Saturday 18th May 2024

सडकदेखि इण्डियन आइडलको ताजसम्म


आइतबार राति सम्पन्न भएको ११ औं संस्करणको ‘इण्डियन आइडल’को उपाधि सनी हिन्दुस्तानीले उचाले। उनले उपाधिको साथमा ट्रफी र नगद २५ लाख भारू पनि जिते।सनीको जितले एउटा फुटपाथमा जुत्ता पालिस गर्दै हिँड्ने २१ वर्षे ठिटोलाई एउटा परिचय दिलाइदिएको छ।

यो परिचयले सनीलाई आफ्ना सपनाहरुको सफल उडान र अवतरण गर्न ठूलै सहयोग गर्नेछ। उनका अगाडि एउटा फराकिलो बाटो बनाइदिएको छ।तर यहाँसम्म पुग्न उनले गरेको संघर्ष सानो छैन। जिजीभिषाकै चर्को संघर्षकाबीच उनले आफूभित्र हुर्काएको गायकीले आज एउटा मूल्य पाएको छ।उनी यस संस्करणको उपाधिका दर्हा प्रतिष्पर्धी हुन भन्ने कुरा उनले अडिसनबाटै प्रमाणित गरिसकेका थिए।

अडिसनमै निर्णायकहरू नतमस्तक

‘हुन त बोल्न हुँदैन होला तर यस्तो लाग्यो अगाडि नुशरत साहब उभिनु भएको छ।’

११ औ संस्करणको इण्डियन आइडलमा सनी हिन्दुस्तानीलाई पहिलो पटक सुनेपछि शोका निर्णायकमध्येका एक अन्नु मल्लिकले दिएको प्रतिक्रिया थियो यो।

अडिसनमा उनले चर्चित सुफी गायक नुशरत फतेह खानको ‘आफ्री आफ्री’ बोलको गीत गाएका थिए।

अनुसँगै शोका अन्य दुई निर्णायक नेहा कक्कड र विशाल डड्लानी पनि उनको गायकी सुनेर नतमस्तक भए। गीत सुनेपछि उनीहरूले उठेर उनको गायकीलाई सम्मान गरेका थिए।

अनुले बिना कुनै गुरू मोबाइलमा गीत सुनेकै भरमा संगीतको साधना गरेका उनलाई उनको स्वर सिकक्नेहरूको भन्दा कम नभएको थप प्रतिक्रिया दिएका थिए।

‘मैले सोचेकै थिएन कसैले यस्तो गीत गाउनेछ त्यो पनि प्रत्यक्ष’, अनुले त्यतिबेला भनेका थिए।

यसैगरी नेहाले उनको प्रशंसाका लागि आफूसँग शब्द कम भएको बताएकी थिइन्।

‘म दिलदेखि यति खुशी छु कि, बताउँनै सक्दिन। तपाईंको आमालाई धन्यवाद छ जसले तपाईंलाई यहाँ ल्याउन यति मेहेनत गर्नुभएको छ’, नेहाले भनिन्।

नेहाले यसो भन्दा सनी भक्कानिएका थिए।

उनी भक्कानिनुको कारण उनलाई र उनका ३ दिदी बहिनीलाई हुँर्काउने आमाले झेलेको गरिबी थियो।

‘मलाई घरघर गएर मेरी आमाले चामल मागेको एकदमै राम्रो लाग्दैन’, अडिसनमा उनले भनेका थिए।

भटिन्डा पंजाबका सनी एउटा गरिब परिवारका सदस्य हुन् जसमाथि बाबुको छाया छैन। ३ दिदी बहिनी र आमासहितको परिवारले बाबुको निधनपछि छाक टार्न ठूलै संघर्ष गर्नुपर्‍यो।

उनले आमालाई घरघरमा गएर आफूहरूको पेट भर्न चामल माग्थिन्। आफूहरूलाई त्यसरी हुर्काएको देखेका सनी ६ कक्षापछि पढाइ छाडेर बुट पालिस गर्न थालेका थिए।

उनले बुट पालिस गर्नुको एउटै उदेश्य थियो-पैसा कमाउने र आमालाई सजिलो पार्ने।

अडिसनमा सनीको दुःखले भरिएको कथा सुनेपछि भावुक बनेकी नेहाले  उनलाई ढाडस दिदैं जीन्दगी आएका मौकाले तिनलाई भुलाउने बताएकी थिइन्।

‘तिम्रो आँखामा जुन आँशु छ म त्यसलाई अनुभव गर्न सक्छु। एउटा मौका मानिसका लागि कति ठूलो हुन्सक्छ, मलाई थाहा छ’, उनले सनीलाई ढाडस दिदैं भनेकी थिइन्।

सिधै पियानो राउण्डमा

निर्णायकहरूको उनको गायकीबाट यो हदसम्म प्रभावित भएका थिएकी उनलाई सिधैं पियानो राउण्डको अवसर दिए।

यध्यपति विशाल भने सनीलाई लिएर सुरुमा दोधारमा थिए।

‘सनी मलाई तिम्रो गायकीले अनौठौ ठाँउमा ल्याइदिएको छ। तपाईंलाई सुनेपछि मेरो दिमाग पड्किएको छ। मैले आजसम्म नुशरत साहेबलाई यसरी गाएको कहिले पनि सुनेको छैन। उठेर तारिफ त मैले पनि गरें तर तपाईंले गाउनुभएको हर एउटा सुर नुशरत साहेबको हो। नुशरत साहेबको हामी सबै भक्त हौं। मैले १० लाख पटक यो गीत सुनेको हुँला। र मैले तपाईंले याद गरे जसरी यसलाई याद गर्न खोजे पनि जीन्दगी भर सक्दिन।’, उनले भनेका थिए ‘त्यो अत्यन्तै प्राकृत छ। तपाईले गीतको रटान एकदमै राम्रो मार्नुभएको छ। एकदमै तगाडा। यसमा दुईटा समस्या छन्। एउटा गीतलाई रट्नु प्रतिभा हुन सक्दैन, गीत गाउनु भएको दोश्रो कुरा हो। मलाई थाहा छैन अगडी गएर गाउन सक्नुहुन्छ कि हुँदैन। एक वर्ष इन्डियन आइडलमा जान्छु भनेर तपाईले यो गीतमा बिताउनुभएको छ भने। मलाई थाहा छैन अर्को गीतलाई के गर्नुहुन्छ?’

त्यसपछि नेहाले आफूले विशालको संसयमा सजिलो पारिदिने भन्दै अर्को गीत गाउन लगाएकी थिइन्।

त्यसपछि उनले ‘जान रे जान ले’ बोलको गीत गाए।

गीत सुनेपछि अघिसम्म शंकामा रहेका विशालले आफूलाई थाम्न सकेनन् सिधै थिएटर चरणका लागि दिने माइक हस्तानतरण गर्दै उनलाई अँगालो हाले।

‘सिक्दै नसिकी कसैले यस्तो कसरी गाउँन सक्छ? म केही बोल्न सकिरहेको छैन। यदी यो सबै साँचो हो र तपाईंले गीत सुनिसुनि मात्रै यस्तो हुनुभएको हो भने तपाईंलाई थाहा छैन तपाईं के हो भनेर। यहाँबाट निस्केपछि मानिसहरूले हामीले तपाईंलाई छानेका हौं भनेर सम्झिनेछन्।’, माइक दिदैं सनीको प्रशंसामा विशालले आफ्नो यस्तो भनाइ राखेका थिए।

अन्तिम स्पर्धाका लागि सनी छनौट भएपछि उनको चर्चालाई थप चुल्याउने कामचाँहि प्रख्यात भारतीय गाडी निर्माता कम्पनी महिन्द्राका प्रमुख आनन्द महिन्द्राको ट्विटले गर्‍यो।

उनले अडिसनको भिडिओ क्लिप पोस्ट गर्दै आफू भिडिओ हेरेर आँशु आएको प्रतिक्रिया दिएका थिए।

anand mahindra

@anandmahindra

Diwali is the perfect day to learn about people who Rise. A friend sent me this saying he was in tears watching it. Find the whole clip on YouTube & I challenge you to remain dry-eyed. TV & social media have done us a great service: Discovering talent in the humblest locations

Embedded video

2,075 people are talking about this

साथीहरूसँग उधारो मागेर इण्डियन आइडलको अडिसनमा पुगेका थिए

उनी साथीहरूसँग उधारो मागेर इण्डियन आइडलको अडिसनमा पुगेका थिए। सुरुवाती दिनमा मानिसहरूका जुत्ता पालिस गरेर तथा बस र रेल स्ट्यान्डमा गीत गाएर उनले परिवारको गुजारा चलाउन मद्दत गर्दै आएका थिए। उनकी आमा बेलुन बेच्दै हिँड्थिन्।

यसो गरिरहँदा उनले आफू कुनै दिन भारतको आवाज हुनेछु, सिनेमामा गाउने मौका पाउनेछु भनेर सोचेका थिएनन्।

‘मलाई आज पनि याद छ, मेरा साथीहरू मलाई रियालिटी शोमा जान भनिरहन्थे तर मसँग अडिसन दिन जान सक्नेगरी पैसा थिएन। मलाई साथीहरूले ११ औं इण्डियन आइडलमा अडिसन दिन भने। एउटा साथीले मलाई पैसा उधारोसमेत दियो’, उनले आफ्नो इण्डियन आइडलको यात्रा बारेमा भने।

साथीहरूले हौस्याएपनि उनलाई आमाले भने रोकेकी थिइन्।

‘मेरी आमाले मलाई अडिसनमा जान दिइराख्नु भएको थिएन। मैले आमासँग एक मौका दिन भने अनि उहाँ मान्नुभयो। मेरो कुनै तयारी थिएन। मेले नुशरत साहेबको २-३ वटा मात्र गीत सुनेको थिएँ। तिनै गीत अडिसनमा गाएँ र छनौट हुन पुगे।’

आइडल सकिनु अघि नै सिनेमामा गाउने अवसर

शोमा गएपछि उनको चर्चा चुलिन थाल्यो। उनले शोका दौरान नै सिनेमामा गाउने अवसर पाए। उनले पहिलो ब्रेक इमरान हाशमीको ‘द बडी’को लागि पाए भने दोश्रो मौका कंगना रनौतको ‘पंगा’को लागि इए।

शोको फाइनलमा अभिनेता आयुष्मान खुर्राना आफ्नो प्रदर्शनरतः ‘शुभ मंगल ज्यादा सावधान’को प्रचारका लागि पुगेका थिए। उनले शो जित्नेलाई टि-सिटिजले बनाउने आफ्नो अर्को सिनेमामा गाउन मौका दिने घोषणा गरे। विजेता बनेका सनीलाई सो मौका पनि मिलेको छ।

‘इन्डियन आइडल ११’ बनेसँगै भारतका साना शहरमा रहेर ठूला सपना देख्नेहरूका लागि सनी एउटा प्रेरणाका श्रोत बनेका छन्।

सेतोपाटीबाट 


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...