Thursday 19th March 2026

महिला श्रमिक भन्छन्ः एजेन्टले कुवेत ल्याएर फसायो


तितोपाटी- विराटनगरकी लीला सापकोटा (नाम परिवर्तन)लाई दलालहरूले अजरबैजानको एउटा स्थानीय अस्पतालमा क्लिनरको काम दिने भन्दै गत मङ्सिरमा त्रिभुवन विमानस्थलवाट जहाज चडाए । अजरबैजान हिँडेकी लीला अन्ततः यूएई हुँदै कुवेत पुगेकी छन्  । सामाजिक सञ्जालमार्फत् शिलापत्रडटकमको सम्पर्कमा आएकी लीलाले आफूलाई अजरबैजान भनेर झुक्याएर कुवेत ल्याइएको बताइन् ।‘भिजिट भिसालाई वर्किङ भिसा बनाएर रूट परिर्वन गरेर ल्याएको कुवेतमा आएपछि मात्र थाहा पाएँ,’ उनी भन्छिन् ।
कसरी पुर्‍याइयो कुवेत ?

लीलाका अनुसार यूएईमा रहेका एजेन्टले कुवेतमा १५ दिन बसेपछि अजरबैजान जाने भन्दै कुवेत ल्यायो । यूएईबाट उनलाई बसमा चढाएर कुवेत पुर्‍याइयो । उनले त्यहाँ पुगेपछि मात्र थाहा पाइन्– अजरबैजान होइन, कुवेत ल्याएर एजेन्टले फसाएको रहेछ ।हाल पूर्वी कुवेतमा एक कुवेती नागरिकको घरमा काम गरिरहेको लीलासँगै अजरबैजान हिँडेका अन्य ११ जना महिलाहरू पनि कुवेतमै छन् ।
सुरक्षा गार्डबाट क्लिनर
विराटनगरमा सुरक्षा गार्डको काम गर्थिन् उनी । राम्रो कमाइ हुने लोभ देखाए दलालले । एउटी केटी साथीले यहाँ किन दुःख गर्छेस्, बरू विदेश जा भनेर लीलालाई पटक–पटक आग्रह गरिन् ।
कमाइ हुने लोभमा उनले राहदानी बनाइन् । ‘केटी साथीले मलाई राजन राई भने एजेन्टको नम्बर दिएपछि कल गरेँ । त्यो एजेन्टले अजरबैजानको राम्रो डिमाण्ड छ भन्यो’, उनले भनिन्, ‘एजेन्टलाई राहदानी र ५० हजार रूपैयाँ दिएँ । कात्तिकमा राहदानी लिएका एजेन्टले मङ्सिर दोस्रो साता नेपालबाट उडाएको हो ।’ नेपालबाट अजरबैजानको हस्पिटल, स्कुल र सुपरमार्केटमा क्लिनरको रोजगारी भनेर उनीसँगै २१ जना महिला एउटै फ्लाइटमा काठमाडौंबाट उडे ।‘मसँग १२ जनालाई कुवेत र अन्यलाई चाहिँ यूएईबाट कता पठाए मलाई थाहा भएन,’ उनी भन्छिन् ।
१ लाख ८० हजार खर्च
अजरबैजान हिँडेका प्रत्येक महिलाले १ लाख ८० हजार रूपैयाँसम्म तिरेको लीला बताउँछिन् ।‘कुवेतमा एक महिला घरेलु कामदार ल्याएबापत साहुसँग एजेन्टले ३ लाखसम्म लिने गरेका रहेछन् । एजेन्टले दोहोरो पैसा उठाएर खाँदा रहेछन्’, उनले भनिन्, ‘कुवेतमा एजेन्टले धेरै नेपाली महिला तस्करी गरेर ल्याउने गरेका छन् । अफ्रिकी देश भनेर एजेन्टले नेपाली महिलाहरू कुवेत र इरानमा घरेलु कामदार तस्करी गर्छन् । हामी पनि यसरी तस्करको फन्दामा परेर कुवेत आइपुगेका हौं ।’
यसरी पुर्‍याइन्छ कुवेत
नेपालबाट अनलाइनमार्फत् अजरबैजानको अध्यागमन विभागमा भिसाका लागि एजेन्टले आवेदन दिन्छ । पर्यटक भ्रमण र अन्य पेसागत भ्रमणका लागि भनेर भिसाका लागि एजेन्टले व्यक्तिगत आवेदन दिन्छन् । ३० अमेरिकी डलरमा अवरबैजान सरकारले पर्यटन भिसा जारी गर्दै आएको छ ।
अजरबैजानबाट भिजिट स्वीकृति लिएर आएपछि नेपालमा रहेका एजेन्टले विभिन्न स्थानबाट महिला श्रमिक खोजेर प्रलोभनमा पारेर फसाउने गरेका छन् ।

एजेन्टले अजरबैजानका विभिन्न कम्पनीको नक्कली भिसा बनाएर रोजगारीमा पठाउने प्रलोभन देखाउँछन् ।नेपालमा रहेका एजेन्टले एउटा देशको भिसा लगाएर पठाउँछन् । तर, नेपालदेखि उडेका महिलालाई बीच बाटोमा सेटिङ मिलाएर भिसा नै परिवर्तन गर्छन् ।

नेपालदेखि एजेन्टले अजरबैजान पर्यटन भिसामा पठाएका महिला प्रायः कुवेत घरेलु कामदारमा रूपमा पुर्‍याइन्छ । यसरी गएका महिलाले बीच बाटोमा भिसा परिवर्तन गरेपछि मात्र एउटा देश हिँडेको तर अर्को देश पुगेको थाहा पाउँछन् ।
नेपालमा एजेन्टलाई धेरै पैसा तिरेर गएका कारण उनीहरू बाध्यताले जुन देशमा पुगे, त्यहीँ काम गरेर बस्ने गरेको बताउँछन् ।यसरी काम गरेर बसेका नेपाली महिला श्रमिकको हौसियत अवैध हुने गरेको छ । अवैध भएपछि उनीहरू चाहेका बेला स्वदेश फर्कन पाउँदैन् । एउटा देश भनेर अर्को देश पुगेका महिलाको साथमा प्रायः राहदानीसमेत हुँदैन ।
केही वर्षअगाडि भारत, श्रीलङ्का र बङ्गलादेश हुँदै कुवेत, खाडीका देश, मलेसिया र अफ्रिकाका देशमा नेपाली महिला तस्करी गरिथ्यो । भारत, श्रीलङ्का र बङ्गलादेशको कडाइ हुन थालेपछि तस्करले नयाँ रूटमार्फत् महिला तस्करी गर्न थालेका छन् ।यो समाचार रमेश भारतीले शिलापत्रमा लेखेका छन।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...