Wednesday 19th August 2026

मलेसियामा कार्यरत नेपालीको चरम श्रम शोषण


तितोपाटी- मलेसियामा नेपाली कामदारहरुको चरम श्रमशोषण भइरहेको पाइएको छ।

मलेसियाली रोजगारदाताले श्रमिकहरुलाई जबर्जस्ती काममा लगाउने तर पारिश्रमिक तथा सेवासुविधा नदिने गरेको मलेसियामा कार्यरत नेपाली श्रमिकले सामाजिक सञ्जालमार्फत नेपाल लाइभसँग गुनासो गरेका छन्। दित्या म्यानपावर कम्पनीमार्फत् मलेसियाको पोर्ट केलाङस्थित स्यारिकात बिन्ताङ सेम्बिलान कम्पनीमा कार्गो काममा पुगेका सिन्धुलीका विष्णुबहादुर मानन्धरसहित ४९ युवा अलपत्र परेका छन्।

मलेसिया जानुअगाडि म्यानपावरले देखाएको करारनामा पत्रमा १७ सय मलेसियन रिंगेट पारिश्रमिकसहित ओभरटाइम सुविधासमेत दिइने उल्लेख गरिएको छ। तर उनीहरु काममा दिनरात घोटिँदा न त भनेजस्तो सेवासुविधा पाएका छन् न न्यूनतम पारिश्रमिक नै।

‘भनेअनुसार तलब र सेवासुविधा नै नपाएपछि हामी नेपाल फर्कन खोजिरहेका छौँ, न कम्पनीले नेपाल फर्काउँछ न तलब दिन्छ, जर्बजस्ती काम गर्न बाध्य पारिएको छ’ सिन्धुलीका मानन्धरले फेसबुकमार्फत् नेपाल लाइभलाई सुनाए।

नेपाल फर्काइदिन विभागमा पत्र
पछिल्लो समय युवाहरु मलेसियामा समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागमा समेत उजुरी गर्न थालेका छन्। दित्या म्यानपावर कम्पनीमार्फत डेढलाखदेखि १ लाख ८० हजारसम्म बुझाएर मलेसिया पुगेका सिन्धुलीका मानन्धरसहित अन्य ४९ युवाले आफूहरु समस्यामा परेको भन्दै नेपाल फिर्ताका लागि पहल गर्न वैदेशिक रोजगार विभागमा समेत पत्राचार गरेका छन्।

विभागका महानिर्देशक भीष्मकुमार भुसाललाई सम्बोधन गर्दै लेखिएको पत्रमा भनिएको छ-‘न्युनतम पारिश्रमिकलगायत अन्य सेवासुविधा केही नपाएको हुँदा तुरुन्त नेपाल फर्काउन लगाई मलेसिया जाँदा लागेको लागत फिर्ता गराउन लगाइदिनु होला।’

डाइको प्याक एसडीएन बीएचडी कम्पनीमा २१ श्रमिक अलपत्र मलेसियास्थित डाइको प्याक एसडीएन बीएचडी कम्पनीमा कार्यरत रौतहटका शेख हसिमसहित २१ नेपाली श्रमिक चरम श्रम शोषणमा परेको गुनासो गरेका छन्। जेएनएस इन्टरनेशनल म्यानपावर कम्पनीबाट हालै मलेसिया पुगेका उनीहरुलाई कम्पनीले काममात्र लगाउने पारिश्रमिक नदिने र हप्काउने गरेको पाइएको छ।

उनीहरुले पनि करारनामा उल्लेख भएअनुसारको पारिश्रमिक तथा सेवासुविधा पाउन सकेका छैनन्। करारनामामा खाना, बस्ने, यातायात सुविधा सबै समेटिएको उल्लेख गरिएको छ। बिमा, उपचार बिदालगायत पारिश्रमिक पनि दैनिक ८ घण्टा कामको मासिक ११ सय रिंगेट भनिएको छ । तर उनीहरुले भनेअनुसार तलब पाएका छैनन्। खाने बस्नेसमेत राम्रो व्यवस्था नभएको श्रमिकहरुको गुनासो छ।

जिफन्ट मलेसियामा उनीहरुले आफूहरु रोजगारदाताबाट त्रासमा रहेर काम गर्न बाध्य रहेको गुनासो गरेका छन्। जिफन्ट मलेसियाका संयोजक बेदकुमार खतिवडाले सरकारले लागू गरेको फ्रि भिसा फ्रि टिकट हात्तीको दाँतजस्तै भएको बताए। नेपाललाईभमा निर्मला घिमिरेले लेखेकी छिन।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — लामो समयदेखि न्यून पारिश्रमिक, असमान सेवा–सुविधा र सरकारी प्राथमिकतामा आफूहरू पछाडि परेको गुनासो गर्दै आएका सामुदायिक विद्यालयका प्रारम्भिक…

कालिकोटको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय क्लोजर सम्पन्न भएको छ। आयोजनामा करिब ७० अर्ब रुपैयाँ लगानी हुनेछ, जसको…

देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रे, सिन्धुपाल्चोक, रसुवा, पश्चिम रुकुम, संखुवासभा,…

प्रतिकृयाहरू
...