Friday 23rd October 2026

दुई श्रीमती कुवेतमा, श्रीमान दुई बालबच्चा र घरको रेखदेखमै व्यस्त


तितोपाटी- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो।

सुरुका केही दिन त हाँसखेलमै बिते। वर्ष बित्दै गयो तर बच्चा बसेन। उनीहरुमा एक खालको तनाव पैदाभयो। उनीहरुका धेरै प्रयास असफल भए। यसैगरी झण्डै १० वर्ष बिताए।

एकदिन राममायाले कठोर निर्णय लिएर अर्को बिहे गर्न भीमबहादुरलाई सुल्झाइन्। उनले पनि सहजै स्वीकारे। अन्ततः राममायाले आफ्नै श्रीमान्‌काे बिहे बहिनी मोतिमायासँग गराइन्। बिहे गराउनुको एउटै कारण थियो बच्चा जन्माउनु। बच्चा भयो भने त्यो परिवारमा छुट्टै खुसी आउँथ्यो।

तीन वर्षअघि एउटा छुट्टै संयोग बन्यो। दुवैको केही महिनाको अन्तरालमै गर्भ बसेपछि भीमबहादुर तीनछक परे। तीन वर्षअघि राममाया र मोतीमायाले आठ महिनाको अन्तरालमा एक/एक छोरा जन्माए। ‘बच्चा हुँदैन भनेर बूढीले बहिनीसँग बिहे गराइदिइन्, आखिर आठ महिनाको फरकमा बच्चा पायो।’ मन्द मुस्कानसहित भीमबहादुर त्यो क्षण सम्झिए। छोरा सुदीप र प्रवीन अहिले नजिकैको स्कूलमा कक्षा एकमा पढ्छन्।

छोराहरु श्रीमान्‌लाई छाडेर दुवै श्रीमती वैदेशिक रोजगारीका लागि अहिले कुवेतमा छन्। निःशुल्क भिसामा उनीहरु दुई वर्षअघि विदेश गएका हुन्। दुवैजना घरको काम गर्छन्। यता भीमबहादुर दुई छोराको रेखदेख गरी घर कुरुवा बनेका छन्। आफू पनि विदेश जाने चाहना थियो तर भूकम्पले घर भत्काएकाले निर्माणको चरणमा भएर नगएको उनले सुनाए।

भीमबहादुरका श्रीमतीद्वयले मासिक रु १५ देखि २० हजार पठाउने गर्छन्। उनले सबै पैसा बैंकमा राखेका छन्। ‘त्यसैबाट उनले रु तीन लाख बैंकमा जोडेको छ, यसपालि आउँदैछन्, त्यो पैसाले चौतारामा जग्गा किन्ने भनेका छन्’, उनले भने।रासस


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...