Saturday 19th April 2025

कोलम्बोमा श्रृंखलावद्ध विष्फोट, मर्नेको संख्या १६० नाघ्यो, शहरमा कर्फ्यु


तितोपाटी – श्रीलंकाको राजधानी कोलम्बोमा चर्च र होटलहरुमा आइतबार भएका आठ शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १६० पुगेको छ । यसमा दर्जनौँ विदेशी नागरिक पनि परेका छन् । भने सुरक्षा सतर्कता अपनाउँदै शहरमा कर्फ्यु लगाइएको छ ।

१० वर्षअघि गृहयुद्ध समाप्त भएपछिको सबैभन्दा ठूलो हिंसात्मक घटनाको भत्सर्ना गर्दै प्रधानमन्त्री रनिल विक्रमासिंघेले यसलाई कायरताको संज्ञा दिएका छन् । उनले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको पनि बताएका छन् ।

आइतबार बिहान लगातार ६ वटा शृङ्खलाबद्ध विस्फोट भएका थिए भने त्यसको दुई घण्टापछि थप दुई विस्फोट भएका थिए । यसले राजधानी कोलम्बोको चर्चित सेन्ट एन्थोनी श्राइनमा पनि क्षति पुगेको थियो ।

डेली मेलका अनुसार श्रीलंकामा भएको शृङ्खलाबद्ध हमलामा कम्तिमा ३५ जना विदेशी नागरिक मारिएका छन् । अस्पताल स्रोतका अनुसार मारिने विदेशी नागरिकमा बेलायती, डच, पोर्चुगिज र अमेरिकी नागरिक रहेका छन् । घटनामा जापानी नागरिक पनि घाइते भएको बताइएको छ ।

घटनापछि सेन्ट एन्थोनीमा पुगेका एएफपीका फोटोपत्रकारले भुइँमा यत्रतत्र छरिएको अवस्थामा देखेको जानकारी दिएका छन् । चर्चको छत नै बम विस्फोटमा क्षतिग्रस्त बनेको थियो भने भुइँमा जमेको रगतको तालमा छतको टाइल्स र काठका टुक्राहरु तैरिहरेका थिए । घाइतेहरुलाई तत्कालै निजिकैको अस्पतालमा लगिएको थियो ।

अहिलेसम्म विस्फोटबारे कसैले जिम्मा लिएको छैन र विस्फोटको प्रकृतिबारे कुनै जानकारी आएको छैन । तर, एएफीका अनुसार श्रीलंका प्रहरीका प्रमुख पुजुथ जयासुन्दराले आफ्ना शीर्ष अधिकारीहरुलाई १० दिन अघि ‘चर्चित चर्च’ हरुमा आत्मघाती बम आक्रमण हुनसक्ने चेतावनी दिएका थिए ।

‘एउटा विदेशी गुप्तचर एजेन्सीले एनटीजे (नेसनल थोउविथ जमाथ) ले चर्च तथा कोलोम्बोस्थित भारतको हाइकमिसनमा आक्रमण गर्ने योजना बनाइरहेका छन्,’ चेतावनी सन्देशमा भनिएको थियो । एनटीजे श्रीलंकको कट्टरपन्थी मुस्लिम समूह हो । गत वर्ष बुद्धका मुर्तीमा भएको तोडफोडमा यही समूहको हात रहेको थियो ।

रक्षा मन्त्रालयले आइतबार साँझ ६ बजेपछि कर्फ्यु आदेश जारी गरेको छ भने केही समयका लागि सामाजिक सञ्जाल प्रतिबन्धित गरिएको थियो ।

आइतबार पहिलो विस्फोट कोलम्बोको सेन्ट एन्थोनी चर्चमा भएको थियो भने दोस्रो विस्फोट त्यहाँबाट उत्तरमा रहेको नेगोम्बोस्थित सेन्ट सबास्टियन चर्चमा भएको थियो ।  लगत्तै प्रहरीले पूर्व तटमा रहेको बाटिकालोवास्थित अर्को चर्चका साथै कोलम्बोस्थित तीन लक्जरी होटलमा विस्फोट भएको जानकारी दिएको थियो । साँझ कोलोम्बोको दक्षिणमा रहेको अर्को होटलमा विस्फोट भएको थियो जसमा थप दुई जनाको ज्यान गएको थियो । त्यस्तै, अर्को विस्फोट कोलम्बोको उत्तरमा रहेको ओरुगोदावात्तामा भएको थियो । निशाना बनाइएका होटलहरु श्रीलंकामा पर्यटकहरुका लागि चर्चित मानिने होटलहरु रहेका छन् । जसमा प्रधानमन्त्री निवास नजिकै रहेको सिनामोन ग्रान्ड पनि रहेको छ ।

एक अधिकारीका अनुसार होटलको रेस्टुरेन्टमा विस्फोट भएको थियो । त्यस्तै, सांग्रिला होटलमा पनि विस्फोटबाट ठूलो क्षति भएको छ । कोलोम्बोमा रहेका राजदूतावासहरुले आफ्ना नागरिकहरुलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको थियो भने श्रीलंका एयरलाइन्सले यात्रुहरुलाई सुरक्षा जाँचका कारण चार घण्टाअघि विमानस्थल आउन आग्रह गरेको थियो ।

श्रीलंकामा बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको छ भने मात्र ६ प्रतिशत ईसाई धर्मावलम्बी रहेका छन् । गत जनवरीमा प्रहरीले जंगलबाट ठूलो मात्रामा विस्फोटक पदार्थसहित कट्टरपन्थी मुस्लिम समूहका चार जना सदस्यहरुलाई पक्राउ गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

जगदीप धनखडले भने- धारा १४२ लोकतान्त्रिक शक्तिहरू विरुद्ध आणविक क्षेप्यास्त्र बनेको छ, उपराष्ट्रपति जगदीप धनखडले बिहीबार न्यायपालिकामाथि प्रतिक्रिया दिए। उनले…

आत्मनिर्भर नेपाल बनाउन सबैमा एकता हुनुपर्छ युवाहरूलाई बिदेश पलायन हुन बाट रोक्नुपर्छ देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ युवाहरूको श्रम र…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक हार्वर्ड विश्वविद्यालयलाई निशाना बनाएका छन्। ट्रम्पले भनेका छन् कि हार्वर्ड विश्वविद्यालय अब पढ्नको…

प्रतिकृयाहरू
...