Thursday 10th September 2026

धन कमाउन विदेशिएका श्रीमान् दुई सातामै बाकसमा फर्किए


तितोपाटी- दार्चुलाकी पशुमाया कामीको काखमा ११ महिनाको छोरी छ । दार्चुलाबाट उनी यतिबेला काठमाडौँस्थित वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा धाइरहेकी छन् ।

१९ वर्षको कलिलै उमेरमा उनको विवाह भयो दार्चुलाकै दिनेशराम कामीसँग । दुई वर्षसम्म दम्पतीले गाउँमै बसेर केही गर्ने योजना बनाए । तर आर्थिक अवस्थाले धानेन ।
गत भदौमा घरसल्लाहपछि निश्चय भयो– वैदेशिक रोजगारीका लागि साउदी जाने । उनी ६ महिनाकी छोरी छोडेर विदेश हानिए । पैसा कमाएर परिवार राम्रोसँग पाल्ने सपना देखेकाे कामी परिवारमा दुई सातामै वज्रपात पर्‍याे । कार्यस्थलमै हृदयाघातका कारण कहिल्यै नउठ्ने गरी ढले दिनेशराम ।

पैसा कमाउन विदेशिएको श्रीमानलाई दुई साता नबित्दै गुमाएकी पशुमाया र उनको परिवार यतिबेला शोकसँगै आर्थिक अभावमा गुज्रिएको छ । काठमाडौंमा बोर्डले उपलव्ध गराउने क्षतिपूर्तिका लागि आएकी पशुमाया जसलाई भेटे पनि एउटै गुनासो गर्छिन्, ‘आर्थिक अभावले मेरा खुसी र सिन्दुर खोसियो सर ।’
श्रीमान् विदेशी जाँदा खुसीले गदगद भएकी दिनेशकी श्रीमती पशुमाया अहिले पीडाले छटपटिएकी छन् । उनलाई आफ्नो भन्दा छोरीको बारेमा धेरै चिन्ता छ । भन्छिन्, ‘१९ वर्षको उमेरमा भाग्यसँगै सिन्दुर पुछियो । एउटी छोरी छे, कसरी पाल्ने ? मसँग हातमा केही सीप छैन । बाँकी उमेर कसरी बिताउने हो । श्रीमान् नै नभएपछि परिवारको हेर्ने नजर पनि फेरिएको छ ।’
विदेशमा आफन्त गुमाएकी उनी एउटा प्रतिनिधि पात्र हुन् । उनीजस्ता धेरै महिलाका श्रीमानले विदेशमा रोजगारीका क्रममा ज्यान गुमाइरहेका छन् । वैदेशिक रोजगारीका क्रममा वार्षिक करिब ७ सयले ज्यान गुमाउने गरेको बोर्डको तथ्यांक छ ।
साउदीमा मृत्यु भएका श्रीमानको क्षतिपूर्ति लिन छोरी बोकेर उनी बोर्डमा आएकी छन् । उनी राम्रोसँग बोल्दिनन् । कसैले बोलायो भने मात्र जवाफ दिन्छिन् । श्रीमानको मृत्युपछि सामाजिक हिंसामा पर्ने उनलाई डर छ । ‘एकल महिलाहरूलाई समाजमा बाँच्न समस्या हुन्छ, त्यो मैले देख्दै आएको छ । एकातिर श्रीमान् गुमाएको पीडा अर्कातिर घरेलु हिंसामा पर्ने डर छ,’ उनले चिन्ता सुनाइन् । सरकारले विदेशमा श्रम गर्ने सिलसिलामा श्रीमान् गुमाएका महिलाका लागि केही सुविधा दिएको छैन । जसका कारण उनीहरूको जीवनयापनमा कष्टकर भइरहेको छ । विदेशमा मृत्यु हुनेका श्रीमतीसँग हातमा सीप र गरिखाने सम्पत्ति नहुँदा उनीहरूको जीवन समस्याग्रस्त बन्ने गरेको छ ।
श्रीमान् गुमाएपछि अब उनले वर्षमा एक बाली मकै मात्र उत्पादन हुने सात रोपनी जग्गामा जीवनभर दुःख गर्नुपर्नेछ ।
‘सम्पत्तिका नाममा ७ रोपनी जग्गा छ । त्यसमा पनि केही उत्पादन हुँदैन । पाखो बारी हो । वर्षमा एक पटक मकै उत्पादन हुन्छ । अब अर्काको खेतबारीमा काम गरेर भए पनि छोरीलाई पढाउनु छ,’ बोर्डको क्षतिपूर्ति पाए छाेरीकाे शिक्षामा लगानी गर्ने सोच बनाएकी पशुमाया भन्छिन् । श्रीमानकाे मृत्यु साउदीमा भएकाे हाे, तर पनि राेजगारदाता कम्पनीबाट त्केयस्हीताे कुनै क्षतिपूर्ति नपाएको उनको गुनासो छ ।
विभिन्न कारणले श्रीमान गुमाएर एकल हुन पुगेका महिलाहरू घरेलु र सामाजिक हिंसाको दोहोरो चपेटा पर्ने गरेको विभिन्न अध्ययनले औंल्याएका छन् । सामाजिक हिंसामा परेका एकल महिला जोखिम मोलेर वैदेशिक रोजगारीमा जाने गरेका छन् । सामाजिक हिंसा हुने डरले पनि एकल महिला आफ्नाे परिवार र छोराछोरीलाई माया मारेर विदेशिने गरेका छन् ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारले १७ लाख क्षतिपूर्ति पाउने गरेका छन् । राज्यले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई ७ लाख क्षतिपूर्ति दिँदै आएको छ । वैदेशिक रोजगारीमा जाँदा १३ लाखको बीमा गरेको हुन्छ ।
वैदेशिक रोजगारीका क्रममा हुने मृत्युकाे कारण सरकारले खोज्न सकेको छैन । जसका कारण समस्या जटिल बन्दै गएको छ । विदेशमा हुने मृत्युदर रोक्न सरकारले कुनै प्रयास नगरेको यो क्षेत्रका विज्ञले बताउँदै आएका छन्।यो समाचार शिलापत्रमा रमेश भरतीले लेखेका छन।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

यमनको पेरिम टापु अहिले निकै महत्वपूर्ण बनेको छ। यो टापु बाब अल–मन्दब नामक समुद्री मार्गमा पर्छ, जहाँबाट विश्वका धेरै तेल…

जोर्डनस्थित अमेरिकी सैन्य हवाई अड्डा Muwaffaq Salti Air Base मा राति भएको इरानी ब्यालिस्टिक मिसाइल हमलामा अमेरिकी सेनाका एक A-10…

प्रतिकृयाहरू
...