Wednesday 11th March 2026

मोरङमा मस्जिदको सेफ्टीट्यांकीमा निसास्सियर ४ जनाको मृत्यु


तितोपाटी – मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियामा रहेको मस्जिदको सेफ्टी ट्यांकीमा निसासिएर शनिबार चार जनाको मृत्यु भएको छ। तीन घाइते छन्। मर्कज मस्जिदको सेफ्टी ट्यांकीको सेटिङ खोल्न गएका चार जनाको निसासिएर मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीका अनुसार मृत्यु हुने सुनवर्षी–९ का २० वर्षीय मोहम्मद फिरोज आलम, २५ वर्षीय सहनवाद आलम, २२ वर्षीय ओसिव आलम र ४५ वर्षीय कपिल आलम रहेका छन्। मृत्यु हुनेमध्ये सहनवाद र कपिल बाबु छोरा हुन्।

स्थानीय मुस्लिम अगुवा महताव आलमका अनुसार केही वर्ष पुरानो मस्जिदको सेफ्टी ट्यांकी निर्माणको काम भइरहेको थियो। एक महिनाअघि चारैतिर बन्द गरेर हावा पास हुन नसक्ने गरी ट्यांकीको ढलाई गरिएको थियो। ट्यांकीको सेटिङ खोल्न सबैभन्दा पहिला सहनवाद आलम छिरेका थिए। छिर्नसाथ उनी ढलेपछि बचाउन ओसिव गएको र उनी पनि ढलेपछि फिरोज छिरेको महतावले बताए। १२ फिट गहिरो ट्यांकी भित्र छिरेका तीनैजना बेहोस हुँदै ढलेपछि बचाउन भन्दै अन्तिममा कपिल छिरेका थिए।

महतावका अनुसार चारैजना बेहोस हुँदै ढलेपछि त्यहाँ जम्मा भएका स्थानीयले अरुलाई छिर्न दिएनन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार चारै जनालाई बेहोस अवस्थामा सेफ्टी ट्यांकी भित्रबाट उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल रंगेली पठाइएको थियो। अक्सिजनसहित पुगेको प्रहरी र रंगेलीको टाइम्स अस्पतालका चिकित्सक टोलीले उनीहरुलाई अचेत अवस्थामा सेफ्टी ट्यांकीबाट बाहिर निकालेको श्रेष्ठको भनाइ छ। अक्सिजनको प्रयोग गर्दै सेफ्टी ट्यांकी भित्रबाट उनीहरुलाई अचेत अवस्थामा बाहिर निकालिएको थियो।

रंगेली अस्पतालमा उपचार सम्भव नभएपछि चारै जनालाई थप उपचारका लागि गोल्डेन अस्पताल विराटनगर ल्याइएको थियो। उनीहरुको उपचारकै क्रममा साँझ मृत्यु भएको प्रहरीले बताएको छ। उनीहरुलाई बचाउने प्रयासमा रहेका अन्य तीनजना बेहोस भएका थिए। बेहोस भएका ४० वर्षीय दाउद मियाँ, ४८ वर्षीय हेमन्त मियाँ र ४० वर्षीय डोम्राहा मियाँ रंगेली अस्पतालमा उपचारपछि घर फर्किएका छन्।

प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु भएको बताएको छ। मृतकका आफन्त र स्थानीय बासिन्दाले उपचारमा ढिलाई गरेको भन्दै रंगेली अस्पताल परिसरमा केही बेर प्रदर्शन गरेका थिए।

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...