Thursday 16th May 2024

१७१ म्यानपावरको सेटिङले २ हजार श्रमिकको बिचल्ली


तितोपाटी- विगत २ वर्षदेखि युरोपका देश रोजगारीमा पठाउने भन्दै म्यानपावरले श्रमिक ठग्ने क्रम बढ्दो छ । म्यानपावरले युरोपका देश रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको समस्या लिएर मासिक करिब ७ दर्जन बढी पीडित समस्या लिएर उजुरी गर्न आउने गरेको विभागको मुद्दा शाखाले जनाएको छ ।

म्यानपावर र व्यक्तिले युरोपका देश पोल्याण्ड, माल्टा, पोर्चुगल, साइप्रस, चेक रिपब्लिकका, रोमनियालगायतका देशमा राम्रो कम्पनीमा रोजगारीमा पठाइदिन्छु भनेर ठूलो रकम ठगी गरेको उजुरी आइरहेको विभागको मुद्दा शाखाले जानकारी दिएको छ ।
चालू आर्थिक वर्षको ७ महिनामा करिब ३ सयवटा म्यानपावरले युरोपका देश रोजगारीमा पठाइदिने आश्वासन दिएर ७ अर्ब रुपैयाँभन्दा धेरै आर्थिक ठगी गरेको उजुरी पीडितले विभागमा दिएका छन् । यी म्यानपावरले करिब ४ हजार श्रमिकलाई ठगेको विभागको अनुमान छ ।
पोल्याण्ड रोजगारीमा पठाइदिने भनेर १ सय ७१ म्यानपावरले करिब २ हजार श्रमिकसँग झण्डै २ अर्ब रुपैयाँ ठगी गरेको उजुरी विभागमा परेको छ । यी म्यानपावरले प्रति कामदार ५० हजारदेखि १२ लाख रुपैयाँसम्म लिएको उजुरी विभागमा परेको छ ।

माल्टा रोजगारीमा पठाइदिने भनेर ६१ वटा म्यानपावरले करिब ४ सय श्रमिकसँग करिब ७ करोड रुपैयाँसम्म ठगी गरेको उजुरी विभागमा दर्ता छ । यी म्यानपावररले माल्टाको रोजगारीमा पठाउने भन्दै प्रति श्रमिक २ देखि ११ लाख रुपैयाँसम्म लिएको उजुरी विभागमा परेको छ ।
यस्तै, चेक रिपब्लिकमा रोजगारीमा पठाउने भनेर ४० वटा म्यानपावरले करिब ३ सय श्रमिकसँग ५ करोड रुपैयाँ ठगी गरेको उजुरी पीडितले विभागमा दर्ता गरेका छन् । यी म्यानपावरले प्रति श्रमिक ८० हजारदेखि ९ लाख रुपैयाँसम्म असुलेका छन् ।
यसैगरी २३ म्यानपावरले पोर्चुगल राम्रो रोजगारीमा पठाइदिने भन्दै २ सय श्रमिकसँग १ करोड रुपैयाँभन्दा धेरै ठगी गरेको विगो दाबीसहित विभागमा उजुरी दर्ता भएको छ ।
यी म्यानपावरले प्रति कामदार ६० हजारदेखि ९ लाख रुपैयाँसम्म उठाएको उजुरी आएको विभागले जनाएको छ । यस्तै, साइप्रस रोजगारीमा पठाइदिने भन्दै ५ वटा म्यानपापरले २४ जना श्रमिककाे ३० लाख रुपैयाँ ठगी गरेको उजुरी दर्ता भएको विभागले जानकारी दिएको छ ।
युरोपका देशमा रोजगारीमा पठाउने भन्दै व्यक्तिगत एजेन्टबाट समेत ठूलो रकम ठगीको उजुरी विभागमा पर्ने गरेको छ । यी म्यानपावरबाट ठगीएका श्रमिकको राहदानीसमेत म्यानपावरले हराइदिएको उजुरी आउने गरेको विभागले जनाएको छ । कतिपय म्यानपावरले नक्कली भिसा बनाएर ठगी गरेको समस्या लिएर पीडित आउने गरेको विभागले बताएको छ ।
‘संस्थागत श्रम स्वीकृतिका लागि अनुमति छैन’
युरोपका कतिपय देशमा सरकारले संस्थागत श्रम स्वीकृति जारी गर्दैन । रोजगारीका लागि यी देश जाने नेपाली कामदारले प्रायः व्यक्तिगत श्रम स्वीकृतिमा म्यानपावरले त्यहाँ पठाउने गरेका छन् । युरोपका देशमा भिसा प्रमाणीकरण नहुने भएका कारण पनि म्यानपावरले व्यक्तिगत भिसा निकालेर श्रमिक ठगी गरिरहेको पीडितको आरोप छ ।
कतिपय युरोपका देशका विभिन्न शहरमा रोजगारीमा कार्यरत नेपाली श्रमिकले नै डिमाण्ड म्यानपावर कम्पनीमा ल्याउने गरेका छन् । यसरी ल्याएको डिमाण्डमा म्यानपावरले व्यापार गर्दै आएको उजुरीसमेत विभाग पर्ने गरेको छ ।
विभागमा युरोपका देश रोजगारीमा पठाइदिने भन्दै धेरै रकम लिने म्यानपावरका बारेमा अध्ययन गरिरहेको वैदेशिक रोजगार विभागका प्रवक्ता भोलानथा गुरागाईंले बताए । युरोपका देशको रोजगारीका नाममा धेरै रकम असुल्ने म्यानपावरलाई कानुनी कारबाही भइरहेको पनि छ र अब प्रमाणका आधारमा कडा कारबाही गर्ने सूचना अधिकारी गुरागाईंले बताए ।
रोजगारीका लागि युरोपका देश जाने कामदारका हकमा सरकारले हालसम्म कुनै मापदण्ड निर्माण गरेको छैन । यसको फाइदा म्यानपावर व्यवसायीले युरोपको रोजगारीमा जान खोज्न श्रमिकसँग लिइरहेको पीडितको आरोप छ ।
सरकारले रोजगारीका लागि युरोपका देश जाने नेपाली कामदारको हकमा सेवा शुल्कसमेत निर्धारण गरेको छैन । यी देश जाने श्रमिकको हकमा सेवा शुल्क नतोक्दा म्यानपावरले मनपरी पैसा लिइरहेका छन् । सरकारले सेवा शुल्क नतोक्दा श्रमिक आर्थिक मारमा परिरहेका देखिन्छ ।
पछिल्लो समय व्यक्तिगत श्रमस्वीकृति र वैधानिकीकरणका माध्यमबाट युरोपका देश जानेको नेपाली युवाको संख्या बढ्दो छ । यस विषयमा सरकारले खासै ध्यान नदिएको पीडितको आरोप छ ।
प्रमाणविना पैसा
म्यानपावरले युरोपका देश जाने श्रमिकसँग धेरै रकम लिए पनि भर्पाई भने कम रकमको दिने गरेको कामदार बताउँछन् । श्रम स्वीकृति सरकारबाट लिँदा न्यून लागतको प्रमाण पेस गरी श्रम अनुमति लिने र अनुमतिपछि कामदारसँग देशअनुसार पैसा उठाउने गरेका छन् ।
मलेसिया र खाडीका देशमा राम्रै काम छाडेर रोजगारीका लागि युरोपका देश जान खोज्ने नेपाली कामदारको संख्या बढ्दै गएको विभागको तथ्याङ्कले देखाएको छ । म्यानपावरका नाममा डिमाण्ड ल्याएर व्यक्तिगत श्रम स्वीकृति गराई ठूलो रकम असुले पनि सम्बन्धित निकायले खासै चासो नदेखाएको श्रमिकको भनाइ छ ।
युरोपका देशमा रोजगारीमा कार्यरत कामदारले पनि रोजगारदाता कम्पनीसँग मिलेर डिमाण्ड निकाल्ने गरेको म्यानपावरको भनाइ छ । युरोपका विभिन्न देशमा कार्यरत रोजगारदाता आपूर्ति केन्द्रसँग सम्पर्क गरेर म्यानपावर व्यवसायीले डिमाण्ड ल्याउने गरेको व्यवसायीहरू नै बताउँछन् ।
डिमान्ड ल्याएपछि म्यानपावरले व्यक्तिगत श्रम स्वीकृति निकालेर कामदार पठाउने गरेको उनीहरूले बताएका छन् ।यो समाचार शिलापत्रमा रमेश भारतीले लेखेका छन।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...