Thursday 2nd May 2024

रोजगारीमा ज्यान गुमाउने महिला भन्दा पुरुषको संख्या बढी


तितोपाटी-चालू आर्थिक वर्षको पहिलो चौमासिकमा वैदेशिक रोजगारीमा रहेका २ सय ५१ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ८ महिला र २ सय ४३ पुरुष छन् ।

गत साउनमा २ महिलासहित ५८ पुरुष, भदौमा २ महिलासहित ५८ पुरुष, अशोजमा ४७ र कात्तिकमा ८० जनाले ज्यान गुमाएका वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ ।प्रथम चौमासिकमा बोर्डले प्रतिमृतक ७ लाख रुपैयाँका दरले २ सय ५१ मृतकका हकवालालाई करिब १७ करोड ५७ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ । बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका कामदारको मृत्यु भएमा निजको नजिकको हकवालालाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।बोर्डले प्रथम चौमासिकमा अंगभंग तथा बिरामी भएका १ सय १९ कामदारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । वैदेशिक रोजगार नियमावली, २०६४ ले करार अवधिभित्रै तथा करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले अंगभंग भएमा वा गम्भीर बिरामी भएमा बिरामीको प्रकृतिअनुसार अधिकतम ७ लाख रुपैयाँ सम्म आर्थिक सहायता उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ ।

सोही अवधिमा ८ कामदारका परिवारलाई औषधोपचार सहयोग उपलब्ध गराइएको बोर्डले जनाएको छ । कामदारको परिवारलाई सामान्य रोग लागेमा १५ हजार रुपैयाँ, सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा ३० हजार र गम्भीर प्रकारको रोग लागेमा ५० हजार रुपैयाँ सहायता दिँदै आएको छ ।पहिलो चौमासिकमा २ सय ५० मृतक कामदारको शव निःशुल्क ढुवानी गरिएको छ । सरकारले मृतक कामदारको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थायी घरठेगानासम्म निःशुल्क ढुवानी गर्दै आएको छ ।

सरकारले वैदेशिक रोजगार नियमावली, २०६४ संशोधन गरेर विदेशमा रहँदा वा स्वदेश फर्केको एक वर्षको अवधिभित्र श्रम स्वीकृति लिएका कामदारको मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । त्यसअघि श्रम स्वीकृतिको अवधिभित्र गन्तव्य मुलुकमा मृत्यु भएमात्र निजको परिवारलाई आर्थिक सहायता प्रदान गरिँदै आएको थियो ।

वैदेशिक रोजगारीमा रहेका कामदारले विविध कारणबाट अनाहकमै ज्यान गुमाउने गरेका छन् । मुख्य रूपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्यालगायत कारणबाट नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको छ ।

१० वर्षको अवधिमा कार्डियाक एरेष्टबाट १ हजार ३ सय ९, प्राकृतिक मृत्युबाट १ हजार ६ सय १७, हृदयाघातबाट ६ सय ३, कार्यस्थलमा दुर्घटनाबाट ६ सय ४४, आत्महत्याबाट ८ सय ९२ र सडक दुर्घटनाबाट १ हजार ३७ जनाको ज्यान गएको बोर्डले जनाएको छ । असुरक्षित वैदेशिक रोजगारीका कारण १० वर्षका अवधिमा ७ हजार ५ सय बढी नेपालीले ज्यान गुमाइसकेका छन् ।
-रातोपाटी


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...