Thursday 10th September 2026

कुवेत लगायत अन्य देशमा सीपबिना रोजगाररीमा जाने महिलाहरू धेरै


तितोपाटी- सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आए पनि विदेश जाने अधिकांश महिला सीपबिना नै जाने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले तयार गरेको प्रतिवेदनले रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीपबिना नै विदेशिने धेरै रहेको पाइएको हो । सो प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा गएका महिलामध्ये ५९ प्रतिशत अदक्ष श्रमिक रहेका छन् ।

सो प्रतिवेदनमा कुल महिला श्रमिकमध्ये ५८ दशमलव ८४ प्रतिशत कुनै पनि सीपबिना नै जाने गरेको उल्लेख छ । प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जानेमध्ये उच्च दक्षतायुक्त सीप भएका महिलाको सङ्ख्या ०.०६ प्रतिशत अर्थात् ६१ जना मात्र रहेका छन् ।
यसैगरी उच्च दक्षतायुक्त सीप भएका पुरुषको सङ्ख्या ०.०५ प्रतिशत अर्थात् ७८७ रहेको पाइएको छ । विगत तीन वर्षमा पेसाविद्का रूपमा श्रम स्वीकृति लिएर गएका महिलाको हिस्सा ०.३० प्रतिशत अर्थात् २९४ हुँदा सोही पेसामा जाने पुरुषको सङ्ख्या ०.११ प्रतिशत अर्थात् एक हजार ७४५ रहेको छ ।
महिलाको प्रमुख श्रम गन्तव्य कुवेत

नेपाली महिलाका लागि प्रमुख श्रम गन्तव्य मुलुक कुवेत रहेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५÷७६ को प्रगति प्रतिवेदनअनुसार गत वर्ष सबैभन्दा धेरै महिला कुवेत गएका छन् । यस्तै वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृतिका मुख्य गन्तव्यमा क्रमशः कतार, साउदी अरेबिया, यूएई, मलेसिया रहेका छन् तर महिलाको हकमा भने प्रमुख गन्तव्य कुवेत रहेको छ ।
महिलाका लागि कुवेतपछि क्रमशः प्रमुख गन्तव्य मुलुक जर्मनी, माल्दिभ्स, माल्टा, डेनमार्क, टर्की, इजरायल, इजिप्ट, लेबनान, स्विडेन रहेका छन् । स्विडेनमा व्यक्तिगत तवरले श्रम स्वीकृतिमा जाने महिला मात्र रहेका छन् भने कुवेत, डेनमार्क, जर्मनी र इजरायलमा कुल व्यक्तिगत श्रम स्वीकृति लिनेमा महिला ८० प्रतिशतभन्दा बढी रहेको देखिन्छ ।
प्रतिवेदनअनुसार व्यक्तिगत श्रम स्वीकृति लिने कुल एक लाख १५ हजार ३९८ मध्ये २७ दशमलव ६ प्रतिशत अर्थात् ३१ हजार ८२० महिला रहेका छन् । पुनः श्रम स्वीकृति लिनेमा महिलाको सङ्ख्या कुल श्रम स्वीकृति लिनेकै हाराहारीमा अर्थात् ४ प्रतिशत देखिन्छ । कुल १५ लाख ८७ हजार ६५४ पटक पुनः श्रम स्वीकृति लिएकामा महिलाको सङ्ख्या ६४ हजार ५०७ रहेको छ ।
कुवेतमा हालसम्म संस्थागत श्रम स्वीकृतिमा पाँच हजार १५१ महिला गएकामा व्यक्तिगत रूपमा जानेको सङ्ख्या २० हजार २८७ रहेको छ । नेपाली महिलाको सुरक्षाका हिसाबले चुनौती देखिएका देशमा संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृति लिनेको सङ्ख्या धेरै देखिएको छ । जुन देश गए पनि महिला घरेलु श्रमिक वा केयरगिभरका रूपमा गएको देखिन्छ ।
वैदेशिक रोजगारीमा गएका महिलाको जिल्लागत विवरणको तथ्यांक विश्लेषण गर्दा पाँचवटा जिल्ला झापा, मोरङ, सुनसरी, चितवन र सिन्धुपाल्चोक क्रमशः श्रम स्वीकृति लिनेमा अगाडि रहेका छन् । यीमध्ये ५० प्रतिशत महिला झापाका रहेका छन् ।
वैदेशिक रोजगारीमा जाने महिलाको कुल सङ्ख्याको विश्लेषण गर्दा केही पहाडबाट बसाइँ सरेका मिश्रित समुदायको बसाइ भएका तराईका जिल्लाबाहेक बाग्मती प्रदेशका जिल्लाको नै बाहुल्यता रहेको पाइएको छ । संस्थागत तवरले श्रम स्वीकृति लिने कुल एक लाख ३२ हजार ९९५ महिलामध्ये ९२ दशमलव ३ प्रतिशत त केवल १० वटा जिल्लाले नै ओगट्छ । जसमध्ये काठमाडौँ र मकवानपुर जिल्लाबाट १५÷१५ प्रतिशत, झापाबाट १७।३४, सिन्धुपाल्चोकबाट १३।९४ प्रतिशत रहेको छ ।आजको गोरखापत्र दैनिकबाट


सम्बन्धित शीर्षकहरु

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

यमनको पेरिम टापु अहिले निकै महत्वपूर्ण बनेको छ। यो टापु बाब अल–मन्दब नामक समुद्री मार्गमा पर्छ, जहाँबाट विश्वका धेरै तेल…

प्रतिकृयाहरू
...