तोयानाथ उपेक्षित,यति बेला धेरैको मनमा उब्जेको प्रश्न हो नेपाल कहाँ छ ? विश्वको मान चित्रमा मझौला क्षेत्रफल भएको नेपाल संसारका आधा देश भन्दा साना र आधा भन्दा ठुलो छ । तर अभाव महंगी र गरिबीको मानकबाट हेर्दा यो सवै भन्दा पुच्छरमा रहेको छ । हेर्दा हेर्दै यो देश झन गरिब हुदैछ । दक्षिण एषियामा मालदिप, भुटान र बंगलादेश भन्दा नेपाल गरिब छ । यो प्रजातन्त्रको देन मान्नु पर्दछ । अनि भन्नु पर्दछ हाम्रो देशमा संसारमै उत्कृष्ट एक थान संविधान र त्यस्तै व्यवस्था छ । यो कागजी घोडामा चढेर रमाउन कहिले छाड्ने होला ।
किन यस्तो भयो नेपाल ? यस्तो हुनै पर्ने कारण यहाँको भुगोल हो ? पक्कै होईन ? भुगोल त उर्वर छ । पहाडहरु हराभरा छन, नदि नाला र जंगल ले देश सुन्दर छ । प्राकृतिक सम्पदा र जडिबुटीले भरिभराउ छ । अन्तको त कुरै छाडौ । हिउ ले छ महिना ढाक्ने पहाडहरुमा समेत चौरी चर्छन, यार्शा गुम्बा उर्मछन । लाखौ डलर प्रतिकिलो पर्ने जडिबुटी फल्छन, फेरी यो देश झनझन गरिबीतिर बढ्दो छ । पूर्व देखि पश्चिम सम्मको उत्तरी भागमा सेतो हिमालको पर्खाल छ । तर दक्षिणतिरका लुटेराहरुलाई सवैतिरबाट नेपाल पस्न बाटो खुल्ला छ । एउटा हिमाल आरोहीले लाखौ रुपैया रोयल्टी बुझाउछ हिमाल टेके बापत, फेरी पनि हामी संसारको सवै भन्दा गरिब छौं । हाम्रो देश हेर्नका लागि संसारका मानिसले पैसा तिर्दछन, हामी उनीहरुका देशमा श्रम बेच्न जान बाध्य छौं ।
तराईमा धानका बाला झुल्ने माटो छ । माथिबाट झर्ने छांगा र खोलाहरु रातदिन अविरल बगिरहन्छन तर ति आसपासका जमिन सुःखा छन । मानिसहरु प्यासी छन । किसानहरु आकाश हेरेर बस्दछन । जे फाल्यो त्यहि उम्रने तराईका जमिनहरु विस्तारै मासिदै गएका छन । पहाडका जमिनहरुमा बनमारा पलाउदै गएका छन । हाम्रो जनशक्ति विदेशीएको छ । बीर गोरखाली भन्न सिकाईएको छ, स्वभिमानी भनेर भन्न लगाईन्छ तर हजारौ जनता दैनिक गुलामीका लागि लर्को लागेर विदेशीन्छन । लुटन सम्म देश लुटिसकेपछि जनता लुट्ने काईदाको फर्मुला हो यो बैदेशिक रोजगार मा पठाउने सरकारी व्यापार । यसरी युवा जनशक्ति विदेश गएर कमाएको धनले सरकार, पार्टी र नेताहरुको दैनिकी चलेको छ ।
जानकी मन्दिर को महत्व लाई कम गराईएको छ । बुद्धको अस्तित्वलाई अर्कैले आफ्नो भनेर दावी गर्दैछ । धार्मीक स्थलहरुको प्रचार र पर्यटन पर्वधनले नेपाल एषियाका अर्को मक्का जस्तै देश हो । तर यहाँ पशुपतिनाथ, बौध, मुक्तिनाथ पनि हात थापेर माग्न बसेका छन । तिनको भेटी पनि लुटिन्छ अन्तै लगिन्छ ।
अहिले एउटा भाइरसले नेपालीको आँखा खोलिदिएको छ । एउटा भुकम्पले राष्ट्रियताको चेत खोलिदिएको विर्सनै लाग्दा कोरोनाले देशको बास्तविक चित्र देखाई दिएको छ । देश त मौरीको रित्तो घारो जस्तै पो रहेछ । मह काढदै देश छाड्दै गर्नेहरु ले हामीलाई कहाँ पुरयाएका रहेछन ? जनतालाई घोत्लिने बनाई दिएको छ । स्वास्थ्य र शिक्षाको व्यपारीकरणले आज छर्लङ्ग पारेको छ की यो व्यवस्था कसको लागि रहेछ । यो प्रजातन्त्र के का लागि रहेछ ? यो संघियता किन आको रहेछ । एउटा वडाध्यक्ष किन लाखौ रुपैया खर्च गरेर चुनाव लडदो रहेछ ? देश लुट्ने यो व्यवस्था भन्दा पञ्चायत नै ठिक थिएन त ?
अहिले को सरकारलाई यी सवै समस्याको दोष दिन खोजेको हैन । यो सरकार ले ती सवै खालका तमाम विकृती, विसंगति र कुसस्कृतिलाई भंग गर्न सकेन बरु निरन्तरता दिईरहेको गुनासो पक्कै हो । देशलाई नयाँ गति र बाटो दिन न व्यवस्था बदलिएर संभव देखियो न सरकार बदलिएर नै । गरिब हुनै नसक्ने देशलाई आज यस्तो सार्वङ्ग बनाउने अरु कोही नभएर राजनैतिक दलका नेता र कर्मचारीतन्त्र नै हो तर दुःख पाउनु पर्ने जनताले यो कस्तो विडम्बना ! अब पनि देश लुट्ने लुटेराहरुको खोजी गरिएन भने बास्तबमा नै नेपाल कहाँ छ भनेर खोज्न पर्ने दिन आउछ ।
अहिले हाम्रो स्वास्थ्य अवस्था के रहेछ कोरोनाले देखाई दियो । शैक्षिक बेरोजगार उत्पादन गर्ने हाम्रो शिक्षा नितिले हामीलाई संसारका रयाल सिंगान पुच्ने र जुठो भाडा माझ्ने बनाई दियो । विकाश निर्माणको त कुरै नगरौ । हाम्रो देशको दौलत र बैभव सवै युरोप, अमेरिका, अष्ट्रेलिया र क्यानाडामा थुप्रिएको छ । भोका नांगा भएका नेपालीहरु धर्म बेचेर बाँच्न थालेको अवस्था छ ।
एउटा सामान्य कर्मचारी जतिजति भ्रष्ट हुदै जान्छ उ गाउँबाट शहर पस्छ, त्यहाँबाट राजधानी छिर्छ अनि विदेशमा बसाई सर्छ किन ? बल्ल बुझ्न थाले जनताले । हिजोका भ्रष्टचारीहरु सवै बसाई गईसकेका छन । उनीहरुलाई सुख र आनन्द छ । भौतिक स्वर्ग मा रमाएका छन । यो क्रम निरन्तर छ । तीनको पदचाप पछ्याउने कर्मचारी तन्त्रको बर्तमान पीढी लाई बहुदल झन मालामाल व्यवस्था बनेको छ । लालबाबु पण्डित ले रोक्न खोजे तर त्यस्तो मानिस यो देशमा असक्षम भईहाल्छ । गोकर्ण जस्ता लाई हुत्याईन्छ ।
युवाहरुले विदेशमा दुःख गरेर पठाएको डलर अन्तत डलर जन्माउनेहरुकै देशमा जादो रहेछ जसरी हजारौ पटक मन्दिर अगाडीको दोकानमा एउटै नरिवलको दाना बेचिन्छ । अनि नेपाल गरिब नभए के हुन्छ ? कर्मचारीतन्त्रको घोर अपराधीक मानशिकतालाई राजनितीले नियन्त्रण गर्न सकेको भए देश उभो लाग्ने थियो तर राजनीतीज्ञका गुरु तिनै भ्रष्टचारी पण्डितहरु भए पछि देश कसरी सम्पन्न होस ।
सरकारी सेवामा लागेर अधिकृत भन्दा माथि पुगे पछि पेन्सन पाएका वा जागिर खाईरहेकाहरुको डाटा खोज्ने हो भने अधिकांशको घर विदेशमा भेटिन्छ । कति त उतै मरिसके होला तिनले देश लुटेर लगेको सम्पतीमा तिनका सन्ततीहरु उतैका भईसकेका छन । अहिले पनि हजारौ लुटेरा कर्मचारीहरु झिटीगुण्टा पोको पारिरहेका छन । देशमा मानिस खान नपाएर बसाई हिड्छन । एकथरी नेपाली रोजगारी नपाएर खाडी र मलेशिया जान्छन अर्काथरी लुटेराहरु भौतिक सुख,सहेल र सुरक्षा खोज्दै कालो धन लुकाउन विदेशतिर बसाई हिडिरहेका छन ।
रोजगारी गर्न गएर वा पढ्न गएर उतै जागिर खाएका तथा पेशा व्यवशाय गरेर एनआरएन हुनेहरुको संख्या त औलामा गन्न सकिन्छ । देश लुटेर जानेहरुको त ती देशहरुमा ठुल ठुला बस्ति नै छन भनिन्छ । अहिले हाम्रो देशको बास्तविक स्वरुप प्रकृतिक भाईरस कोरोनाले देखाई दिएको छ । यो भन्दा खतरनाक भ्रष्टचारी भाईरसहरुले हाम्रो देशलाई उहिले देखि नै ग्रस्त र आक्रान्त बनाईरेका छन । देश आईसियुमा बाँचिरहेको छ ।
अब सोसियल डिस्टेन्स नेता, राजनितीक दल र भ्रष्टचारीसँग शुरु गरौ । कोरोनाले त हामीलाई छाड्ला तर राजनिती र व्युरोक्रयाटसको खोल ओढेका कोरोनाले देशलाई कहिल्यै छाडने छैन । हामी सधै मर्ने अकाल मै हो । भ्रष्ट राजनैतिक प्रणाली र परिपाटी नै बदल्न पर्ने बहस पक्कै पनि अब शुरु होला आशा गरौं ।