Thursday 13th February 2025

वैदेशिक रोजगारीले लुटायो शरीर


तितोपाटी- वैदेशिक रोजगारीको खोजीमा रहेका धेरै महिला श्रमिकले समस्या भोग्दै विभिन्न देशमा काम गर्न पुग्ने गरेका छन् । नेपालबाट सिधै जान नपाउँदा उनीहरू दोस्रो देश हुँदै रोजगारीको खोजीमा विदेशिन्छन् ।

दोस्रो देश हुँदै जाने महिलाहरू प्रायः म्यानपावर र एजेन्टको व्यक्तिगत सम्पर्कबाट गइरहेका पाइन्छ । यसरी एजेन्टको भरमा विदेशिने महिला श्रमिकहरूले धेरै समस्या भोगेर मात्र स्वदेश फर्किने गरेका छन् ।२ वर्षअघि रोजगारीका लागि लेवनान पुगेकी सिन्धुपाल्चोककी सरिना मगर (नाम परिवर्तन)ले पनि त्यहाँ धेरै कष्ट खेपेर स्वदेश फर्किएको बताइन् । ‘धेरै सपना बोकेर वैदेशिक रोजगारीमा गएकी थिएँ तर अन्तिममा पीडा र कष्ट भोगेर नेपाल फर्किनुपर्‍यो’, सरिनाले भनिन्, ‘एजेन्टको भरमा वैदेशिक रोजगारीमा जादाँ जीवन जोखिममा राख्नुपर्छ । हामीलाई थाहा हुँदैन तर एजेन्टले रोजगारीको प्रलोभन देखाएर बेच्दा रहेछन् ।’
उनले एजेन्टले दोहोरो मान्छेको व्यापार गरिरहेका बताइन् । उनका अनुसार रोजगारीमा पठाएवापत रोजगारदाता देशका कम्पनीसँग एजेन्टले दोहोरो पैसा लिन्छन् । ‘एजेन्टले नेपाली चेलीबेटीको व्यापार नै गर्छन्’, उनले भनिन् ।सरिना लेवनानमा २ वर्ष ५ महिना एउटा व्यापारीको घरमा काम गरेर फर्किएकी हुन् । उनलाई साहुले काम गरेवापत पैसा त दियो तर त्यहाँ भोगेको पीडा सम्झँदा पनि सहन गाह्रो हुने गरेको सरिना सुनाउँछिन् ।

‘पैसा सबै कुरा होइन । मैले कमाएको पैसाले मलाई नै अहिले पिरोल्छ । म त रोजगारीमा होइन, कसैको प्यास मेटाउन विदेशिएको जस्तो लाग्यो’, सरिना गुनासो गर्छिन्, ‘२३ वर्षकी भएँ । ९ जना पुरुषकी श्रीमती भएर विदेशबाट फर्किएकी छु । म काम गरेर होइन, शरीरिक शोषणमा परेर फर्किएकी छु ।’
नेपालबाट लेवनानसम्म पुर्‍याउँदा उनलाई ९ जना पुरुषले श्रीमती मात्र भनेनन्, श्रीमतीकै जस्तो व्यवहार गर्न बाध्य बनाएको सरिनाले सुनाइन् ।
‘रोजगारीका नाममा म जस्ता धेरै महिला लुटिएका छन् । यस्तो पीडा र क्षतिको गुनासो कसैले सुन्दैनन्’, उनको दुःख छ ।
उनले कक्षा ७ सम्म मात्र पढेकी छन् । उनी राम्रोसँग अंग्रेजी शब्द बुझ्दिनन् तर वैदेशिक रोजगारीमा गएर आइसकेकी छन् । बाटोमा कसैले अंग्रेजीमा केही सोध्यो भने टाउकाको इसाराले ‘यस’ भन्न एजेन्टले सिकाएजति मात्र बोलेको सरिनाले बताइन् । काम गर्न त सजिलो हुन्छ तर यौन शोषणले जीवन कठिनाइ हुने गरेको उनले बताइन् ।

‘नेपालमा हुँदा एजेन्टले अति राम्रो व्यवहार गर्छन् तर सिमाना नाघेपछि छोरी मान्छेलाई जे गर्दा हुन्छ भनेर मनपरी व्यवहार गर्छन् । बाध्यताले उनीहरूको व्यवहार सहनुपर्छ । नत्र मारेर फाल्दिछन् भने डर हुन्छ’, सरिनाले गुनासो गरिन्, ‘बेरोजगारी र गरिबीको फाइदा हामी जस्ता सोझासाझा महिलासँग म्यानपावर अथवा एजेन्टले उठाइरहेका छन् । यस्तो काममा कतिपय सरकारी कर्मचारीको समेत संलग्नता हुन्छ ।’
उनले यसरी लुटिएको विषयमा खुलेर विरोध गर्न नसक्ने बताइन् । यस्तो उस्तो भन्यो भने सामाजिक तिरस्कारको सिकार हुने उनको भनाइ छ । कोही कसैले पनि एजेन्ट र दोस्रो मान्छेको भरमा वैदेशिक रोजगारीमा नजान सरिना सुझाव दिन्छिन् ।
यसरी फेरिए श्रीमान्
सिन्धुपाल्चोकबाट दिलीप तामाङले यूएईको रोजगारीमा राम्रो डिमाण्ड आएको छ भनेर काठमाडौं ल्याएपछि राहदानी र ३० हजार रुपैयाँ लिएको सरिना बताउँछिन् । दिलीपले काठमाडौंमा केही दिन राखेपछि दीपक झा नामका एजेन्टको जिम्मा लगाएको उनले जानकारी दिइन् ।
लेवनान जानुअघि नै सरिनालाई नेपालमै ३ जना एजेन्टको सम्र्पकमार्फत् भारतको बिहारसम्म पुर्‍याइएको बताइन् । सरिना नेपालको वीरगञ्ज नाका हुँदै भारतको दिल्ली भएर लेवनान रोजगारीमा पुगेकी थिइन् । वीरगञ्ज सिमानाबाट एक जना भारतीय मूलका एजेन्टले (ठाउँको नाम याद भएन) रक्साल हुँदै उत्तर विहार पुर्‍याएर २ दिन त्यहाँ राखेको सरिनाले सुनाइन् ।
‘उत्तर बिहारसम्म पुग्दा ४ जना एजेन्ट फेरिएका थिए । उनीहरूले मसँग भएका अन्य ६ जना युवातीलाई फरक फरक स्थानमा राखे । मलाईचाहिँ एजेन्टले बाहिरै होटलमा पुर्‍यायो’, उनले भनिन्, ‘म होटलमा बस्दिनँ भनेको त यो भारत हो, यहाँ हाम्रो जे नि चल्छ भनेर धम्क्यायो । विरानो ठाउँ भएकाले एजेन्टले जे भन्यो, त्यही मान्न बाध्य भएँ । त्यो एजेन्टसँग बिहारमा २ रात बिताएँ ।’ एजेन्टले उत्तर बिहारबाट सबै युवतीलाई फरक फरक समयमा दिल्ली पठाएको थियो ।
उत्तर बिहारबाट ४ दिनमा २ जना एजेन्टले दिल्ली पुर्‍याएको सरिनाले बताइन् । नेपालबाट हिँडेको ९ दिनमा दिल्ली पुगेको सरिना सम्झन्छिन् । ‘दिल्लीसम्म पुग्दा ५ जना एजेन्ट बाटोमा परिवर्तन भएका थिए । ती एजेन्टले बाटोमा जे मन लाग्यो, त्यही गर्दै दिल्ली पुर्‍याए । दिल्लीमा समेत २ जना एजेन्टको सामना गर्नुपर्‍यो ।’नेपालबाट हिँडेपछि बाटोपिच्छे एजेन्ट हुने र ती एजेन्टले जे भन्न सिकाउँछन्, सोहीअनुसार जवाफ दिँदै जानुपर्ने सरिना बताउँछिन् ।
दिल्लीमा १ महिना एजेन्टले बन्धक बनाएर राखेको सरिनाले बताइन् । दिल्लीमा एक महिना बस्दा करिब २ जना एजेन्टले होटल परिवर्तन गरेर राखेको उनको भनाइ छ । भारतको दिल्लीमा १ महिना बस्दा माइती नेपाल र भारतस्थित नेपाली दूतावासका कर्मचारीलाई ‘म बेचिन लागेकी छु’ भनेर सुनाउँदा उनीहरूले वास्ता नगरेको गुनासो गर्छिन् सरिना । विदेश भन्नु मात्र तर त्यहाँ भोग्नेलाई नर्क लाग्ने गरेको उनको भनाइ छ ।यो समाचार शिलापत्रमा रमेश भारतीले लेखेका छन्


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले प्यालेस्टाईनीहरुलाई जोर्डन र ईजिप्टमा स्थानान्तरण गराएर गाजाँ लाई के गर्न चाहान्छन भन्ने कुरा रहस्य मै…

आनन्द साह, २५ , नेपाली विद्यार्थी उनको परिवारको भविष्यको आशा थिए । अक्टोबर ७ मा किबुट्ज अलुमिममा हमास आतंकवादीहरूले उनको…

अरविन्द केजरीवाल २०१४ को लोकसभा चुनावमा बनारसबाट नरेन्द्र मोदीविरुद्ध मैदानमा थिए र तीन लाख ७१ हजारभन्दा बढी मतले पराजित भएका…

प्रतिकृयाहरू
...