Wednesday 1st May 2024

३० लाखको उपहार पाउने आशमा २४ लाख ४० हजार गुम्यो


तितोपाटी-खोटाङ घर भई काठमाडौं बस्ने सीता राई (नाम परिवर्तन) लाई करिब एक वर्षअघि बेलायती नागरिकले सामाजिक सञ्जालमा भेटे । स्मिथ मोरिस नाम गरेका बेलायती नागरिकले खोटाङकी सीतासँग करिब एक वर्षसम्म साथी बनेर धेरै कुरा गरे । उनीहरुका बीचमा दैनिक जीवन देखि पारिवारिक र आर्थिक कुराहरु भए ।

फेसबुक, भाइबर, ह्वाटस् एप लगायतका सामाजिक सञ्जालमा स्मिथ र सीताबीच एक वर्षसम्म कुरा भएपछि स्मिथले सीताका लागि करिब ३० लाख रुपैयाँको गिफ्ट पठाउने कुरा गरे । आफूलाई बेलायतमा बस्दा बस्दा वाक्क लागिसकेको भन्दै आफू पनि केही समयमै नेपाल आउने भन्दै उनले सीताका लागि उपहार पठाएको पार्सलको फोटोसमेत पठाए । उपहार भारतको बाटो हुँदै नेपाल आउने कुरा बताए ।बेलायती साथीले ३० लाख रुपैयाँको उपहार पठाउने भएपछि सीता पनि मख्ख परिन् । स्मिथले पार्सल पठाइसकेको भन्दै भारतको भन्सारमा सामान पुगेको र त्यहाँबाट फोन आउनसक्ने कुरा सुनाए । सीताले साथीको कुरा पत्याइन् ।

स्मिथले उपहार पठाएको केही दिनमा सीतालाई भारतको भन्सारबाट फोन आयो । तपाइँको सामान भन्सारमा आइपुगेको भन्दै भन्सार छुटाउनका लागि आवश्यक रकम पठाउन आग्रह गरियो । सीताले भारतीय ‘भन्सार कार्यालय’बाट आएको फोन अनुसार भारतमा रकम पठाइन् । सीताले विभिन्न व्यक्तिलाई विभिन्न मितिमा गरी १७ लाख रुपैयाँ भारतीय मानिसहरुलाई पठाइन् । तर यति धेरै पैसा पठाउँदा पनि सीताको उपहार नेपाल आइपुगेन ।

बरु भारतीय नागरिक र बेलायती साथी स्मिथ मोरिसले फेरि सामान ल्याउन नेपाली नागरिक रमेश खड्कालाई ७ लाख ४० हजार रुपैयाँ बुझाउन भने । सीताले स्मिथले भने झैं त्यो रकम पनि बुझाइन् । तर पनि सामान भने नेपाल आउन सकेन । बरु बिस्तारै उनीहरु सबै सम्पर्कविहीन हुन थाले । त्यसपछि मात्रै सीतालाई आफू ठगिएको बारे थाहा भयो । तर पनि उनी पारिवारिक र सामाजिक कारणले प्रहरीमा उजुरी दिन गइनन् । प्रहरीले यो सबै घटनाक्रम थाहा पाएपछि सीतालाई सम्पर्क गर्यो । त्यसपछि बल्ल सीताले आफूलाई को को व्यक्तिले कसरी ठगी गरे भनेर सुनाइन् ।

ऋण खोजेर दिइन् २४ लाख रुपैयाँ

खोटाङ घर भएकी सीतासँग २४ लाख रुपैयाँ पनि थिएन । तर उनकी दिदी नेपाल बाहिर भएकाले तिनै दिदीसँग पटकपटक गरी सीताले २४ लाख ४० हजार रुपौयँ मागिन् । त्यही रकम सीताले विभिन्न व्यक्तिमार्फत् स्मिथ मोरिसका नाममा पठाइन् । तर ३० लाखको उपहार पाउने आशमा २४ लाख ४० हजार गुमाएकी सीताले न उपहार पाइन् न त आफ्नो रकम नै ।

अनलाइनमार्फत् ठगी गरेको आरोपमा प्रहरीले दोलखाका ५२ वर्षीय रमेश खड्का, नवलपरासीका ३७ वर्षीय विश्वेश्वर प्रसाद तिवारी र नवलपरासी रामग्रामका १९ वर्षीय सन्दिप कलवारलाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरिसकेपछि मात्रै नेपालमा अनलाइन ठगी र बैंक ह्याकिङका घटनामा संलग्न विदेशी नागरिकहरुबारे प्रहरीले जानकारी पाएको छ ।महानगरीय अपराध महाशाखाकाका एसएसपी सहकुल बहादुर थापाका अनुसार नाइजेरियन नागरिक पिटर हर्मन र बेलायती नागरिक स्मिथ मोरिसको डिजाइनमा नेपालमा अनलाइन ठगी तथा बैंक ह्याकिङको घटना भइरहेको छ ।

विदेशी ठगका ४० एजेण्ट नेपालमा

पिटर हर्मन र स्मिथ मोरिसले नेपालमा अनलाइनमार्फत् ठगी गर्न तथा बैंक ह्याकिङ गरी पैसा चोर्न ४० भन्दा बढी एजेण्टहरु खडा गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अपराध महाशाखाका एसएसपी थापाका अनुसार पिटर र स्मिथले नेपालमै विभिन्न व्यक्तिहरुलाई खडा गरी १५ देखि २० प्रतिशत कमिशन दिने गरी ४० जनाभन्दा बढी एजेण्ट खडा गरेका छन् । उनीहरुले विभिन्न व्यक्तिहरुलाई बैंकमा खाता खोल्न लगाउने र उक्त खाताको सञ्चालन भने आँफै गर्ने गरी रकम चोरी तथा ठगी गरिरहेको प्रहरीले जनाएको छ ।

१४ करोड ६७ लाख शंकास्पद कारोवार

प्रहरीले पक्राउ परेका व्यक्तिहरुको खाताबाट १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ कारोबार भएको पाएको छ । अपराध महाशाखाको अनुसार यो सबै रकम अनलाइनमार्फत् भएको ठगी र बैंक ह्याकिङ गरी प्राप्त रकम भएको प्रहरीको दाबी छ । यद्यपि यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । यी रकममध्ये सबै रकम भारतीय, बेलायती र नाइजेरियन ठगहरुको खातामा पठाइसकेको प्रहरीले बताएको छ ।

भारतीय एजेण्टको प्रयोग गरी बढी ठगी

उपहार आएको भन्दै फोन गर्ने विभिन्न व्यक्तिहरुले सीतासँग १७ लाख रुपैयाँ लगे । सीतालाई फोन गर्ने सबै व्यक्ति भारतीय नागरिक थिए । बाँकी ७ लाख ४० हजार रुपैयाँ मात्रै सीताले नेपाली एजेण्ट रमेश खड्कालाई पठाएकी थिइन् । त्यसपछि मात्रै गिरोहका ३ जना सदस्य पक्राउ परेका थिए ।

बैंक ह्याकिङमा पनि यो गिरोहको संलग्नता

महानगरीय अपराध महाशाखाको अनुसार बैंक केही समयअगाडि भएको कृषि बैंकको ह्याकिङमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ । केही समयअगाडि कृषि विकास बैंकको सर्लाही शाखाबाट भएको १ करोड रकम ह्याकिङ गरी चोरी गरेको प्रकरणमा पनि यी व्यक्तिहरु संलग्न रहेका प्रहरीको दाबी छ । यो गिरोह बैंक तथा रेमिट्यान्स ह्याकिङमा संलग्न रहेको र उनीहरुबाट बैंक ह्याकिङ हुनसक्ने खतरासमेत रहेको प्रहरीले जनाएको छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

फूल जस्तै हामी नानी हामीजस्तै फूल फूलबारीमा डुल्ने गर्छन् पुतलीका हुल... यी गीति हरफहरु गीतकार प्रकाश सुवेदीले रचना गरेका हुन्…

नसोधेर दिलमा, सजायौ तिमीले शान्त मन चञ्चल बनायौ तिमीले .... भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर…

नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी…

प्रतिकृयाहरू
...