सतिश चापागाईं- संसदमा प्रधानमन्त्रीले बिदेशका नेपालीहरुप्रति राज्यले देखाउने अभिभावकीय भूमिका र माया देखाउन नसकेको तितो यथार्थता सबै प्रवासीका लागी एउटा कालो दिन हो। आज कोहि नेपाली विदेश छ भने त्यो देशलाई माया नभएर होइन राज्यको माया नपाएर छ। देशमा अवसर खोज्दाखोज्दा नपाएको नेपाली बिदेशमा छ। दशनंग्रा खियाउदा खियाउदा पनि असफल भएर, ऋण लागेर विदेश आएको छ।
आज विदेशबाट उसले आमा, बाको औषधी किन्न पैसा पठाएको। श्रीमतीका सुख र सन्तानको शिक्षाको सपना बुन्दै गर्दा उसले बिदेशमा पसिना र रगत बेचेको छ। जीवन र जवानीलाई मरुभुमीमा सुकाएर कमाएको रेमिट्यान्सको जगमा नै नेपाल देशले समृद्धिको सपना बुनेको हो । तर, आज त्यही जनशक्ति रोग र भोकको चपेटामा पर्दा प्रधानमन्त्रीले ‘उनीहरुलाई ल्याए देश सोत्तर हुने’ शंसय र सन्त्रासमा हुनुहुन्छ। उनीहरु उतैका हुन्, उतै बिरामी परुन, उतै मरुन अनि अरबको भूमिमा दफन हुन् भनेर आनन्दले बस्नुभएको छ। यो सोंच किमार्थ राष्ट्रबादी सोच होइन। नेपाल देशको प्रधानमन्त्रीले सोंच्न सक्नु पर्छ की नेपाली नागरिकता बोकेका हरेक नेपाली जिउँदा कालापानी, लिम्पियाधुरा र लिपुलेक हुन्। उनीहरुलाई पैतालाको धुलो सोच्ने दुस्साहस जनताको प्रतिनिधि बस्ने सभामा कम्तिमा पनि नहोस। यसतर्फ कुम्भकर्णरुपी नाम मात्रका प्रतिपक्षी पार्टीहरुको ध्यानाकर्षण हुन् जरुरी छ।
कोरोनाले संसार आक्रान्त भएको चार महिना भयो। चीनबाट अमेरिका र युरोप पुगिसकेको र भारतसम्म आईपुग्दा पनि नेपाल सरकारले के गर्यो भन्ने कुराको साक्षी नेपाली जनता सबै छन्। मलाई सरकारको लेखाजोखा र बिरोध गर्नु छैन। मलाई मात्र बिदेशका नेपालीको जिम्मा कसले लिने भनेर सोध्नु मात्र छ।
विदेशमा रहेका नेपालीहरूलाई ल्याउनुपर्छ भनेर भन्न मात्र सजिलो भएको तर तयारी गर्न र ल्याउन गाह्रो भएको उनले सुनाए । प्रधानमन्त्रीलाई उनीहरुले सुझाब पनि त दिएका छन्। जनताले घर दिएका छन्। ब्यापारीले कलकारखाना दिएका छन्। प्रतिपक्षले सरकारसंग मिलेर काम गर्ने बताएको छ। एनआरएनएहरुले जानैपर्ने मानिस मात्र पठाउने भनेर तथ्यांक संकलन गरेका छन्। आवश्यक परे आर्थिक सहयोग पठाउने भनेर सार्बजनिक घोषणा पनि गरेका छन्।
यो पनि पढ्नुहोस : मृत शरीरमा पार्टिको झन्डा ओढाउनु कुरीति र कुसंस्कार हो – गोबिन्द न्यौपाने
तर प्रधानमन्त्री ओलीले “ह्वारह्वारी ल्याउने, कोरोना मात्र फैलाउने र देश नै सोत्तर बनाउने पक्षमा छैनौं ।” भनेर संसदमा बोल्नुहुन्छ। ह्वारह्वारी को आउँछ ? किन आउछन ? जो अफ्ठेरोमा परेको छ, त्यही मान्छे हो यो बेलामा हिंड्ने। नत्र मान्छे भित्रै त् लुकेर बसेको छ। कामबाट निकालिएको र घर न घाट भएको मान्छेले आफ्नो घर र देश सम्झेको छ यो बेलामा।
अर्को तथ्य पनि बुझ्न जरुरी के छ भने जो अहिले नेपाल आउन खोजेका छन्, उनीहरु रोगी पनि होइनन। ती नेपालीहरुले हामी स्वस्थ छौं तर जागिर गयो अब भोकले मर्ने भयौं भनेर भनेका छन्। त्यसकारण मात्र नेपाल आउन खोजेका हुन्।
प्रधानमन्त्री ज्यू! विदेशका साठी लाख नेपाली सबै फर्कदैनन। यसरी नेपाल फर्कने मानिसको संख्या एक लाखको हाराहारीमा हुन् सक्छ। धेरै मानिस श्रमका लागी अरबियन देशमा गएकाहरु नै आउने हो। सबै देशले उनीहरुलाई काठमाडौँको विमानस्थलसम्म निशुल्क छोडिदिने भनिसकेका छन्। तपाईले सहयोगको हात फैलाउनु भयो भने उनीहरुको एक महिनाको खर्च पनि सम्बन्धित देशले दिने छ। आखिर लाखौं नेपालीले विदेशीसंग भिखको लागि हात फैलाएर खानु भन्दा त तपाईले सरकारी तवरबाट सहयोगको हात फैलाउनु उत्तम होला नि !
अहिले एकदम अफ्ठेरोमा परेका मानिसको संख्या सयकै हाराहारी होला जो आफ्नो खर्चमा देश आउन सक्दैनन् । नत्र सबै आफ्नो घर पुग्ने खर्च आफै दिन्छौं भनेका छन्। केहि दिनमा यो संख्या हजारमा पुग्ने छ र एक महिनामा विदेशमा रोगी, भोका र नांगा लाखौं नेपाली हुनेछन। यो कुरा लेखेर राख्नु होला। अहिले नै लिएर आउनु भयो भने ९० प्रतिशत सबल युवा आउने छन्। रोगको महामारी र भोलिको भोकसंग आफै जुध्ने छन्। कति त सम्वृद्धिको सपनाको लागि साधक पनि हुनेछन्। अन्यथा, कति नेपाली परदेशमा लास बन्ने छन् र दुखको कुरा तिनको लासले पनि नेपाल देख्न पाउने छैन। जो आउने छन् ति पनि समृद्धिका बाधक बनेर आउने पक्का छ । मसंगको अन्तरबार्तामा युएईका एक एनआरएनए नेताले भन्दै थिए, “यस्तै हो भने २५ प्रतिशत नेपाली मानसिक रोगी भएर फर्कनेछन।” प्रधानमन्त्री ज्यु तपाई त्यही दिनको प्रतिक्षामा हो र ? होइन भने जो कुरा रोक्न हुन् र रोकेर रोक्न सकिन्न, त्यतितिर तपाइको सरकारको ध्यान किन जान्छ ?
यो पनि पढ्नुहोस : रबि दीयो थिए शालिकराम तेल – राजन ठकुरी
अब केहि दिन अघिको जस्तो छैन नेपाल की हामीलाई कोरोनाले छुन्न भनेर बस्न पाईयोस। अब त रोगसंग लड्नु पर्छ। त्यसका लागि पनि तिनै युवा आवश्यक पर्छन। रोग नेपालमा आउदै आउदैन भनेर ठोकुवा गर्न म सक्दिन । यो जसरि नि आउँछ र आईसक्यो । संसारमा कसैले छेक्न सकेन, यो सरकारको लकडाउनले पनि सक्ने छैन। तर यी मानिस आए भने कम्तिमा संसार भरका नेपालीको सहयोग पनि त थपिन्छ। आज विदेशमा डलर, पाउण्ड र दिराममा गरेको खर्च एनआरएनएले नेपाल मै पठाउन सक्छन। सबैले आफ्नो गाउँ टोलमा आफै सहयोग गर्ने छन्।
यो बेलामा सबैभन्दा ठुलो कुरा राज्यले हाम्रो ख्याल गर्यो भनेर सबै नागरिकले अनुभूत गर्नुमा सरकारको सफलता ठहर्छ । आज जसलाई बचाउन तपाई हरु विदेशका नेपाली नल्याउने सोच्दै हुनुहुन्छ भोलि तिनै मानिस मेरो छोरो/ मेरी छोरी ल्याईदेउ सरकार भन्दै सिंहदरबार घेर्न आउनेछन। विपदमा आफ्ना नागरिकको ख्यालसम्म गर्न नसक्ने सरकारले समृद्धिको कुरा गर्न सुहाउदैन यो पनि अर्को तथ्य हो ।
मानौं कुनै बाबुको एउटा सन्तान नदी किनारा मै र घुंडा घुंडा पानी भएकै ठाउंमा बग्न लागेको छ र बाबुले पानी चिसो छ भनेर तान्न सक्दैन भने त्यो बाबुलाई के भन्ने ? अहिले नेपाल सरकारका सन्तानहरु नदीको घुंडा घुंडा पानी भएको ठाउँमा बग्दैछन्। हात वा खुट्टा दिए मात्र पनि बाहिर आउन सक्छन। नदि गहिरो छ भनेर होइन की पानी चिसो छ भनेर बाबु बगरतिर दौडियो भने सन्तान अवश्य डुब्ने छ। नेपाल सरकार अहिले त्यस्तै बाबु हो ।
अन्त्यमा, कोरोनाले संसार आक्रान्त भएको चार महिना भयो। चीनबाट अमेरिका र युरोप पुगिसकेको र भारतसम्म आईपुग्दा पनि नेपाल सरकारले के गर्यो भन्ने कुराको साक्षी नेपाली जनता सबै छन्। मलाई सरकारको लेखाजोखा र बिरोध गर्नु छैन। मलाई यो सरकारसंग मात्र बिदेशका नेपालीको जिम्मा कसले लिने ? भनेर सोध्नु छ। कृपया यो प्रश्नको जवाफ दिनुहोला।