Sunday 26th July 2026

यूएईमा बस दुर्घटना: ३ नेपालीकाे ज्यान गयाे, घाइते १४ जनाको पहिचान खुल्याे


उमाकान्त पाण्डे- यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा परि अहिलेसम्म ६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये तीन जना नेपालीकाे ज्यान गएकाे छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको यूएईमा रहेकाे नेपाली दूतावासले जनाएको छ ।यूएईको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस बिहीबार बिहान आबुधाबीको अल रहा क्षेत्रमा लरीमा ठोक्किएर दुर्घटना हुँदा तीन जना नेपाली महिलासहित ६ जनाको ज्यान गएको हो । अन्य ज्यान गुमाउनेमा बसका चालक एक पाकिस्तानी पुरुष, एक जना श्रीलङ्काली र एक जना अफ्रिकन महिला कामदार रहेका छन् ।

दुर्घटना गम्भीर भएकाले शव पहिचान गर्न ढिलाइ भएको हो । काममा जान २४ जना कामदार चढेको बस दुर्घटना हुँदा घाइते भएका अन्य १४ जनाको पनि नाम र ठेगाना खुलेको छ । घाइते १४ जनामध्ये पाँच जनाको आबुधाबीको खालिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा ईलामकी सिता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।त्यस्तै घाइते पाँच जनाकाे माफ्राक अस्पतालमा उपचार भइरहेको छ । मकवानपुरको टिस्टुङ पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर र सुजला विश्वकर्मा (ठेगाना नखुलेको) छन् । त्यही अस्पतालमा उपचारत चितवनकी निर्मला प्रजा सामान्य उपचारपछि बिहीवार साँझ नै कम्पनीको क्याम्प फर्किनु भएको छ ।

त्यस्तै अलरहा अस्पतालमा मकवानपुर हेटौँडाकी मिना सिंह, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा उपचाररत हुनु हुन्छ । घाइते १२ जनाको अवस्था सामान्य रहे पनि नुवाकोटकी सरिता तामाङको अवस्था भने चिन्ताजनक रहेको अस्पताललाई उद्धृत गर्दे दूतावासले जनाएको छ ।

अस्पतालमा राजदूतसहित दूतावासको टोली

बिहीबार बिहान साढे ५ मा भएको दुर्घटनाबारे दूतावासले जानकारी पाए लगत्तै घटनास्थल र घाइतेहरुको अवस्था बुझ्न दूतावासका उच्च अधिकारीको टोली अस्पताल पुगेको थियो ।

राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्कीलगायत दूतावासका स्थानीय कर्मचारी घाइते उपचाररत अस्पताल पुगेका थिए । बिहीबार राति अबेरसम्म पनि दूतावासका प्रतिनिधि अस्पतालमै थिए ।अस्पतालमा ट्रमा सेण्टरका चिकित्सक तथा कम्पनीका प्रतिनिधिसँग भेटेर राजदूत ढकालले घाइतेको अवस्थाबारे जानकारी लिनु भएको थियो । घाइते कामदारको उपचारसम्बन्धमा कम्पनीले कुनै कसुर बाँकी नराख्ने जनाएको श्रम काउन्सुलर भेषबहादुर कार्कीले बताउनु भयो ।

कम्पनीले दुर्घटनाबारे अन्य कामदारलाई नआत्तिन र सामाजिक सञ्जालमा जथाभाबी नलेख्न अनुरोध गरेको छ । कम्पनीले स्थानीय प्रशासन, अस्पताल तथा सम्बन्धित कामदारका देशका यूएईमा रहेकाे दूतावाससँग समन्वय गरिरहेको जनाएको छ । कामदार गुमाउँदा कम्पनी पनि शोकमा डुबेको छ ।गएको असोज दोस्रो हप्ता दुबइ्कोई फर्स्ट सेक्युरिटी कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने कामदार बोकेको बस दुर्घटना हुँदा ६ जना नेपालीसहित आठ जनाको ज्यान गएको थियो ।

-उज्यालो अनलाइनबाट


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

मलेसियाले एक अमेरिकी–इजरायली दोहोरो नागरिकलाई देश छोड्न निर्देशन दिएको छ। मलेसियाली अधिकारीहरूले उक्त व्यक्तिसँग इजरायली नागरिकता रहेको पत्ता लगाएपछि यस्तो…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीमा केही समयका लागि रोक लगाउने निर्देशन दिएको बताइएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत…

प्रतिकृयाहरू
...