Friday 3rd April 2026

बिदेशमा हुनेको दशैं – सामाजिक सञ्जाल हेरेर रमाउने


तितोपाटी- विगत सात वर्षदेखि साउदी अरबमा कार्यरत झापाका सुजन भारतीले दशैं, तिहार परिवारसँग मनाउन नपाएको पनि सात वर्ष नै भइसकेको छ ।

रोजगारीका लागि साउदी अरब गए यता दशैं, तिहारको समयमा कम्पनीले छुट्टी नदिँदा परिवारसँग बसेर चाडपर्व मनाउन नपाएको भारतीले गुनासो सुनाए ।
‘दैनिक फोन मार्फत परिवारसँग गफ हुन्छ। धेरै भएछ दशैं, तिहार रमाइलो गरी परिवारसँग नमनाएको । त्यहीभएर खासै याद आउँदैन।’, भारतीले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । उनले भनेका छन्, ‘हाम्रो ठुलो चाडपर्व दशैं, तिहारसँग त सम्बन्ध नै टुटे जस्तो लाग्छ।’

वैदेशिक रोजगारीका कारण ठूला चाडपर्व र आफ्नो संस्कृतिसँगै सम्बन्ध टुटेजस्तो भएको भारतीलाई लाग्छ । पछिल्लो एक दशक वैदेशिक रोजगारीमै बिताएकोले होला अहिले त ठूला पर्वको महत्व नहुने गरेको उनको भनाई छ।

मलेसिया रोजगारीका लागि ४ वर्षअघि पुगेका ताप्लेजुङका पदम पुरीलाई पनि यस्तै लाग्छ। ‘आजकल त दशैंतिहारको उत्ती वास्ता नै लाग्दैन’, उनी भन्छन, ‘नेपालमा भएका परिवारसँग दैनिक कुराकानी हुन्छ। कसरी दशैं, तिहार मनाइयो भनेर सोधिन्छ । कोको टीका लगाउन आए भनेर कुरा हुन्छ । त्यसपछि परिवारले चाडपर्व मनाएको तस्वीर सामाजिक सञ्जालमार्फत हेर्न पाइहालिन्छ।’ पुरीले पहिलेको जस्तो चाडपर्वको सम्झना नहुने गरेको जिकिर गरे। ‘पहिले दशैं, तिहारको खुबै याद आउथ्यो । तर, अहिले त खासै वास्ता लाग्दैन।’ अर्काको देशमा काम गर्न आएपछि दसैं, तिहारजस्ता पर्वको महत्व हराउँदै गएको उनको भनाई छ।

३ वर्षअघि विद्यार्थी भिसामा जापान गएका पाँचथरका सुमेश ओझाले परिवारसँग बसेर दशैं, तिहार मनाउन नपाएको सुनाए । ‘धेरै वर्षसम्म दशैं, तिहार परिवारसँगै बसेर मनाउन नपाएपछि त्यसको महत्व हराउँदै जाँदो रहेछ’, उनले भने, ‘विदेशिएपछि त परिवार र पर्व सबै टाढिँदै जाने रहेछन् ।’ यता, युएईमा ८ वर्षदेखि कार्यरत धरानका अमर लिम्बुले विदेशमा नेपाली चाडपर्व भन्दा कामको बढी महत्व हुने बताए। भने, ‘समय रह्यो र साथीभाइ जम्मा हुने मौका मिल्यो भने रमाइलो हुन्छ। नत्र चाडबाडको चाहेर पनि वास्ता हुँदैन।’

तर, विदेश गएका धेरै नेपाली भने दसैं, तिहार जस्ता चाडपर्वमा बिदा मिलाएर नेपाल आउँछन । चाडपर्वले विदेशीहरुका लागि महत्व नराख्ने हुँदा नेपालीहरुलाई बिदा मिलाउन भने गाह्रो हुनेगर्छ । कतिपय देशमा भने नेपाली समुदाय मिलेर उचित समयमा यस्ता चाडपर्व मनाउने गरेको पनि पाइन्छ । दूतावासमा र आफुभन्दा ठुलाको हातबाट काम सकेर टीका लगाउने गरेको उनको भनाई छ ।
परिवारसँग जोडिने माध्यम सामाजिक सञ्जाल

सामाजिक सञ्जालको बढ्दो प्रयोगले चाडपर्वको महत्व पनि बढ्दै गएको बताउँछन झापाका रमेश भण्डारी ।चाडपर्व मनाएको तस्वीर र भिडियो सामाजिक सञ्जालमार्फत आदान प्रदान हुँदा दुवैतर्फ खुसीयाली थपिने उनले बताए। त्यस बेला घरमै पुगे जस्तो हुने उनको भनाइ छ । विदेशमा रहेका अधिकांश नेपालीहरुले सामाजिक सञ्जालमार्फत नेपालमा आफन्त तथा परिवारले चाडपर्व मनाएको तस्वीर हेरेर सन्तुष्टि लिने गरेको पाइन्छ।

हाल, वैदेशिक रोजगारीमा करिब ४० लाखभन्दा बढी नेपाली कार्यरत छन् । जसमध्ये दशैं, तिहार मनाउन २ लाखभन्दा धेरै स्वदेश फर्किने गरेको अनुमान सरकारी अनुमान छ । हामीले दशैंका बारेमा सबैसँग सामाजिक सञ्जालमार्फत नै कुराकानी गरेका सन्दर्भ तयार पारेका हौं ।
यो लेख आजको खबर हबमा, रमेश भारतीले लेखेका छन्।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...