनीहरु तिमीहरुले बुझ्यौ यस कथाको सन्देश। बुझ्यौ सर ! कक्षा भित्रको सबै साथीहरुबाट एकैपटक निस्किएको आवाजले कमलराज झसक्क हुन्छ। उसको मन मष्तिस्क कहिकतै डुलिरहेको देबीमरणले पत्ता पाईहाले। उसो त उनी अलि कडा मिजास र आफ्नो बिषयमा पोख्त भएको घमण्ड देखाई रहन्थे। पालेदाईले बजाएको घण्टीसंगै देबीमरण सर अफिसतर्फ लाग्नुहुन्छ। साथीभाईका बिच खासखुस शुरुहुन्छ। खै, यो पढेर पनि के गर्नु ? धेरै पढेका र बुझेकालहरुले पनि त युद्धगर्नु पर्छ भन्दै हिड्दैछन् कमलराजले शिक्षाप्रतिको आफ्नो बितृष्णा र युद्धसंगको मोह साथीहरुलाई राख्दछ। यिनीहरुको संबादलाई सुनिरहेकी सकुन्तलाले उत्तर दिन्छे, खुब असल कुरा गर्दैछौ। पढाई छोडेर युद्धमा लाग्ने रे ? देखासिकी र हचुवाको भरमा कुरै नबुझी हाम्फाल्दा डुबिएला नि फेरी ? शिक्षा भन्दा ठुलो साहरा जिबनमा केहि हुदैन, पहिले स्कुले जिबन पार गर्नु कमलराज दाई। ह्या, काली अलि हेपेर र मायॉंलु शब्दमा तिमीले कुरा नै बुझिनौ, त्यसै नबुझी प्रतिबाद गर्छ्यौ, सकुन्तला आफुभन्दा दुईतिन बर्ष कान्छी उमेरको बालसखा र स्कुले कक्षाका साथी थिईन् कमलराजको।

मैले भनेको होईन नि, आफ्नो युद्धप्रतिको मोहलाई ढाकछोप गर्न र यो संबाद सरहरु र अरु साथीहरु कसैले पनि थाहा नपाओस् भनेर कमलराज अलि हतास भय जस्तोगरी प्रसंगलाई परिवर्तन गर्न खोज्छ। ए सॉंच्ची, गुणचन्द्र सरको कुरा के हो ? गुणचन्द्र सर केहि महिना पहिले मात्र युद्धमा होमिएका थिए। उनी सॉंझ बिहान पारेर गाउँघरमा लुकिछिपी आफुसंगै केहि मानिसहरु समेत लिएर युद्धमा लाग्न सबैलाई करकाप गर्दै हिड्न थालेका छन्। कमलराजले गुणचन्द्र सरलाई भेट्ने गरेझै आफ्नो कुरालाई तोडमोड गर्यो। एकआपसमा मुखामुखको कुराकानी चलिरहेकै बेला कलावति मिस हातमा चक र डस्टर लिएर कक्षामा प्रवेश गर्नुहुन्छ। सबै छात्रछात्राहरु मिसलाई देख्नासाथ सद्धाव सहित आफ्नो ठाउँबाट उठेर स्वागत गर्दछन्। गुड मनिंग मिस। सबै विद्यार्थी भाईबहिनीहरु आ आफ्नो सिटमा बस्नुस्, मिसको सुरिलो स्वर झल्कने मिठास सहितको शब्द निस्कन्छ। उमेरले आफुभन्दा त्यहि ४/५ बर्ष जेठी हुनुहुन्छ होला। पढाईमा गहिरो लगावले गर्दा यहि विद्यालयबाट राम्रो अंकमा माध्यमिक तह पास गरेर र शहरको कलेजबाट स्नातक तह पुरागरी पुन आफु पढेको गाउँको  स्कुलको सेवामा फर्किनुभयो। म ५/६ कक्षामा पढ्दा कलावति मिस १० कक्षामा हुनुहुन्थ्यो। गाउँ पनि एउटै भएकोले स्कुल आउँजाउँ गर्दा बाटोमा होस् या घरको काम, खेल मैदान अनि खेतीपाती र चरनहरुमा संगै खेलेको संझनाका तरंगहरु कमलराजको मानसपटलमा उर्लिएर आउँछ। खोई मैले त कहिले होला यो विद्यालय छोड्ने। माध्यमिक तहको शिक्षा नै नसकिने पो हो कि ? आफैले आफैलाई प्रश्न गर्छ। अग्लो र पातलो गोरो शरिर अनि उज्ज्यालो परेको लाम्चो अनुहार र मनमोहक आँखाका परेलाहरु साथै तृष्ण र सुरिलो स्वर कलावति मिसका ब्यक्तित्व र बिशेषता नै थिए। कक्षामा पढाउँदा बुझेनौ भन्यो भने मुसुक्क हॉंस्दा देखिएका लामबद्ध ति दन्तहरुले उनको भरिएको बयस्कको बास्नाहरुलाई छरिरहेको अनुभुत गराउँथ्यो। ओहो ! कस्तो सुन्दर अनुहार संगै ज्ञान र क्षमताले भरिपुर्ण जवानी, भगवानले नै कुदेको जस्तो देखिने बनारसे साडीमा सजिएको मोति जस्तै टल्कने र चमक दिने लामो कपालमा लुकिरहेको लजालु शरीर। उमेर छिप्पिएर पनि हाईस्कुल पढ्दै गरेका कमलराजले कलावति मिसको हाउभाउ हेर्दै प्रेमप्रतिको आफ्नो आकर्षण र अभिरुची मनमनै कथिरहन्छ। ल भन त विद्यार्थी भाईबहिनीहरु हिजो हामीले कहॉंसम्म पढ्यौ, बयस्कको पालुवा पलाएर धोद्रिएको स्वर तान्दै सकुन्तला भन्छे। प्रजनन स्वास्थ्य शिक्षाको बारेमा पढ्दै थियौ मिस। कलावति मिस बिज्ञान बिषयकी शिक्षिका हुनुहुन्थ्यो। प्रजनन स्वास्थ्य प्रणालीका बारेमा निसंकोच र बिना हिच्किचावट उनी यसरी प्रस्तुत भईनकी निसन्देह उनको ज्ञानको ज्योतिलाई कुनैपनि चिजले छेक्नै सक्दैन। उदाहरण र हातको भाऊ संगै बिचबिचमा प्रश्नहरु सोध्ने र विद्यार्थीहरुलाई आफुले अध्यापन गराएको बिषयमा पोख्त बनाउने उनको पहिलो लक्ष्य नै हुन्थ्यो।

चारबजेको स्कुल छुट्टीसंगै कमलराज घरतिर लाग्दछ। अलिपर पसलमा बुवाले दिएको पैसाबाट घरायसी केहि सामानहरु किन्छ र ऊ फेरी आफ्नै गन्तब्यलाई पछ्याउँछ। स्कुल र घरको दुरी निकै लामो भएकोले उनीहरुलाई बिहान बेलुका आउँजाउँ भने निकै कठिनपुर्ण थियो। अघि पसलमा सामानहरु किन्न रोकिदा कलावति मिस र सकुन्तलाले उसलाई छोडेका थिए। अघिअघि दुईजना हिडिरहेको देखेपछि दाहिने हातको साहरा लिएर मुखबाट सिठ्ठी फुक्दै आवाज निकाल्छ। खै के कुरामा हो, कलावति मिस र सकुन्तला गफिएकाले उसले बजाएको सिठ्ठीमा उनीहरुको ध्यान पुग्दैन। पसिना निकाल्दै एक हातले स्कुले झोला र अर्को हातले पसलबाट किनेको सामान समात्दै छिटोछिटो उनीहरुलाई भेट्टाउन दगुर्छ कमलराज। यता कलावति मिस र सकुन्तलालाई भने उनी पछि आईरहेको पत्तै थिएन, आज कक्षामा भएको संबादलाई कलावति मिस समक्ष सबिस्तार गर्दै रहिछिन् सकुन्तला। फॉंटको बिचमा बर्षातको पानीले छिपछिप परेको हिलो बाटोलाई छल्दै संगै बनाईएको पर्खालबाट डराई डराई बिस्तारै पाईलाहरु चाल्दै गर्दा उनीहरुलाई भेट्दछ कमलराज। ए तिमी त पछाडी पो रहेछौ। अघिमात्र सकुन्तलाले कलावति मिसलाई भनेको कुरा कमलराजले सुन्यो कि सुनेन होला भनेर लख काट्दै सोध्छिन्। हो नि पसलमा रोकिएको थिए, यी यहि सामानहरु किन्नलाग्दा पछि परे कमलराजले आफ्नो बास्तबिकतालाई ओकली हाले। आफुहरुसंग केहि रुपियॉं हुँदा पसलबाट खानेकुराहरु किनेर बॉंडिचुडी खाने पुरानै चलन रहेछ सकुन्तला र कमलराज बिच। खोई, दुकानबाट हामीलाई पनि केहि खानेचिज ल्याउनु भएन ? कस्तो हुनुहुन्छ वाई ! आफुमात्र खाने। हेर न च्याखुरी कलावति मिसकै अगाडी कमलराजको सकुन्तलाप्रतिको प्रेममोह र भाब पोखियो। आफुले थाहा नपाए झै गरी कलावति मिसले त्यसलाई टार्नुभयो। मनकारी छन् कमलराज ल्याएका होलान् नि, म संगै भएकाले सरमले तिमीलाई नदिएको होलान् ? उहॉंले आशाको प्रश्न गर्नुहुन्छ। कमलराज प्रतिको रोजाई सकुन्तलामा पुरानै भईसकेको थियो। सकुन्तला हाईस्कुलको पढाई सकेर कमलराजसंगै शहर जाने अनि शहरमै केहि गर्नुपर्छ भन्दै बिभिन्न योजनाहरु बनाउने गर्दथिन्। बा ! कतै अरु कसैको फन्दामा र अल्लारे सोंचमा परेर युद्धमा त होमिन्नन् कमलराज। यस बिषयले उनको मनमा बडो चिन्ता हुने गर्दथ्यो। स्कुलको बार्षिक उत्सव कार्यक्रम र दशैतिहारको गाउँघरमा हुने रमझम तथा सॉंस्कृतिक कार्यक्रमहरुमा आफ्नो कला देखाउने गर्दथे कमलराज। जसरी पनि उनलाई आफ्नै बाटोमा हिडाई उज्ज्वल भविष्य बनाउन संधै तल्लिन थिईन् सकुन्तला। त्यसैले उनले आज कक्षामा भएको कुराकानी कलावति मिसलाई सॉंटेकी थिईन्।

बडादशैको स्वागतका लागि गाउँलेहरुले चम्काएका ठुलो पिपलको रुख, त्यसमा बिस्तरा जस्तै बिछ्याईएका ढुंगाहरु र सिरसिर बतास चलिरहेको गोधुँली सॉंझ, लु आधाबाटो त काटियो अब यहि चौतारीमा केहि खॉंउ कमलराजले कलावति मिस र सकुन्तलालाई एकैपटक अनुरोध गर्यो। हामीसंग त केहि छैन, के खाने दुबैले एकैस्वर गरे। मैले ल्याएको छु नि हो खानेकुरा त कमलराजले खुशी ब्यक्त गर्दै भन्यो। चौतारामा रहेको फराकिलो ढुंगालाई बिच पार्दै तिनैजना बस्दछन्। गलामा पहिरिएको सल निकाल्दै सकुन्तला भन्छिन ल यसैमा राखौ खानेकुराहरु। कमलराजले पसलबाट खाजाको निम्ति माना डेड चिउरा र पॉंचमुठ्ठी जति दालमोठ अनि तिनथान खाजा बिस्कुटको पोका ल्याएको रहेछ। बिछ्याईएको सलमा सकुन्तलाको मुलाईम हातले चिउरा र दालमोठलाई मोल्दै गर्दा कलावति मिसले निकै गहिरिएर कमलराजतिर हेरिन। गाउँले भाई, घर छिमेकी र अहिले मेरो विद्यार्थी साथै हुर्कदै गरेको देशको भविष्य र नेपाल आमाको सन्तान। अघि सकुन्तलाले भनेझै उनमा युद्ध प्रतिको मोहको छनक कत्तिको रहेछ, गम्भीर भएर सोचिन्। पढाईमा कमजोर अनि घरको अबस्था र अहिलेको गाउँ समाजको परिवेश। खोई, अडिएला जस्तो त देखिदैनन् तर पनि मैले कोशिश भने गर्नुपर्यो। शहरमा कलेज पढ्न बस्दा बुझेको देश र बिदेशका राजनिति संगै यस भित्र हुने अदृश्य दृश्यहरुलाई राम्ररी केलाएकी उनलाई कमलराजकै अगाडी मनबुझ्न भने सकस भईरहेको थियो। ल पहिले खाजा खॉंउ अनि गफ गरौला ! सकुन्तलाले कलावति मिस र कमलराजलाई भनिन्। मनमनै कुरा कोट्याउ कि नाई खेलाउँदै गर्दा सकुन्तलाको मुखबाट झ्वाट्ट आवाज फुत्किन्छ, ए सॉंची गुणचन्द्र सर किन युद्धमा होमिएका होलान् ? के नपुग्दो थियो र है ? निम्न माध्यमिक तह स्तरीय शिक्षकको स्थायी जागिर थियो। बेशीको खेतमा पनि उब्जनी राम्रै हुन्थ्यो। बाउबाजेको पालादेखिकै गाउँमा आसामी लगाउँथे, खै कस कसको फन्दामा परे कुन्नि ? गाउँकै शिक्षित कहलिएका र समाज बुझेका मानिसहरुले यसरी गलतबाटो हिडेको मलाई त पटक्कै मन परेन। कमलराजलाई डर देखाउने गरी एकोहोरो बोलिराख्छे सकुन्तला। किन हुन्थ्यो नि देशले परिवर्तन चाहेको छ। अनि त्यसका लागि देशले बलिदान खोजेको छ, त्यसैले होला ? कमलराजले युद्धप्रतिको आफ्नो मोह र आशक्तिलाई फेरी उजागर गर्यो। देश र समाज संधै परिवर्तनसिल हुन्छ। एउटै अबस्थामा समाज कहिलै अगाडी जान सक्दैन। तर, हत्या र हिंसा सहित गरिने युद्धले समाजलाई उल्टो बाटोमा हिंडाउछ। भाईअंशी लाग्दैन, चोरले पनि चोर्न सक्दैन, न त आगोले नै डडाउन सक्छ। जति बॉंड्यो त्यति बढ्छ शिक्षाको ज्ञानको ज्योति, सकुन्तला अघि भएको संबादको छनकै नदिई कलावति मिसले कमलराजलाई संझाएसरी भनिन्। गुणचन्द्र सरले आफुलाई भेट्न चाहेको खबर अस्तिमात्र खोज प्रसाद मार्फत आएको जानाकारी कमलराजले सकुन्तला र कलावति मिसलाई यहि चौतारीमा गराए।

दशैमा भएको छुट्टिको सदुपयोग गर्दै खहरेघाटमा रहेको पानीको घट्टामा केहि पाथी तोरी पिसेर कमलराज बेंशीबाट गाउँतिर उकालो लाग्दै थिए। झम्के सॉंझ परेको हुँदो हो। चराहरु बासका लागि चिर्बिराई रहेका सुनिन्थ्यो। पारी पाखामा गुन्जिएको झ्याउँकिरीको आवाज रोधीघरमा बज्ने धुनजस्तै थियो। ठाडो उकाली चढी सकिएपछि त्यहॉं  बनाईएको छाप्रोमा ईच्छाराम दाईले थाप्नुभएको सानो अस्थायी हिउँदे पसलको अगाडी तोरीको तेल र पिनाको झोला राख्दै पानी मागेर दुई घुँड्को मात्र पिएको थियो। एकहुल युवायुवतीका साथ गुणचन्द्र सर यतै आउँदै गरेको कमलराजले देखे। ल हेर कहॉं गएर आएको यतिबेला ? गुणचन्द्र सरले सोध्नभो, कमलराजले आफु यहॉं हुनुको कारण बताए। खोज प्रसादजीले तिमीलाई केहि खबर दिनुभयो त ? गुणचन्द्र सरले सोध्नुभयो। पॉंएको छु सर, भेटौला नि, म संधैजसो गाउँघर र स्कुलतिर नै त रहन्छु। हुन्छ, दशै राम्रोसंग मनाउ, घरपरिवारलाई मैले संझिएको छ भन्नु, दशै लगत्तै तिमीलाई भेट्छु नि है। कुराकानीको क्रममै गुणचन्द्र सरसंगै आएका युवायुवतीहरुलाई निकै नजिकबाट निहाल्न खोज्दछन् कमलराज। कस्तो समर्पण र त्यागको भावाना उम्रिएको होला यिनीहरुमा, जिबनका सबै आफ्ना खुशीलाई एकातिर पन्छाएर ती कलिला ओठहरु र कोमल अनुहारहरु लिएर दिन दुखी र गरिबहरुको भलोमा हिडेका रे ? यिनको सपनाहरु एकदिन बिपनामा परिणत हुन्छ त ?  बिचरा, यिनिहरु त निर्दोष होलान्, के सपना हुन्थ्यो र ? त्यत्ति बुझिसकेका जस्तापनि देखिदैनन्। ओठमा जुँगाको रेखी अनि शरिरबाटै झल्कने जवानी नदेखिएका युवायुवतीहरुको भविष्य लुटिएको त होईन ? कसैले आफ्नो चाहाना र स्वार्थपुर्णको लागि पो हिडाएको हो कि ? भो उनीहरु नै जानुन् मेरो यो तर्कले केहि गर्दैन। कमलराज युद्धमा होमिएका मानिसहरु प्रति शंकाको घेरा कोर्न पुग्दछ। दशैको टीकाको पर्सीपल्ट पिंडिको फलैचामा चौरासी कॉंटेका ससुरा र सासुको हातबाट टीका थाप्न आएका जेठीदिदी दालचिनीका श्रीमान आकासजंग भिनाजुसंग भलाकुशली गर्दै मच्चिदै गर्दा दलबल सहित गुणचन्द्र सरको पुन कमलराजको घरमा आगमन हुन्छ।

कमलराज कस्तो भयो तिम्रो दशै, बा आमा सबै सच्चै हुनुहुन्छ ? गाह्रोपर्यो नि उहॉंलाई त चिन्न ? नयॉं मानिसका बारे गम्भीर चासोका साथ सोध्दछन् गुणचन्द्र सर। दालचिनीको सानैमा गाउँबाट निकैटाढा बिहे भएकाले उनको श्रीमानलाई धेरैले चिन्दैनथे। यी भिनाजु उतिसारो ससुराल पनि आउँने गर्दैन थिए ! उनको नोकरीको प्रकृति पनि त्यस्तै थियो, (सुरक्षा फौजको अफिसर थिए) गुणचन्द्र सरलाई भिनाजुको बारेमा सबैकुराको जानाकारी पो छ कि ? भनेर कमलराज आफै हच्चिन्छ। सरले चिन्नुभएन दालचिनी दिदीको श्रीमान आकासजंग भिनाजु नि, मुग्लान बस्नुहुन्छ। बर्षहरुको फड्को मार्दै ४/५ बर्षमा मात्र दशै मनाउन भनेर पाल्नुहुन्छ, यसपाली पालो परेकाले बा, आमाको हातको टीकाथाप्न आउँनु भएको नि, कमलराजले गुणचन्द्र सरलाई भिनाजुको बारेमा बेलबिस्तार लगायौ,(कमलराजलाई युद्धमा लैजाने ध्यानले गुणचन्द्रको त्यो कुरालाई त्यति सारो गहिरिएनन्) ए, बल्ल चिने ज्वाईसाप अभिबादन गरे। एकैछिनको आदर सत्कारपछि गुणचन्द्र सर कमलराजसंग आफ्ना कुरा राख्न कोशिश गर्दछन्। खोज प्रसादजी संग पठाएको खबर र अस्ति तल ईच्छारामको पसलमा भेट्दा भनेको कुरालाई संझदै उनी भन्छन्। तिमीसंग एकछिन कुरा गरौ अनि हामी फेरी बासको लागि निकैटाढा माझगाउँ पुग्नुछ। धन्सार पछाडी रहेको गाईको गोठ छेऊमै गुणचन्द्र सरले कमलराजलाई अब तिमीपनि युद्धमा लाग्नुपर्छ, छोडिदेऊ पढाई सडाई, यस्तो बुर्जुवा शिक्षाले केहि हुदैन, जनबादी क्रान्तिपछिको शिक्षा पढ्ने हो। मेरो सर्टिफिकेटले केहि गर्यो खै ? म नबुझेर लागेको हुँ र युद्धमा ? हेर, कमलराज श्रमजिबी, गरिब निमुखा र अन्याय र अत्याचारमा बॉंच्न बिवश सर्बहाराबर्गको उत्थानमा लाग्नुपर्छ ? उनीहरुको आवाजहरुलाई तिमी र मैले बोक्नुपर्छ ? यिनीहरुको निदाउँरो अनुहारमा खुशी र आशाको किरण तिमी हामी जस्तै योद्धाहरुले छर्ने हो। हामीले जितेका दिन यी सारा दुखहरु समाप्त भएर सुख र आनन्दले भरिएको बिहानीलाई सबैले चुम्ने हो। किन्तु परन्तु अब ढिलो गर्नुहुन्न, युद्धको रथलाई समात्नु पर्दछ तिमीले। युद्धमा लाग्न प्रेरित गर्दै बोलिरहन्छन् गुणचन्द्र सर। मैले तपाईको आसय बुझे सर, कमसेकम दशपास त गरौ न है ! आउँदो मंसिरमा प्रवेशिका परिक्षा दिएपछि माघमा एसएलसी दिन्छु र सरले भनेझै गरिब र निमुखाको उत्थानको निम्ति मेरो बॉंकि जिबन सुम्पन्छु। कमलराजले दश कक्षापास गर्ने बिनम्र अनुरोध गर्छ गुणचन्द्र सरलाई। साथै यहि बिचमा सकुन्तलालाई यो कुराको जानाकारी गराए भने उनीले पनि केहि जुक्ति पो निकाल्छिन् कि ? (कमलराज मनमनै कथ्छ) तत्काल यद्धमा नजानलाई  अहिले गुणचन्द्र सरसंग बाहनाबाजी गर्दैछन् कमलराज। उनी सकुन्तलासंग झ्यागिंएको आफ्नो प्रेम र स्नेहलाई फुलाउँन चाहान्छन्।

दशैको छुट्टी सकिएसंगै विद्यालयको नियमित पठनपाठन शुरुहुन्छ। गाउँ माथि डॉंडाको चौतारीमा कलावति मिसलाई पर्खिएर बसेकी सकुन्तला मलिन र उदास मानसिकतामा टोलाई रहेकी हुन्छे। यसैपाली दशैमा किनेको फिक्का गुलाबी रंगको सिफनको बुट्टेसाडी, गाडा रातो देखिने ब्लाउज र आँखा नै लोभ्याउँने जाली चप्पल फड्कार्दै मिस आफैतिर आउँदै हुनुहुन्छ। अब्यक्त उनको मुहारको सौन्दर्यताले धर्तीलाई नै लाज छोप्न बाध्य पारेको हुँदो हो। स्वर्गकीपरी जस्तै सुन्दरता अनि शालिनताले बलेको ब्यक्तित्व, शिक्षाको ज्ञान र ज्योतिले सिंचित यो यौबन कसका लागि सॉंचेकी होलिन्। कलावति मिसतिर हेर्दै मनमा यस्तै तरंगहरु गर्छिन् सकुन्तला।(हुर्किएको र पढाई सकेको एक शिक्षित नारी किन बिबाह बन्धनमा नबॉंधिएकी होलिन् आफैलाई सोध्छिन् सकुन्तला) धेरैबेर मलाई पर्खियौ हो ? स्कुल आउँने तयारी त चॉंडै नै थालेकी हुँ, यो लाज ढाक्ने कपडा लगाउँन निकै समय लाग्यो, नयॉं कपडासंगै सजिएको यौबनका स्वरहरु बाहिर निकाल्दै सकुन्तलालाई भन्नहुन्छ कलावति मिस। लामो समय त भएको छैन, त्यस्तै ८/१० मिनेट मात्र बिताए होला ? परबाट नै मिस आउँदै गरेको देखिकी सकुन्तलाले कलावति मिसले आफुलाई पर्खिरहेको नदेखेकोमा खुशी हुन्छे। हामी यहॉं कमलराजलाई पनि पर्खने कि जाने ? कलावति मिसले सकुन्तलालाई सोध्छिन्। मिस त्यो दिन अब फर्किएला आउला र ? मधुर स्वरमा सकुन्तलाले प्रश्न गर्दछिन। के भनेको ? के भयो र फेरी ? कलावति मिसको मनमा लागेको शंका एकैपटक पोखिन्छ। जे नहुनु थियो त्यहि भयो नि मिस। दशैको छुट्टि बिचमै  गुणचन्द्र सर कमलराजको घरमा आएर फकाई फुलाई युद्धमा लगेछन्। मेरो मायॉं र प्रेमको सारथी/ बालसखा संगै खेली पढी हुर्कदै थियौ। खराब मानिस र पराईको आँखा लाग्यो। बेलाबेलामा गुणचन्द्र सरसंग भेट हुने गरेको कुरा त मलाईपनि सुनाउनु हुन्थ्यो। तर तिमीलाई ढॉंटेर र छोडेर यिनिहरुको पछि कुनैपनि हालतमा म जॉंदैजान्न। बरु स्कुल सकिनसाथ शहरतिर जॉंऊ है भन्ने गर्नु हुन्थ्यो। निराशबाणीमा कलावति मिसलाई आफ्नो बेदना पोख्छिन् सकुन्तला।

पढाईमा कमजोर र सिधा मिजासको कमलराज युद्धमा मोडिएको आफ्नो यौबनको जिबनको पथलाई बुझ्ने कोशिश गर्छ। जुनेली रातहरुमा सकुन्तलासंगको आफ्नो बाध्यात्मक बिछोडलाई संझदै दयाको सागरमा पौडि खेल्दछ। अनि एकशुरमा कल्पिन्छ। एकदिन त तिमीसंगै हुन्छु सकुन्तला। कमाण्डरहरुले दिने तालिम र प्रशिक्षणबाट ऊ आफुलाई केहि बुझेको र खारिएको जस्तो अनुभुत गर्दछ। युद्धको मोर्चामा अंग्रपन्तिमा रहेर काम गर्छ। बेलाबखत गुणचन्द्र सरले उनीसंग भेट्दा भन्ने गर्दथे, कमलराज तिम्रो कार्यकुशलता र क्षमताको कमरेडहरुले बडा प्रसंशा गरेका छन् है राम्रो गर्दै गर, तिमी कमाण्डर बन्दैछौ। सुन्दा, हौसिए पनि उनी मनमा प्रसन्न हुन्थे। हुन्छ सर तपाईको आज्ञालाई शिरोधर गर्छु। आफ्नो आधार ईलाकाको कमाण्डर भएपछि कमलराजले  आफ्नो गतिलाई बढवा दिन्छ। फरक बिचार राख्नेहरुलाई आफुहरुको प्रगतिको तगारो संझिन्छ। गाउँमा बिहान बेलुका एकछाक दुध र भात खानेहरुलाई सामन्ती देख्छ। गाउँका विद्यालय र शिक्षकहरुलाई बुर्जुबा शिक्षाको प्रतिक मान्छ। सेना र पुलिसमा जागिर खाएका गाउँका दाजुभाईहरुलाई कर्मशत्रु ठान्दछ। गाउँका समाजसेवीहरुलाई बिकासको बाधक सोच्दछ। यिनै कुराहरुलाई आधार र आदर्शको बिम्ब स्विकारी सबैका बिरुद्ध चेतावनीको धॉंवा बोल्छ। समाजको रितीथिती, परम्परा, चाडबाड र प्रचलनलाई दलाल, नोकरशाही र पुँजीबादको बिल्ला भिराउँछ। आफुले बुझेको ज्ञान होईन, अरुले बोल्न लगाएको र सिकाएको भाषालाई आफ्नो ठानी ढोंगी कमाण्डरको स्वरुप धारण गर्छ। उसमा मानवता हराउँछ। प्रेम र स्नेह के हो ? उसले बुझ्नै सकेन। कमाई गरेर बसेका मानिसहरुलाई गाउँ छोड्न बाध्य तुल्याउँछ। खेतीपातीमा जमेको सामाजिक सद्धावलाई साहु र जोताहाको नाममा खलल बनाउँदछ। टारी, गैरी र बेशी खेतहरु/ टार, पाटापरेका ठुलाठुला गराहरु र बिरौटाहरु जोतिनबाट बच्चित बनाईन्छ। तर्सित वाताबरणमा

जिबनयापन गर्न नसकेर युवाहरु बिस्तारै बिदेश पलायन र बुहारीहरु शहरका बस्तिहरुमा सन्तानको उज्ज्वल भविष्यको खोजिमा लाग्दछन्। गाउँका बस्तिहरु शुन्यतुल्य हुन्छ। कमलराज सर्बहाराबादको नारा घन्काउँदै रमाउदै यहि शुन्यतुल्य गाउँ बस्तिहरुमा डुल्न थाल्दछ। अनि घमण्ड गर्दछ मैले सबैलाई गाउँघर छोडाउन सफल भय। गैरी खेत र फॉंटहरु रोपिदैनन् र पाटाका गराहरुको बॉंझो फुट्दैनन्। तर, कमलराजलाई नै जिस्क्याई रहेको यी बॉंझो जमिनहरुमा ऊ क्रान्ति सफल भएको नाममा बिजयीको झण्डा गाड्दै मोहित हुन्छ।

नेपाली जनताहरुको बारम्बारको जनदबाब र आक्रोसको गतिले पर्खिरहेको समय भेट्टायो, युद्ध र द्धन्दले थकित नेपाली समाजले आफ्नो भारी बिसाई शान्तिको सासफेर्न खोज्यो। आधार ईलाकाबाट तैरिदै कमलराज पार्टीकै निर्देशनमा खटाईएको ठाउँमा उभिन पुग्यो। के गोटाचार मन्त्री र सॉंसदका लागि मात्र रचिएको थियो यत्रो ठुलो हत्याको श्रृंखला, कि आफ्ना पुस्तौ पुस्ता सम्मका दरसन्तानलाई अरबौको मालिक बनाउन लागि मात्र खेलिएको थियो यो खेल ? कमलराज मनमनै प्रतिप्रश्न गर्छ ? समयको चक्रजस्तै घुमेको आफ्नो जिबन र बितेका दिनहरुलाई बिश्रामको समयमा एकएक गर्दै फर्किएर हेर्दैगर्यो। केहि कारुणिक बिभत्स घटनाहरुलाई जिबनको शिक्षाको रुपमा ग्रहण गर्यो। अन्धोभक्त भएर अर्काको निर्देशनमा मासेल भएका घटनाका दृश्यहरुलाई संझेर अँगालेर गहिरो पश्चाताप गर्यो। मन देखिकै आँशुको भेल निकाल्यो। के मैले हिजो खाएको कसम यसैका लागि थियो। द्धन्दमा खर्चिएको दशबर्षे जबानी र त्यसपछि पनि देशमै केहि हुन्छ कि भन्ने आशामा बिताएका आफ्नो १२/१५ बर्षको उमेरलाई कल्पिएर ऊ क्रुद्ध बन्यो। द्धन्दको चरले शिथिल आफ्नो बॉंकि जिबनलाई समालेर अघि बढ्ने निधो गर्यो। उसले आफ्नो ठानेकाहरुबाट गरिएको ब्यबहार र स्वार्थमा लिप्त नेतृत्वको भुमिका देखेर बिरक्त मान्दै आयो। कलावति मिसले राजनितिको बारेमा आफुलाई पटक पटक दिएको सुझाव, अर्ति र उपदेशहरुलाई पल्टाउँदै बेला बेलामा भक्कानिन थाल्यो। बितृच्णाले बिछिप्त मनहरुलाई आफै संझाउँदै प्रेम र सद्धावको खानी, कोमल ह्रदय र सुन्दरताले जल्जयमान आफ्नी प्यारी बालसखा सकुन्तलालाई शहरका गल्लिहरुमा खोज्न थाल्यो। कमलराज युद्धमा होमिएपछि सकुन्तलाले जेनतेन पढ्न त पढिन् तर उति राम्रो गर्न सकिनन्। सकुन्तला सामान्य प्राईभेट अफिसमा काम गर्दै गुजारा चलाई रहेकी थिईन्। कमलराजले लामो प्रयासपछि सकुन्तलालाई भेट्छ र आफै बर्बराउन थाल्छ, देश र समाजको आमुल परिवर्तनको अभिलाषा बोकेर हिडेको म आफैलाई परिवर्तन गर्न र बुझ्नपनि सकिन। कच्चा बुद्धि र अल्लारे जवानीमा गरेको कठोर पथको यात्राको निर्णय मेरा जिबनको लागि अभिषाप बनेर आयो। सबैमा समानता, बर्ग संघर्ष  र समतामुलुक राज्य निर्माणमा दौडिएको थिए। मेरो राजनितिक चेतनाको ढोका खुल्दा सम्म त मैले गाएका गरिब र दिनदुखीहरुका गितहरु र बुलन्द पार्दै गाउँ बस्तीहरुमा घन्काएका नाराहरु सबै नगदमा बेचिई सकेको पाएँ। अहिले म संग न त शिक्षाको कुनै सर्टिफिकेट नै छ, न त कुनै ज्ञान र सिपको तालिम। छ त केवल यहि पाखुरामा भरिएको बल र मष्तिस्कमा केहि गरौ भन्ने आँट। अब, बॉंकि यहि बल र आँटलाई जिबन धान्ने साहारा बनाउँछु। कमलराजले यतिभन्दा सम्म  सकुन्तलाको गहँभरी आँशु छछल्किएको थियो।

देश र जनताको लागि भनि युद्धमा होमिएका कमलराज जस्तै योद्धाहरुलाई ब्यक्तिगत र पारिवारिक जिबनका बिषयमा ज्ञान र चासो रहने कुरै भएन। युद्धको मैदानमा उनले यी सबैकुरा बिर्सिसकेका हुँदाहुन। युद्धका मालिकहरुको आदेश मान्नु नै उनीहरुको कर्तब्य हुन्थ्यो। स्कुले जिबनको अन्ततिर लाल चढेको यौबनमा कमलराजसंग जुँधेका नयनहरु र त्यसबाट निस्किएको प्रेमभाब बास्ना बाहेक उनलाई यसबारे कुनै रस र आर्कषण नै रहेन। सकुन्तलामा एक असल नारीमा हुने सर्बगुण सम्पन्न थियो। उनको प्रेम प्रतिज्ञाले अटल र अमिट छाप छोडेको थियो। दश कक्षामा पढ्दा चौतारामा रहेको फराकिलो ढुंगामा सकुन्तलाको आफ्नै सल बिछ्याई कमलराजले किनेर ल्याएको चिउरा, दालमोठ र खाजा बिस्कुट खाएको दिनदेखि नभएको भेट,आजै संयोग जुरेको रहेछ। सकुन्तलाको मन मष्तिस्कमा अतितका ती दिनहरु भदौरे भेलजस्तै उर्लिएर आएको छ। बरु कतै बसेर खाजाखाउ न ? सकुन्तलाले कमलराजलाई अनुरोध गरिन्। हुन्छ, खाऔं ! मुन्टोले उत्तर दियो। चियाको सुर्पोसंगै सकुन्तलाले कमलराजलाई सोधिन् ? कति निष्ठुरी हगी छोरा मानिसहरु, यतिका बर्षहरु सम्म खोजिनिति पनि नाई। आफुले भने कत्ति बिर्सन सकेको होईन। संझेको त भई रहन्थे तर, आफ्नो कठिन परिवेशलाई बुझिदिन कमलराज अनुनय गर्छ। फेरी, पार्टीमै काम गर्ने की ? के सोंच छ तपाईको ? सकुन्तलाले भित्री आसय बुझ्न खोज्छिन्। अब त बुझे युद्ध कसका र के का लागि गरिएको रहेछ। उनले आफुले युद्धमा दिएको यतिधेरै त्याग र बलिदानलाई आफै फिक्का बनाउँदै भने। यहॉं त केहि गर्न सकिएला जस्तो छैन। बरु बिदेशमा गएर भविष्यको लागि केहि जो हो गर्छु। सकुन्तला एकशुरमा कमलराजलाई हेरी रहन्छिन्। अनि बिहे गर्ने योजना त ? बिहे त गर्ने नि तर, केहि कमाउन त परो नि। कमलराजको कसैसंग प्रेम सम्बन्ध भए नभएको पत्ता लगाउन खोज्छिन् र शंका गर्दै भन्छिन् खोई, मोर्चामै कोहि भेटिएको पो छन् की ? सकुन्तला अलि च्यॉंठ्ठिएर र कस्सिएर प्रश्न गर्छिन्। कोहि भएको भए त भनिहाल्थे नि, त्यस्तो केहि छैन, बिहे गरे तिमीसंग नै गर्छु, तिमीले साथ दिएनौ भने बरु बिहे नै गर्दिन। ढुक्कका साथ कमलराज प्रस्तुत हुन्छन्। यतिका समय मैलेपनि पर्खिएरै बसेकी छु। मैले पनि त्यहि प्रण गरे ! बिहे गरे तपाईसंगै गर्छु, अत म पनि यत्तिकै जिबन काट्छु, सकुन्तला आफुमा रहेको नारीत्वको भाबलाई मजबुँध बनाउदै राख्छिन। तिमी यहि केहि गर्दै गर म केहि बर्ष अलिअलि बुटो बनाएर आउँछु। अनि हामी दुबै बिबाह बन्धनमा बॉंधियौला हुन्न। कमलराजमा आएको परिपक्कता, सामाजिक चेतना र भविष्य प्रतिको चिन्ताले सकुन्तला प्रसंन्न हुन्छिन् र बिदेशजाने कमलराजको चाहानामा सहमति जनाउँछिन्। कठोर अठोटका साथ करिवन एकबर्ष पहिले देखि एउटा राम्रै कम्पनिमा काम पाएर ४२/४५ डिग्रीको तापक्रमको प्रवाह नगरी कमलराज अहिले बिदेशमा छन्। बर्षौको अन्तराल पछिको पुन मिलनले उत्साहित कमलराज बिहान बेलुका सकुन्तलालाई फोन गर्ने गर्छ। उसको उराठिएको जिबनलाई प्रेमरुपी नदीबाट सकुन्तलाले सिंचित गरिराखेकीछन्। प्रगाढ र घनिघुत सम्बन्ध र अर्कोसाल कम्पनिबाट घरछुट्टीमा जॉंदा बिबाह बन्धनमा बॉंधिने यी दुईको संकल्पकै बिचमा संसारलाई नै फन्कोमार्दै कोरोना भाईरसको महाब्याधी दिन दुईगुणा र रात चारगुणाको गतिमा फैलिदैछ। कोरोनाको कहरले काम गरेको कम्पनी अहिले बन्द छ। बिज्ञानले कोरोना भाईरसलाई जिति छाड्ने आशामा छन् कमलराज। संधियौ देखी नेपाल देशले सही राजनितिक नेतृत्व नपाएका कारण आर्थिक बिकास र समृद्धिमा खासै उपलबधी हॉंसिल गर्न सकेको छैन। कमलराज जस्तै अवसर र रोजगारीको खोजिमा संसारको श्रम बजारहरुमा भौतारिएका लाखौ लाख नेपाली नागरिकहरुको अबस्था एउटै र उस्तै छ। हामीले त बिदेशिनु पर्यो अबको भावी पुस्ताले सामान्य जिबनयापनका लागि कहिल्यै बिदेशिनु नपरोस्। कोरोनाको कहरमा नेपालीहरुमा पलाएको राष्ट्रप्रेम र राष्ट्रियताको लगाव चिरकाल सम्म पनि अक्षुण रहोस्। कोरोनाको कहर लगत्तै सकुन्तला र कमलराज जस्ता हजारौले गरेका सबै बॉंचाहरु पुराहोस्।

हेमराज भट्ट, हाल अमेरिका


सम्बन्धित शीर्षकहरु

रूस र युक्रेनले युद्धमा मारिएकाहरूको थप शव आदानप्रदान गरेको क्रेमलिनले जनाएको छ क्रेमलिनका एक सहयोगीका अनुसार, गत महिना टर्किएमा दोस्रो…

तितोपाटी-श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस गरिएको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

प्रतिकृयाहरू
...