तोयानाथ उपेक्षित – कोभिड १९ को असर दिनदिनै डरलाग्दो हुदै गएको छ । आज कसैले यो भन्न सक्दैन भोली मानिसहरुको अस्तित्व कुन रुपमा रहन्छ ? देशका अर्थतन्त्रहरु कस्तो अवस्थामा पुग्दछन, मानिसहरुको जीवनशैली कसरी चल्छ । कति संख्यामा मर्दछन र कति बाँच्ने हुन ?
मानिसहरुले अझैसम्म पनि यसको गंभिरता बुझिरहेका छैनन । सरकारहरुले भोलीको अवस्था के हुन्छ भनेर आकलन गरिरहेका छैनन । कुनै विश्वशक्ति राष्ट्रले खोप निकाल्छ र सवै कुरा सामान्य होला भनेर धेरैले सोचिरहेका छन । तर विश्व स्वास्थ्य संगठनको चेतावनी यी सवै प्रकारका आशा र अपेक्षा विपरित जारी भएको छ । उसले यस भाईरसको अन्त्य कहिले पनि नहुन सक्ने चेतावनी दिईसकेको छ । खोप नै बनि हालेपनि दादुरा जस्तै यो सधै भरी रहिरहन सक्ने भनिएको हुदा कोभिड १९ ले विश्वको मानब जीवनशैलीलाई कहाँ पुर्याएर छाड्छ केही भन्न सकिन्न ।
अहिले संसारभरी सय भन्दा धेरै स्वास्थ्य सँस्थाहरुले खोपको विकाशमा आफ्नो ध्यान लगाएका छन । कसैले एण्टीबडीको विकाश गरेर भाईरस तह लगाउने त कसैले भाईरसलाई सोझै आक्रमण गरेर खतम पार्ने विधीमा काम गरिरहेका छन । एण्टीबडीको विकाश गरिरहेका औषधीहरुले भाईरस तह लगाउन पुरै सक्षम हुन्छ भन्ने ग्यारेन्टी हुदैन र शरिरमा प्रवेश गरेको अर्को विधिको भ्याक्सिनले यसलाई मारेर निको पार्छ भन्ने कुरामा पनि विश्वस्वास्थ्य संगठन विश्वस्थ नभए जस्तो देखिन्छ ।
विश्वका प्राय: सवै जस्तो विकशित देशहरु यसलाई व्यापारको मौकाको रुपमा लिएर काम गरिरहेका छन । उनीहरुका एक्ला एक्लै प्रयासले सफलता हात लागेन भने फेरी संयुक्त रुपमा हुने प्रयासले थप समय लिन सक्छ र त्यतिन्जेल सम्ममा मानविय तथा आर्थिक क्षति पनि विशाल भईसकेको हुन सक्दछ । हाम्रो जस्तो देश त्यतिन्जेल कस्तो अवस्थामा पुग्ला ?
एण्टीबडी भ्याक्सिन परिक्षणका लागि व्रिटेनका स्वास्थ्य अधिकारीहरुले त्यहाँ अनुमति दिईसकेका छन । यस्तै अमेरिका र अन्य युरोपेली देशहरुले स्वीस फर्मास्युटिकल रोशेद्धारा निर्मित खोपलाई यस अघि नै प्रयोगमा ल्याईसकेका छन तर नतिजा त्यति सन्तोसजनक देखिएको छैन । यसरी नै ईजरायल लगायत विश्वका विभिन्न देशमा खोप तयार गर्ने काम भईरहेका समाचारहरुका बीच कुनै एउटा त्यस्तो सुखद समाचार आईसकेको अवस्था छैन ।
कोभिडले विश्वको पर्यटन अर्थतन्त्र लथालिंग भईसकेको छ । वैदेशिक रोजगारी करोडौले गुमाईसकेका छन । हरेक देशका विकाश निर्माण ठप्प हुने अवस्थामा छ । एयरलाईन्स कम्पनीहरु छिट्टै टाट पल्टने अवस्थामा छन । जुन देशमा आफ्नै कृषी व्यवशाय छैन ति देशहरु भविष्यमा खाद्यान्न आयत नै गर्न नसकेर भोकमरीको शिकार हुने अवस्थामा पुग्ने संकेत देखिन थालेको छ । विश्व बजारको ठुलो जनसंख्या बेरोजगार हुने एक अनुमान र आकँडाले अव का दिनमा मानिसहरु भोकमरीका कारणले धेरै मर्न सक्ने, देश देशमा अराजकता र विद्रोह तथा लुटपाट मच्चिन सक्ने अनुमान गरिन्दैछ । राज्यले स्वास्थ्य अवस्थालाई नियन्त्रण गर्न सक्ने अवस्था गुमाउदै जादा विदेशमा रहेका लाखौ मानिसहरु आफ्नो देशमा प्रवेश नपाउने वा आउन नदिने सरकारका नागरिक विदेशमा तडपिएर मर्ने दिन आउन सक्छ । ईज्जतका लागि मात्र भए पनि हालसम्म धेरै रोजगारदाता मुलुकले जा भन्न सकिरहेका थिएनन तर अब मुख खोल्दैछन ।
प्राय धनी राष्ट्रहरुले भविष्यको यहि चिन्तालाई मध्यनजर गर्दै आफ्ना नागरिक बेलैमा ओर्सान थालिसकेका छन । नेपाल र यस्तै हालतका देशहरु जसको अर्थतन्त्र रेमिट्यान्समा आधारित छ ती देशले आफ्ना नागरिकलाई कहिले पनि फर्काउने छैनन । एकाध हजार कतै कतै बाट ल्याएर झारो टार्ने काम गरे पनि नेपाल फिर्ता आउन चाहाने सवै नागरिक जान पाउने दिन आउनेवाला छैन ।
हाम्रा परराष्ट्रमन्त्री, श्रम मन्त्री, अर्थ मन्त्रीका कुरा त बाहिर आईसकेका छन । उनीहरुले ल्याउन सकिदैन भनिसकेका छन । उनीहरुको प्राथामिकतामा बैदेशिक रोजगारमा गएका मानिस परेका छैनन । स्वास्थ्य सेवा दिने हैसियत छैन भन्ने बहाना बनाएर बसेका छन । कोरोना आएर समस्या बनाउछ भनेर समर्थन खोजिरहेका छन । विदेशबाट युवा ल्याए देशमा उत्पन्न हुने बेरोजगारी समस्याले विद्रोहको जन्म हुन सक्ने सरकारलाई डर छ । यसर्थ कोभिड विरुद्धको यो युद्धमा फेरी पनि धेरै मानिस मर्ने भनेको गरिब देशका नागरिकले नै हो त्यसमा पनि विदेशमा रहेका नागरिक या त रोगले या भोक र तनावले ।
सत्तालाई के थाहा छ भने कोरोनाले विदेशमा मर्नेको लास स्वदेश आउदैन । विमानस्थलमा लासको लाईन देख्न पर्दैन । टिभी र सामाजिक संञ्जालमा छाउदैन जसले गर्दा सत्तालाई आन्तरिक दवाब खासै पर्दैन । यसो भएको हुनाले नेपाल सरकारले सोचेको के हो भने मरे मरिहाले, बाँचे तिनले पठाउने पैसा त कहाँ जान्छ र ? यहि सरकारी मनोविज्ञानले गर्दा विदेशमा रहेका लाखौ नेपालीलाई उसले आज सम्म आश्वास्त पार्ने न बचन दिन सकिरहेको छ नत त्यसका लागि कार्ययोजना नै बनाएर काम गरिरहेको छ ।