Wednesday 14th October 2026

आस्था राउत प्रकरण : आखिर के भएको थियो प्रहरी चेकिङमा (भिडियोसहित)


कलाकार आस्था राउतमाथि त्रिभुवन विमानस्थलमा भएको प्रहरी चेकिङ र त्यहाँ भनिएको ‘दुर्व्यवहार’को भिडियो सार्वजनिक भएको छ ।विमानस्थलमा एक महिला प्रहरीले ‘राष्ट्रिय कलाकार’माथि दुर्व्यवहार गरेको र अपशब्द प्रयोग गरेको भन्दै गायिका राउतले केही दिनअघि प्रहरीलाई गाली गर्दै फेसबुक लाइभ गरेकी थिइन् । उक्त लाइभमा गायिका राउतले प्रहरीलाई प्रहरी मेरो साथी भन्ने ‘स्लोगन’ हटाउन भन्दै प्रहरीमाथि खरो टिप्पणी गरेकी थिइन् । तर राउतको टिप्पणीमाथि नै धेरैले आपत्ति जनाएपछि राउतले आवेशमा आएर अपशब्द बोलेको भन्दै माफी मागेकी थिइन् । तर पनि उनले साना प्रहरीहरुलाई ‘म्यानर’ सिकाउन भन्दै ठूला प्रहरी अधिकारीलाई ‘सुझाव’ दिएकी थिइन् ।

आखिर आस्था राउतमाथि त्रिभुवन विमानस्थलको सुरक्षा चेकिङमा भएको चाहिँ के थियो त ? रातोपाटीलाई विमानस्थल सुरक्षाको समयमा राउतमाथि भएको के थियो भन्ने भिडियो प्राप्त भएको छ । १ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा सुरुमा आस्था राउत र अर्का एक युवक सँगै आउँछन् । युवक पुरुषको लाइनमा चेकजाँचका लागि जान्छन् भने राउत महिला प्रहरी भएकोतिर आउँछिन् ।

महिला प्रहरी रमिशा श्रेष्ठ चेकजाँचमा थिइन् । राउतको हातमा कफीसमेत थियो । महिला प्रहरीले राउतलाई ज्याकेट खोलेर आउन भन्छिन् । बरु राउतको हातमा रहेको कफीसमेत महिला प्रहरीले लिइदिन्छिन् र टेबुलमा राखिदिन्छन् । त्यसपछि राउत रिसाउँदै बाहिर जान्छिन् र आफ्नो ज्याकेट खोली एक्सरे मेसिनमा राख्छिन् । त्यसपछि राउत प्रहरी चेकिङमा जान्छिन् । महिला प्रहरीले राउतको शरीर खानतलासी गर्छिन् । त्यसपछि पनि राउत रिसाएर आफ्नो ज्याकेट लिन जान्छिन् ।

राउत निस्कन लागेपछि महिला प्रहरीले कफी लैजान भन्छिन् । तर उनी कफी नलिई निस्कन खोज्छिन् । महिला प्रहरी आफैले कफी ल्याएर दिन्छिन् । तर पनि उनी अझै रिसाएर निस्कन खोज्छिन् । त्यसपछि महिला प्रहरीले राउतको ज्याकेट समातेर फेरि पनि कफी लैजान भन्छिन् ।तर, राउत कफी लैजान मान्दिनन् । त्यसपछि केही समय महिला प्रहरी र राउतबीच कफी टेबलमा सारासार हुन्छ ।

राउतले आफ्नो ज्याकेट लगाउँछिन् र ब्याग बोकेर कफी नलिई जान खोज्छिन् । त्यसै क्रममा राउतले महिला प्रहरीमाथि नै औँला ठड्याएर केही बोल्छिन् । राउतको हाउभाउ हेर्ने हो भने त्यो धम्कीजस्तो देखिन्छ । राउतले औँला ठड्याएर धम्की दिँदा पनि महिला प्रहरी चुपचाप आफ्नो काम गरिरहन्छिन् । ज्याकेट लगाइसकेपछि राउत कफी नलिई त्यहाँबाट निस्किन्छिन् ।

भिडियोकै बीचमा हेर्ने हो भने करिब ५ वर्षकी एक बच्चीले आफ्नो ज्याकेट खोलेर एक्सरे मेसिनमा राख्छिन् र शरीर चेकजाँच गराउँछिन् । अनि चेकजाँच सकिएपछि आफ्नो ज्याकेट लगाउँछिन् र बाहिर निस्किन्छिन् ।विमानस्थलमा यस्तो चेकजाँच सामान्य प्रक्रिया हो । कुनै कलाकार वा ठूला व्यक्तित्व हुँदैमा शरीर चेकजाँच नगर्ने भन्ने हुँदैन । महिला प्रहरीले आफ्नो नियमित काम गरेकी थिइन् ।प्रहरी स्रोतका अनुसार महिला प्रहरीले नभएर राउतलेचाहिँ महिला प्रहरीमाथि अभद्र व्यवहार गरेकी थिइन् । ‘मलाई चिन्दैन, म को हुँ ? मेरो चेकिङ्ग गर्नुपर्छ र?’ भनेर राउतले उल्टै विवाद गरेको प्रहरीको दाबी छ ।

भिडियो हेरौ

https://www.youtube.com/watch?v=p0hJ-MHz05E

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...