Thursday 19th June 2025

परदेशीको कथा आफ्नै


ध्रुव क्षत्री – पिडा सबै लुकाएर मृत्यु संग लड्छ परदेशी
सपनाको संसार फेर्न निडर भइ बढ्छ परदेशी!
परिवारको सपना र जिन्दगीको लक्ष्य बोकी!!
सफलताको शिखर चुम्न चढ्छ परदेशी!

भोक निद्रा नभनेर केवल लक्ष्य पुरा गर्न
पचास डिग्री नभनेरै चर्को घाममा डढ्छ परदेशी!
न छ आमा न छ बुवा याद मात्र संगालेर
आफ्नो कथा आफै लेख्दै पढ्छन परदेशी !!

समय, परिस्थिति र बिवशता यी तिनै कारणले आफ्नो जन्म घर आमा बाबा, प्रिय साथी भाई अनि सुख होस, वा दु:खमा साथ दिने प्यारो बस्तीबाट सपनाको संसार सझाउनको लागी सुनौलो भविष्यको खोजीमा निस्कने मान्छे नै “परदेशी” हो । प्रदेशी रहरले भन्दा पनि बाध्यता, जिम्मेवारी दुबै पूरा गर्ने सपनाको मालिक पनि हो।

जव समय र कालखण्ड फेरिदै जान्छ मान्छेमा जिम्वेवारी र परिचय पनि फेरिदै जान्छन । त्यसैले हिजो ‘बुवा आमाको आश्रयमा बस्ने आज न अाँखाले देख्न सक्ने न त सजिलै भेट्न नै सक्ने गरि बादलपारीको देश बाट केवल यादमा पौडिरहेको हुन्छ’ प्रदेशी, । “परदेशी” शब्द नै भन्दा र सुन्दा नै कस्तो नमिठो लाग्छ । परदेशी भनेको ‘बिरानो’ बिछोडिएको फेरी भेट हुन्छ होला कि हुन्न होला भन्ने कुरा मनमा खुल्दुली चलाइ दिने शब्द झै बन्यो “परदेशी” ।

मान्छे प्रदेशी किन हुन्छ ? जब समयको चक्र फेरिदै जान्छ । उसको आवस्यकता र जिम्वेवारी पनि संगै फेरिदै जान्छ । जब यी सबै कुरा थपिदै जान्छन । यी आवस्यता पुरा गर्ने ‘सजिलो’ र ‘स्पष्ट’ बाटो बन्छ प्रबास, अनि आफ्ना सबै सपना मन भरी पोको पारेर भविष्यको खोजीमा लाखौ मान्छेको हुलमा आफु एक्लिएको अनुभुति गर्दै प्रदेशी हुन्छ ।

“सर्पको खुट्टा सर्पले मात्र पो देख्छ” बिचरा ओल्लो डालीमा रुने न्याउलीको रोदन कहा पल्लो डालीमा नाच्ने मयूर बुझ्छ र ? सबैको सपना बोकेर परदेशिएको प्रदेशी भएकै दिन बाट घरमा पैसा आउने दिन गनेर बस्नु अनौठो हैन । तर बिडम्बना यो ‘सहर’ भित्रको ‘रहर’ हामीले कल्पना गरेको भन्दा जति ‘सुन्दर’ र ‘बिकसित’ छ, त्यती “स्वार्थी’ र ‘निरिह ‘ पनि छ, भन्ने कुरा के थाहा र पैसा आउने दिनको लागी औला भाच्दै बस्ने बुवा आमालाई ?

“मनको बह कसैलाई नकह” भने झै कसै संग नबोलु सम्पर्क बिहिन हु भने पनि लौ फलानो ठुलो पल्टियो के बिदेश गएको थियो ।  हामीलाई नगन्ने भो भन्छन । सम्पर्क बढायो सन्चो बिसन्चो काम के कस्तो छ भनेर सोध्नु पहिले त्यहा त फलानो समान ‘ओरिजिनल’ पाइन्छ रे । अनि ‘आइफोन’ र धनबहादुरलाई ‘केन्द्र’ बनाउछन । लौन हामीलाई पनि एउटा सम्झनाको चिनो पठाइ दे हामी पनि हुने खाने भए हेरौला भनेर गुनासो पोख्छन बिचरा !

तिनीहरुलाई पनि के थाहा केटोले “थर्ड हेन” मोबाइले गुज़रा चलाएको छ भन्ने । साच्ची “परदेशी” पनि दुई’ ‘प्रकारका हुन्छन एक थरी आफुले नै पत्ता लगाएर म मात्र कोही नगएको कसैले नदेखेको “उपग्रह”मा नै छु झै गर्ने अहमताबादीको भुमरीमा ‘घमन्ड’को मुकुन्डो ओढेर बस्ने प्रदेशी अर्का यथार्थ र बास्तविकताको दुनियालाई सुख र दु:खको चक्र सम्झने परिवार प्रेमी भविष्यको चिन्ता प्रेमी परदेशी ।

आखिर जो जस्तो प्रदेशी भए पनि यथार्थमा परदेशी पिडा, समस्या र स्वतन्त्रताको परिधिबाट अलग्गै बस्न सक्दैन । त्यसैले त सबै को सपना पुरा गर्ने लक्ष्य बोकेको प्रदेशी कहिले आधा पेटमा दिन बिताएको हुन्छ । कहिले राता सुनियका अाँखा अनिधोको प्रमाण लिएर अाँखा मिच्दै दौडिरहेको हुन्छ । भोलीको खुसीको लागी मन्द मुस्कान बोकेर! युद्धमा होमि सकेको सिपाही झै ।

साच्ची परदेशी बलि रहेको “मैन”बत्ती झै हो । आफु पग्लिएर आफु सधै अध्यारो भएर पनि परिवारको उज्यालोको लागी अलि कति सास बाकी हुदा संम्म बलिरहेको हुन्छ । “प्रदेशी” अनि अहोरात्र डुंगा खिहाइ रहने ‘माँझी’ झै पनि हो प्रदेशी, कतिलाई पारी तार्छ । तर आफु सधै वारीको वारी भए झै आफु नोकरी गरेर परिवारलाई तलवको जिम्मा लगाइ दिन्छ ‘परदेशी’।

बचेरा गुंडमा छोडेर आहारा खोज्न हिडेको चरी झै हो प्रदेशी, कहिले आउछ र खाउला भनि पर्खिबसेका बचेराहरु “शिकारी” को पासोबाट चारो टिपेर आउने नआउने कुनै ठेगान नभएको सुत्केरी चरी झै । विरानो बस्तीमा सपनाको महल बनाउदै दु:ख र पसिना संगै पौडी खेल्ने साहसी हो परदेशी, आधा बाटोमा हराएका गन्तव्य बिहिन यात्रालाई मुल बाटो सम्म पुर्याउने सपना देखेको बटुवा हो परदेशी ।

बर्षौदेखि चुहिएक छानो र फाटेको आमाको चोली फेरिदिने सपना बोकेर हिडेको कालो बादल भित्रको चादीको टुक्रा हो “परदेशी”। अपसोच, मनमा “जननी जन्म भुमिस्वम स्वर्गदपि गरियसी”हुदा हुदै पनि कहा हो कहा चिन्दै नचिनेको देख्दै नदेखेको दुनिया संग श्रमको साइनो गासेर पिडा हुदा पनि मुस्काइ मुस्काइ हिड्नु पर्ने रमितेको सहरमा गुम्सिएका रहरहरु लिलाम बिक्रिमा राखेर सुनौलो भविष्यको लागी सुनौलो सपनाको लागी भन्दै प्रदेशीको बिल्ला भिरेर कहिले सम्म भौतारी रहनु पर्ने हो यो श्रम लुटिएको शहरमा विरानो “परदेशी”….. ।

लेखक हाल – कतारमा कार्यरत हुनुहुन्छ ।


सम्बन्धित शीर्षकहरु

बुधबार, इरानले रातभरको आक्रमणको नयाँ चरणको रूपमा इजरायलमा हाइपरसोनिक मिसाइलहरू प्रहार गरेको दाबी गरेको छ। देशका शीर्ष नेता, अयातुल्लाह अली…

इरानको आणविक, सैन्य र अन्य साइटहरूमा इजरायली आक्रमणको प्रतिक्रियामा शुक्रबारदेखि लगातार छैटौं दिन इरानी क्षेप्यास्त्र प्रहार हुँदा इजरायलभरका शहरहरूमा साइरन…

एजेन्सी -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वलाई लिएर ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरेपछि मध्यपूर्वमा थप लडाकु विमान र…

प्रतिकृयाहरू
...