तोयानाथ उपेक्षित, कोरोनाले हामीलाई सामाजिक दुरी कायम नगरे सजाय दिन्छ भन्ने त बुझ्यौ तर दलित वा उत्पिडितलाई छुवाछूतका नाममा पुस्तौ पुस्ता टाढा राखेर कति अन्याय भएको होला जुन कुरा बुझन खुकुरी र अचानोको कथा जस्तै छ । खुकुरीले बुझ्दैन अचानोले उत्तानो नपरी हुदैन ।
भर्खरको रुकुम काण्डले त्यही कुरा देखायो । भन्नका लागि त कतिले भने त्यहाँ दलित मात्र मरेन । दलितलाई साथ दिने क्षेत्री र ठकुरी पनि मरे यसर्थ जाति विशेषमा जोड्न हुदैन । तर यो सतहको व्याख्याले घट्नाको गहिराई पत्ता लाग्दैन । यदि मल्ल की छोरी लिन तीनै मर्ने मध्ये कुनै ठकुरी वा क्षेत्री जान्थ्यो भने त्यहाँ कोही कसैले प्रेम गरेको कारणले मारिनु पर्ने अवस्था हुदैनथ्यो । यसकारण को को मरे भन्ने कुरा मुल कुरा होईन । त्यसरी कोही मारिनु हुदैनथ्यो । मर्नेहरुको आत्मालाई शान्ति मिलोस तर किन मारिए भन्ने कुराले समग्र समाजको विभेद ओकालत गर्दछ । यसको निदान नखोज्ने हो भने भोली फेरी अर्को कुनै भागमा यस्तै घट्ना दोहरिदैन भन्ने छैन ।
काला जातिका युवासँग गोरा जातिका महिलाहरुको विवाह बढदै गएपछि युरोप र अमेरिका जस्ता देशहरुमा दुवै जाति बीच लडाई लगाई दिने काम भयो यसले दुवै जातिलाई एक अर्काको दुश्मन जस्तो बनाएर उभियाई दियो । जसले गर्दा अब त्यहाँ क्रस म्यारिज प्राय हुदैन । आफ्नो नश्ल बचाउन गोराले चाल चले । दास दासीका रुपमा अश्वेतहरुलाई हिजो त्यो युगमा जति घृणा गरिन्थ्यो आज त्यो भन्दा धेरै घृणा गर्ने ठाउँमा पुर्याइ दिए । जसका कारण ट्रम्प राजनिती चलेको छ । भारतमा धार्मिक असहिष्णुतामा मोदी राजनिती टिकेको छ । रुकुम घट्नाले पनि जातिय द्धेष ल्याओस भन्ने कतिको मनमा होला जसले द्वन्द्व बढाएर नजिकिदै गरेको सदभाव र विभेद विरुद्धको चेतनामा प्रहार होस ।
नेपालमा रंगभेद छैन तर जातिभेद त्यो भन्दा डरलाग्दो बनाउन खोजिदैछ । नेपालको पहाडी भेगमा रहेका उत्पिडित भनिएका जातिको पहिचान हेरेर वा बोलेर गर्न सकिदैन । उनीहरुको धर्म पनि अलग छैन, नाम पनि उस्तै हुन्छ । उनीहरुको भाषा अर्को छैन, परम्परा, सँस्कृति र सँस्कार पनि फरक छैन । तर पनि उनीहरुको थर सुनेपछि तिनलाई हेर्ने र निकटतम मान्ने सोच एक्कासी तल झर्छ । सुन्दर दलित स्त्रिलाई हत्ते हाल्न खोज्नेले उपल्लो भनिएको जातिको युवा उनलाई प्रेम वा विवाह नै गर्ने सम्मको मानशिकता बनाईसकेको अवस्थामा पनि थर सुनेपछि ३६० डिग्रिले परिवर्तन हुन्छ । बरु उसले स्वार्थ पुर्ति गर्ने, गुप्त सम्बन्ध बनाउने तहमा ओर्लन खोज्छ । काम बास्नाको सम्बन्धमा उनको सौन्दर्यतालाई ध्वस्त पार्न कोशिष गर्दछ । अर्थात उसलाई यौन चल्छ साथ चल्दैन । दलित पुरुषको थर थाहा नभएर मन पराउने उपल्लो जातकी स्त्री का आँखा पनि थर सुनेपछि तिलमिलाउछन । मानौ दलित सँगको जीवनभरको सम्बन्ध राख्न खोज्नु अभिश्राप हो ।
यहाँ रुकुम काण्ड र यसले उत्पन्न गरेका बहसहरुलाई हेरौ । डाक्टर बाबुराम भट्टराईले आफ्नो नाम र थरको अन्त्यमा कामी लेख्छु सवैले त्यसो गरौ भनेर संसदमा बोल्नुभयो । उहाँले बामपन्थि आन्दोलनको दशकौ सम्म अगुवाई गर्दा ती माओवादी प्रभावित क्षेत्रमा के जातपात भन्ने थिएन र ? के सिकाउनु भयो समाजलाई ? मार्ने र मर्ने कुराले उहाँको अभिष्ट त पुरा गर्यो तर ती दलितहरुले के पाए ? दलित लाई भट्टराई किन बनाउन सक्नुभएन ? उहाँको सिको गरेर कतिले म पनि नेपाली लेख्छु यो लेख्छु उ लेख्छु भनेको पाईन्छ ? यो भनेको प्रकारान्तरले ढोंगी कुरा मात्र नभएर उनीहरुको पहिचानलाई अझै धेरै होच्याउनु हो । आफ्नो अभिजात्य थर पूर्ण रुपमा त्यागेर दलितको थर मात्र लेख्नुस अनि मान्न सकिएला या त दलितका सवै थरहरु खारेज गरेर उनीहरुको गोत्र अनुसार उपल्लो जातका जे जे थर छन । त्यही लेख्ने छुट सहितको कानून बनाउनुस अनि मानौला । कचियाको विडमा लाहा वा जलप चाही नलगाउने कचिया निस्कन लाग्यो भनेर ढुंगामा विड मात्र ठोक्ने कुरा गरेर समस्या सल्टिदैन यो बल्झि मात्र रहन्छ । माधब नेपालले सिमानामा काडा वा पर्खाल लाउ भनेर भन्नु र बाबुराम भट्टराई नमेटी कामी थर लेख्छु भन्नु उस्तै कुरा हुन । मात्र सस्तो लोकप्रियताका जनताको चेतनामाथिको अन्डर स्टिमेट ।
नेपालमा जातिय विभेद हटाउन गाहो छैन, मात्र भएको मौजुदा कानूनलाई निर्मम भएर लागु गर्न सक्नु पर्दछ । गाउँ गाउँमा सामुहिक भोजहरुको आयोजना गर्ने कार्यक्रम ल्याउन पर्दछ । त्यहाँ उपल्लो जातका भनिएका पंण्डितहरुलाई सरिक गराउन सक्नु पर्दछ । जसले आनेकाने गर्दछ त्यसलाई कानूनी कठघरामा उभ्याउनु पर्दछ । किनभने सनातन धर्ममा जातिय कुरा कहि छैन । हिन्दुको मुल ग्रन्थ बेदमा छुवाछूत लेखिएको छैन । मनुस्मृतीले तत्कालिन जमनामा कामको बाडफाँड गर्यो, त्यो विस्तारै सानो र ठुलाको अहमतामा रुपमान्तरण गर्दै लगियो । तत्काल प्रतिवाद गर्ने चेतना थिएन । जुन परम्परा बनेर आयो । सयौ बर्षको अभ्यासले सानो भनिएका जातिहरुलाई पुच्छर र टाउँको खाने ठाउँ सम्म पुर्यायो ।
अहिलेको पुस्ताले बुझेको छ तर उसलाई निरुत्साहित बनाउने काम गरिन्छ । एक त गरिबी तल्ला भनिएका जातमा मौलायो । शिक्षाबाट बन्चित पारियो जसका कारण उनीहरु दविएर रहनु मै आफूलाई सुरक्षित ठान्न थाले । यो सयौ बर्षको सामान्ति समाजको अभ्यासबाट बयस्क बनेको विभेदकारी संयन्त्र ओभरनाईट समाधान हुदैन, समय लाग्छ । तर तल्लो जाति भएकै कारण हुने असमान व्यवहार र अपमानलाई तह लगाउन भने सकिन्छ । जसले गर्दा समाजले छलांग मार्न सक्छ । कमसे कम आज जसरी प्रेम गरेको कारणले अर्को नबराज र उसका साथीहरुले फेरी मर्न पर्दैन ।
त्यही देवता मान्न मन्दिर पसेको कारणले कुटाई खान पर्ने थिएन । धारा पानी छोएको कारणले अपमानित हुन पर्ने थिएन । यति सामान्य एक्सन लिन सरकारले सक्छ । कानून बनेको छ तर त्यसलाई परिपालन गराउने नैतिक सहास राजनितीले गर्दा असम्भव हुदै गएको हो । समाजमा हुने विभेद विरुद्धका आवाजलाई भोटका लागि टाउको गनेर फैसला गर्ने पक्ष विपक्ष हुने परिपाटीले गर्दा विभेद बढ्ने चिन्ता हो । सत्ता कठोर हुन सकेन भने यो समस्या अझै कति पुस्तासम्म पिडा बनेर चहरयाई रहन्छ थाहा छैन ।