Monday 29th April 2024

तारा र ग्रहको नेपाली नाम “सगरमाथा” र “लालीगुराँस” नामाकरण


तितोपाटी – इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले विश्व ब्रह्माण्डमा भएका तारा र ग्रहको नेपालीमा नामाकरण गरेको छ। युनियनले तारा र ग्रहको नेपाली नाम “सगरमाथा” र “लालीगुराँस” राखेको छ। सगरमाथा भन्नासाथ हामी सर्वोच्च शिखरलाई बुझ्छौं भने लालीगुराँस भन्नासाथ राष्ट्रिय फुल भनेर बुझ्छाैं तर विश्वले भने यो नामबाट तारा पनि बुझ्नेछ। सौर्यमण्डल बाहिर पत्ता लगाइएको एउटा तारा ‘एचडी १००७७७’ लाई मंगलबार ‘सगरमाथा’ नामकरण गरिएको हो। यस्तै एउटा ग्रह ‘एचडी १००७७७ बी’ को नाम ‘लालीगुराँस’ भएको छ। इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले १००औं वार्षिकोत्सवका अवसरमा सौर्यमण्डल बाहिर रहेका तारा र ग्रह नामकरण गर्ने क्रममा नेपाली नाम पनि परेका हुन्।

सगरमाथा तारालाई नेपालबाट सानो टेलिस्कोपबाट समेत राम्ररी देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष एवं आईएयूका नेपाल प्रतिनिधि सुरेश भट्टराईले बताए। ‘सगरमाथा तारालाई परिक्रमा गर्ने ग्रह पत्ता लागे नेपालीबाट नामकरण गरिनेछ,’ उनले भने । सोसाइटीका अनुसार सगरमाथा तारा करिब १ सय ७२ प्रकाश वर्ष टाढा छ। यो तारा सूर्यजस्तै छ। सूर्य साढे ४ अर्ब वर्ष पुरानो हो भने यो तारा करिब २ अर्ब वर्ष पुरानो हो। यो ताराको एउटा मात्र ग्रह सन् २००७ मा पत्ता लागेको छ। लालीगुराँस ग्रह सौर्यमण्डलको बृहस्पतिभन्दा करिब १.१६ गुणा ठूलो छ। यो ग्रहले आफ्नो ताराको एक फन्को लगाउन ३ सय ८४ दिन लगाउँछ। यो ग्रहमा जीवको सम्भावना छैन। यसको चन्द्रमा समेत भेटिएको छैन तर चन्द्रमा भेटिए त्यहाँ जीव हुन सक्ने सोसाइटीले जनाएको छ।

अन्तरिक्षीय पिण्डको नामकरण गर्ने युनियनले नेपाललगायत ११० मुलुकका बासिन्दालाई आफ्नो राष्ट्रिय भाषामा ग्रह र ताराको नाम रोज्ने मौका दिएको थियो। भारतको प्रस्तावअनुसार ताराको नाम ‘विभा’ र ग्रहको नाम ‘सन्तमास’राखिएको छ। जोर्डनको प्राचीन सहरका नाममा तारालाई ‘पेट्रा’ र ग्रहलाई ‘वाडिरम’ नामकरण गरिएको छ। यस्तै, मलेसियाको बहुमूल्य पत्थर ‘वाइदुरी’ ग्रहको नाम पनि बनेको छ, तारालाई ‘इन्टेन’ नामकरण गरिएको छ।

पेरिसमा मंगलबार साँझ इन्टरनेटबाट ‘लाइभ’ गरिएको पत्रकार सम्मेलनमा ‘आईएयू १०० नेम एक्स्पो वडर्स’ अभियानमा नाम राखिएका तारा र ग्रहका १ सय १० भन्दा बढी नामको समूह घोषणा गरिएको थियो। अभियानकै रूपमा भएको नाम छान्ने प्रक्रियामा विश्वभरका ७ लाख ८० हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष सहभागी भएका थिए। मंगलबारको नामकरण गरिनुअघि यी तारा र ग्रह ‘कोड’ जस्तै लाग्ने वैज्ञानिक नामले नै चिनिन्थे।

आईएयूले सयौं वार्षिकोत्सवका अवसरमा तारा र ग्रह नामकरण गर्ने भएपछि नेपाल एस्ट्रोनोमिकल सोसाइटीले पनि गत साउनमा नेपाली नाम प्रस्ताव गर्न आह्वान गरेको थियो। यसमा नाम सजिलै उच्चारण गर्न मिल्ने, धार्मिक शब्द तथा राजनीति वा सेनासँग सम्बन्धित शब्द नहुनुपर्ने, कुनै जीवित व्यक्तिका नाम नहुनुपर्ने लगायतका सर्त राखिएका थिए। ‘मंगलबारदेखि विश्वले एउटा तारालाई सगरमाथा र एउटा ग्रहलाई लालीगुराँस नामले नै चिन्छ,’ नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष भट्टराईले भने।
-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...