Friday 11th September 2026

देउवाले एकलौटी गठन गरे १३ विभाग


भाग पाएपछि सिटौलाले दिए नाम, ५ आमन्त्रित केन्द्रीय सदस्य पनि मनोनीत

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटीरुपमा पार्टीका १३ विभाग गठन गरेका छन् । पार्टीभित्रको रामचन्द्र पौडेल समूहले विभागमा बस्‍ने नेताहरुको नाम नदिएपछि नेता कृष्णप्रसाद सिटौला समूहलाई एउटा विभागको संयोजक दिएर १२ विभागमा आफ्‍नो समूहका नेतालाई संयोजक बनाएका छन् ।

 

देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम पार्टी केन्द्रीय सदस्यहरुलाई विभागको जिम्मेवारी सुम्पेका हुन्।

देउवाले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई संगठन विभाग, रमेश रिजाललाई संघीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग संयोजकको जिम्मेवारी दिएका छन्।

त्यस्तै, आनन्दप्रसाद ढुंगानालाई वित्तिय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरासियालाई तराई मधेस समन्वय विभाग, महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभाग र शंकर भण्डारीलाई तरुण विभागको जिम्मेवारी दिएका छन्।

सीता गुरुङलाई आदिवासी जनजाति विभाग, गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग र प्रवक्ता विश्वप्रकाश शर्मालाई सूचना, सञ्चार तथा प्रसार विभाग र शिवप्रसाद हुमागाईंलाई श्रमिक तथा ट्रेड युनियन विभागको संयोजकको जिम्मेवारी दिएका छन्।

यीमध्ये हुमागाईं पार्टीभित्रको सिटौला समूहका हुन्। बाँकी सबै संस्थापन पक्षका हुन्। जनसम्पर्क समन्वय समिति विभागको जिम्मेवारी पाएका भट्टराई केही समयअघि मात्रै पौडेल समूह छोडेर संस्थापनतिर आएका थिए।

देउवाले शुक्रबार नेता रामचन्द्र पौडेललाई टेलिफोन गर्दै आफू विभाग गठनको तयारीमा रहेकाले विभागमा राख्‍ने नेताहरुको नाम दिन आग्रह गरेका थिए। पौडेलले देउवालाई महाधिवेशनको तयारीमा लाग्‍न सुझाव दिँदै अहिले विभाग गठन गर्न नाम दिन नसक्‍ने बताएका थिए। त्यसअघि बिहीबार साँझ उपसभापति विमलेन्द्र निधि पनि विभागमा राख्‍ने नेताहरुको नाम दिन आग्रह गर्न पौडेल निवास बोहोराटार पुगेका थिए।

प्रवक्ता विश्वप्रकाश शर्माले नेता पौडेलसँग नाम माग्दा नदिएपछि सभापतिले आफ्‍नो अधिकार प्रयोग गरेर विभाग गठन गरेको जानकारी दिए।

देउवाले आफू पक्षीय ५ नेतालाई आमन्त्रित केन्द्रीय सदस्य मनोनीतसमेत गरेका छन्। देउवाद्वारा जारी विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य कृष्णकिशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुटा) र र ध्रुव वाग्ले (तनहुँ) लाई मनोनयन गरेको उल्लेख छ। आमन्त्रीत केन्द्रीय सदस्य भएकामध्ये शिवाकोटी र बस्नेत नेता सिटौला पक्षीय हुन्। बाँकी सबै संस्थापन पक्षीय हुन्।
ईकान्तिपुरबाट 

सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...