Monday 27th May 2024

परदेशमा बल्लतल्ल पाएको रोजगार पनि कोरोना प्रकोपले गुम्ने सम्भावना प्रवल छ


चन्द्र गोतामे – अनेकौं चाहना र योजनालाई थाती राखी रोजगारीको सिलसिलामा कुवेत भासिएको पनि आधा दशक पूरा हुन झन्डै चार महिना मात्र बाकी रहेछ । नेपालमा रोजगारको प्रयाप्त अवसर नहुँदा हामी जस्ता लाखौं युवा खाडी लगायत अन्य मुलुक भासिन बाध्य भएका छौ । नेपाल मै बसौं भने बेरोजगार अनि घर व्यबहार धान्न पनि निकै कठिन हुन्छ । अनि कतै जागिर पाउनको लागि त्यहाँ कोहि आफन्त हुनु पर्यो वा सोर्स फोर्स लगाउन सक्नेले मात्र पाउने हो नत्र झोला बोक्यो अनि बिदेशको लागि काठमाडौं महिनैपिच्छे धाउने हो ।

बिदेश जान पनि त्यति सजिलो भने पटकै छैन । बिदेशबाट केही राम्रो कामको अफर आयो भने पनि म्यानपावर व्यवसायीले कि त आफ्नै मान्छे घुसाउछ कि त जस्ले अलि मोटो रकम भुक्तान गर्न सक्छ उसैले हो अवसर पाउने नत्र मोटो रकम दिन नसक्नेलाई त निकै कठिन छ । म पनि बिदेशको लागि आधा दशक पहिले काठमाडौं तिर भौतारिदै थिए । सकेसम्म ठुलै ठाउँ पनि ताकेकै हो तर दुर्भाग्यवश दलालको लापरबाही अनि राम्रो संग नबुझी ठगी दलालको बिश्वास गर्नाले धेरै दुख झेल्नुपरेको तितो यथार्थ मनमा झलझली आउँछ । अनि केही आर्थिक दलालले झ्वाम पारेको हुँदा सम्झिदा पनि रिसले मनमा आगो बलेर आउछ । अनि आफुले सोचेजस्तो वैदेशिक यात्रा तय नहुने भए पछि मनमा निकै तनाब भएको भान हुन्थ्यो । बुढापाकाले भन्ने गरेको उक्ति  झल्यास्स याद आउथ्यो ” देखेकोले हुँदैन लेखेको चाहिन्छ” हुन पनि हो कि जस्तो भान हुन्छ ।

अनि मलाई पनि झोक चल्यो अब ठूलो ठाउँ होइन खाडी नै भासिने तय भयो । अनि थुप्रै म्यानपावरमा धाउदा पनि कहि कतै आफुले चाहेजस्तो काम पाउन कठिन हुन्थ्यो । काठमाडौंको त्यो अस्तव्यस्त धुलाम्मे सडकमा लखर लखर हिडेको याद ताजै लाग्छ ।  बल्लतल्ल एक म्यानपावरमा कुवेतको लागि कोरियन कम्पनीमा डकुमेन्ट कन्ट्रोलर कामको लागी माग रहेको जानकारी पाए । मैले त्यो म्यानपावरमा सम्पर्क गरे अनि मलाई अन्तर्वार्ताको लागि बोलायो । म अन्तर्वार्तामा पास भएको एक महिना पछि भिसा आयो । कुवेत देखि भिसा आएको केही दिन पश्चात् कुवेत उड्ने तयारी भयो । अनि म्यानपावरले पैसा लिएर आउनु भन्यो तर मैले पैसाको बार्गेनिङ गरे । म्यानपावर व्यवसायीलाई पैसामा कम्ती गर्न भनेको तर मेरो कुरा त कत्ति पनि सुनेन । यति धेरै पैसा तिर्दिन सरकारले  मात्र १० हजार भनेको छ तपाईंहरु किन आफू मनखुसी पैसा असुल्नु हुन्छ भनेको मात्र के थिए तुरुन्तै जवाफ आयो अफिसको काम हो राम्रो कमाइ हुन्छ भनेको पैसा दिनुस नत्र अर्कै ब्यक्तीको लागि तयारी गर्छौ ।

अब त्यही त हो बल्लतल्ल पाएको जागिर किन छोड्नु भनेर आँखा चिम्लेर लाखौं रुपैयाँ बुझाएर दस हजारको मात्र बिल लिएर हरियो पासपोर्ट हातमा समातेर उडेको आजै जस्तै लाग्छ । कुवेतको एयरपोर्टमा झरेपछी कम्पनीको गाडी लिन आएको थियो । तर एयरपोर्टबाट बाहिर निस्केपछि त एक छिन  सातो पुत्लो उड्यो त्यो गर्मी पनि कति हो । मनमा अनेकौं प्रश्न खेल्न थाल्यो यस्तो गर्मी हुने ठाउँ रहेछ कसरी काम गर्न सकिछ होला । तर मलाई त म्यानपावरले अफिस भित्र चिसो एसिको हावा सरर आउँछ भनेको थियो । अन्य नेपालीले कसरी काम गर्छन होला यस्तो गर्मीमा भन्ने कुराले मनमा सताइरहेको हुन्थ्यो । के गर्नु आफ्नो देशमा कुनै रोजगारीको अवसर नभए पछि युवाको लागि प्रदेशमा न त गर्मी न त चिसोको नै प्रवाह हुन्छ ।

यस्तै अनेक थरीथरीका कुरा मनमा खेलाउदै कम्पनीको क्याम्पमा आइपुगे । अनि भोलि पल्ट देखि अफिसमा ड्युटी शुरु भयो । केही दिन त निकै असजिलो महसुस हुन्थ्यो । बिहान ६ बजे देखि बेलुका ५ बजे सम्म काम गर्नु पर्थ्यो । त्यसैले बिहान ४:३० बजे उठ्नु पर्थ्यो । कम्पनीमा नेपाली केही सिनियर अफिसरले अन्य सामान्य कामदार प्रती गरेको व्यबहारले कहिले काहीँ त मनमा निकै चिसो हुन्थ्यो । बिचरा बाहिर झन्डै ५०/५५ डिग्रीको घाममा काम गर्दा बिरामी हुँदा समेत छुट्टी पाउने थिएनन् । यो कम्पनीमा मैले झन्डै डेढ वर्ष जति काम गरे पछि अर्को कम्पनीमा ट्रान्सफर हुनको लागि म्यानेजर संग अनुरोध गरे । कुवेतमा कामदारले कम्पनीमा ३ वर्ष काम गरे पश्चात् अर्को कम्पनीमा ट्रान्सफर हुन पाउछ । तर मेरो भिसा भने प्रोजेक्ट थियो । प्रोजेक्ट भिसा लगाउने कम्पनीमा मात्र मेरो भिसा चेन्ज हुने हुँदा मैले अन्य राम्रा कम्पनीको अफर गुमाउनु परेको थियो ।

त्यसैले मैले अर्को प्रोजेक्ट भिसा लगाउने कोरियन कम्पनीमा एड्मिन अफिसर कामको लागि अन्तर्वार्ता दिए अनि छनोट पनि भए । पहिलेको कम्पनीमा भन्दा राम्रै सेवा सुबिधा पाए तर कम्पनीमा नेपाली म मात्र छु । बासस्थान देखि अफिस पुग्न झन्डै १ घण्टा गाडीमा लाग्छ । बिहान ४ बजे उठेर खाना बनाएर टिफिन बक्समा प्याक गरि ७ बजे काममा पुग्नु पर्छ । तर अहिले कुवेतमा केही ठाउँमा पुर्णरुपमा लकडाउनमा छ । अनि बेलुका ४ बजे देखि बिहाना ८ बजे सम्म कर्फ्यु लाग्छ । आज्कल ड्युटी समय परिवर्तन त भएको छ तर कोरोना भाइरसको भयावहले मनमा भने शान्ति कत्ति पनि छैन ।

अहिले बिश्वभर कोरोना भाइरसले आक्रान्त पारेको छ । कुवेतमा समेत दिनहुँ कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ  । मैले काम गर्ने प्रोजेक्टमा पनि केही ब्यक्तिमा कोरोना संक्रमणको लक्षण देखा परेको छ । त्यसैले मनमा निकै डर, त्रास पैदा हुन्छ तर पनि बाध्यताले काम गर्नु परिरहेको छ । यदि काममा नजाने हो भने तलब आउदैन जाउ भने कोरोनाको निकै डर छ । अहिले त मुस्लिम धर्मावलम्बीहरुको महान चार्ड रमादान शुरु भएको छ । यो समयमा काम गर्ने अवधि भनेको ६ घण्टा मात्र हो । रमादानको समयमा कर्फ्युको समय पनि बढाएको हुँदा बिहान ९ बजे देखि दिनको २ बजे सम्म मात्र ड्युटी छ । आज मिति २५ अप्रिल २०२० सम्ममा कुवेतमा जम्मा कोरोना संक्रमित २,८९२ जना छन भने जसमा ४२ जना नेपाली कामदार छन । कुवेतमा अहिले सम्ममा १९ जनाले मृत्युवरण गरिसकेका छन । मैले काम गर्ने प्रोजेक्टमा पनि विभिन्न कम्पनीमा गरि ६ जना नेपाली सहित ३४ जना कोरोना संक्रमित भएका छन । कुवेतमा केही प्राइभेट कम्पनीमा २ महिना देखि काम चलेको छैन । केही नेपाली कामदार बेतलबी भएका छन । खानाको समस्या परिरहेको छ । केही संघ सस्थाले उनिहरुको सहयोग स्वरुप केही दिनको लागि भए पनि खाद्यान्न वितरण गर्दै आएका छन ।

मैले काम गर्ने प्रोजेक्टमा अन्य कम्पनीका कामदारमा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा समेत काम बन्द हुने कुनै छाटकाट देखिदैन । कोरोना भाइरस प्रकोपले  गर्दा मनमा धेरै भय पैदा भइरहेको छ । आफ्नो देश फर्किन मन लाग्छ तर सरकारले जहाँ छौ त्यही बस भन्छ । मर्न परे पनि आफ्नै देशमा मर्न मन लाग्छ तर अहिले कुनै विकल्प छैन । आज २५ अप्रिल २०२० को विश्व स्वास्थ्य संगठनको डाटा हेर्दा विश्वमा २८ लाख ६७ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित छन भने २ लाख भन्दा बढीले मृत्युवरण गरिसकेका छन ।

शक्तिशाली देशको नागरिकलाई समेत कोरोनाले भयावह बनाएको हुदा हामी बिदेशमा रहेका लाखौं नेपाली आलसतालस भएका छौ । सरकार हामी युवा कहिले सम्म अर्काको देशमा गुलाम गर्नु पर्ने हो ? कहिले सम्म हामी युवा बिदेशमा डर त्रासको सिकार भई बस्नु पर्ने हो ? कुवेत सरकारले हवाई जहाज चार्टर गरेर बिदेशमा रहेका आफ्नो नागरिकलाई धमाधम आफ्नै देश फर्काएर लिएको छ तर हाम्रो भने कहिले होला नेपाल जाने भनेर दिन गनेर बस्नु  पर्ने अवस्था छ । हाम्रो रेमिटेन्स देशलाई प्यारो लाग्ने अनि हामी यस्तो कोरोनाको महामारीमा यहि आलसताल भएर बस्नु पर्ने कस्तो विडम्बना छ । प्रदेशमा कोरोना प्रकोप कै कारण अब लाखौं युवाको जागिर गुम्ने सम्भावना प्रवल छ ।यस्तो बिपत्तिको बेलामा आफ्नो नागरिकलाई स्वदेश फर्काउने परिपाटी मिलाउन सरोकारवालाको ध्यानाकर्षण होस् ।


सम्बन्धित शीर्षकहरु

पपुवा न्यु गिनीमा सिंगै गाउँमा पहिरो खस्दा त्यहाँ बसोबास गर्ने हजाराै मानिस पुरिएको खबर छ । पपुवा न्यू गिनीमा शुक्रबार…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

चक्रवात रामलले गति लिएपछि बंगलादेशको तटीय क्षेत्रसँग जोडिएका धेरै गाउँहरू खाली गरिँदै छन्। हजारौं मानिसहरु सुरक्षित स्थानको खोजीमा गाउँमा घरबार…

प्रतिकृयाहरू
...