Friday 20th March 2026

“प्रधानमन्त्री ज्यू, मेरो स्कुटीको पछाडि बसेर बनस्थली जाउँ” – सांसद रंगमती शाही


तितोपाटी – नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अभिव्यक्ति दिएकाले कांग्रेस सांसद शाहीले यस्तो आग्रह गरेकी हुन् ।बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनिन्, ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म जाऊँ । मास्क लगाउन पर्छ कि पर्दैन हेरौं ।’ प्रधानमन्त्रीले मास्क लगाउन पर्दैन भनेर सार्वजनिक रुपमा दिएको अभिव्यक्तिको विरोधमा उनले यस्तो आग्रह गरेकी हुन् । मास्क लगाउनु नपर्ने प्रधानमन्त्रीको अभिव्यक्तिको सामाजिक सन्जालहरुमा पनि तीव्र विरोध भइरहेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सहभागि थिए । सांसद शाहीले ‘मन्त्री ज्यूमार्फत प्रधानमन्त्रीलाई भन्न चाहन्छु’ भन्दै आफू स्कुटीमा हिँड्ने गरेको र मास्क लगाउन पर्छ कि पर्दैन भनेर हेर्न आफ्नो स्कुटीको पछाडि बसेर यात्राका लागि प्रधानमन्त्रीलाई आह्वान गरेकी हुन् । ‘अनि त्यसपछि मात्रै तपाईंहरु कहाँ के भएको रहेछ भनेर बोल्नुहोला भन्ने सुझावका साथ बिदा हुन्छु ।’ शाहीले अन्तिममा भनेकी थिइन् । त्यसअघि सांसद शाहीले प्रधानमन्त्री ओलीले उद्घाटन गरेको विद्युतीय बस कहाँ थन्किएको छ ? भन्दै प्रश्न गरेकी छन् ।

गत कात्तिक ६ गते ललितपुरस्थित साझा यातायात प्रा.लि.को कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले विद्युतीय बस सेवाको उद्घाटन गरेका थिए । तर, ती बसहरु कहाँ छन ? भन्दै सांसद शाहीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई प्रश्न गरिन् । विद्युतीय बसका लागि ब्याट्री चार्जिङ स्टेशन निर्माणको सन्दर्भमा के भइरहेको छ भन्ने पनि उनको प्रश्न थियो ।

जवाफमा मन्त्री महासेठले प्रधानमन्त्रीले उद्घाटन गरेको विद्युतीय बस कहाँ छ ? भन्ने विषय आफ्नो मन्त्रालयको जानकारीमा नरहेको बताए । विद्युतीय बस सञ्चालन र विद्युतीय बसका लागि ब्याट्री चार्जिङ स्टेशन निर्माणको सन्दर्भमा मन्त्रालयले मापदण्ड तयार पारेको र उक्त मापदण्ड मन्त्रीपरिषदमा पेस हुने चरणमा रहेको मन्त्री महासेठको जवाफ छ ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...